विश्वकप छनोटमा आज चार खेल हुँदै, अफगानिस्तान र हङकङ हारे नेपाललाई फाइदा

मंगलबार, २२ फागुन २०७४, १२ : ४७
विश्वकप छनोटमा आज चार खेल हुँदै, अफगानिस्तान र हङकङ हारे नेपाललाई फाइदा

काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटमा आज चार खेल हुँदैछ । जिम्बावेमा फागुन २० गतेदेखि सुरु भएको विश्वकप छनोटअन्तर्गत समूह ए र बीको समान २–२ गरी चार खेल हुन लागेको हो ।

समूह बी को खेलमा आयोजक जिम्बावेले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेले पहिलो खेलमा नेपाललाई ११६ रनले पराजित गरेको थियो भने अफगानिस्तान स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको थियो ।

समूह बी को अर्को खेलमा हङकङले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा नै अफगानिस्तानलाई पराजित गरेको स्कटल्याण्ड आफ्नो दोस्रो खेलमा पनि हङकङमाथि जित निकाल्ने दाउमा छ । हङकङको भने यो पहिलो खेल हो ।
समूह ए अन्तर्गत आजै हुने खेलमा वेष्ट इन्डिजले युएईसँग प्रतिस्पर्धा गर्दैछ । युएईले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीलाई ५६ रनले पराजित गरेको थियो । यता, वेष्ट इन्डिजको भने यो पहिलो खेल हो ।

त्यस्तै, समूह ए को अर्को खेलमा आयरल्याण्डले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ । आयरल्याण्डले पहिलो खेलमा नेदरल्याण्डलाई ९३ रनले पराजित गरेको थियो भने पपुवा न्युगिनी युएईसँग पराजित भएको टिम हो ।

समूह बी का खेलमा अफगानिस्तान र हङकङ पराजित भए नेपाललाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने छ । नेपालले पहिलो खेलमा पराजय भोगेको छ भने अब अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग खेल्न बाँकी छ । समूहको शीर्ष ३ मा पर्ने टिम सुपर सिक्समा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस