मन्त्री नफेरिनुको के हो कारण ?

पत्रपत्रिकाबाट

बुधबार, २४ भदौ २०७७, ०८ : ४३
मन्त्री नफेरिनुको के हो कारण ?

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने प्रक्रियासँगै मन्त्रिमण्डल पुनर्गठन हुने चर्चा थाती छ । गत शुक्रबार दिउँसोको क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी ओलीले नै मन्त्रिमण्डल पुनर्गठन तत्काल नहुने छनक दिनुभएको थियो । 

तर, पुनर्गठनमा के कारणले विलम्ब हुन पुग्यो होला ? स्रोतका अनुसार प्रधानमन्त्री र बालुवाटारले जे भनेपनि मन्त्रिमण्डल पुनर्गठन तत्काल नगर्न खुमलटार समूहले दबाब दिएको बुझिएको छ । नेकपा समस्या समाधानको लागि गठित सुझाव कार्यदलले दिएको प्रतिवेदनको अध्ययन र सो सम्बन्धमा आवश्यक निर्णयसमेत नभइसकेको अवस्थामा कुनै पनि राजनीतिक नियुक्ति नगर्न खबरदारी गरिएको हो ।

स्रोतले प्रधानमन्त्रीलाई स्थायी समितिको बैठक नसकिउन्जेल मन्त्रिमण्डल पुनर्गठन, राजनीतिक र संवैधानिक नियुक्ति नगर्न खुमलटारले यसअघि नै सम्झाइसकिएको बताएको छ । पर्सि बस्ने स्थायी समितिको बैठकले कार्यदलको प्रतिवेदनलाई आवश्यक परिमार्जन गर्न सक्छ । केही विषय थप पनि हुन सक्छ । त्यसैले स्थायी समितिले आवश्यक निर्णय नगरेसम्म मन्त्रिमण्डल पुनर्गठनलगायतका विषय स्वतः रोकिएको हो ।

उच्च स्रोतका अनुसार स्थायी समितिको बैठक सकेसम्म एकै दिनमा टुंग्याउने मनस्थितिमा नेतृत्व छ । त्यसपछि मात्र मन्त्रिमण्डल पुनर्गठन र अन्य नियुक्तिको बाटो खुल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस