गण्डकी प्रदेशका १४६ प्रहरीमा कोरोना, ६० निको भए

रासस

मंगलबार, २३ भदौ २०७७, २० : १५
गण्डकी प्रदेशका १४६ प्रहरीमा कोरोना, ६० निको भए

काठमाडौं । गण्डकी प्रदेशका आठ जिल्लाका एक सय ४६  प्रहरीमा कोरोना सङ्क्रमण देखिएकोमा ६० जना निको भएका छन् ।  प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता किरण राणाले एक सय ४६ मा कोरोना सङ्क्रमण देखिएकोमा ६० जना  कोरोना मुक्त भई नियमित काममा फर्केको र  ८६ जना हाल उपचाररत रहेको जानकारी दिनुभयो । सङ्क्रमण देखिएका तनहुँ, बागलुङ, नवलपरासी पूर्व, स्याङ्जा, कास्की, लमजुङ, म्याग्दी र मनाङका छन् ।  

क्वारेन्टिनमा र आइसोलेशनमा बसेकालाई आवश्यकतानुसार मनोपरामर्श गर्ने, स्वास्थ्यकर आहारविहारको व्यवस्था, शारीरिक व्यायाम, योगलगायतका अभ्यास गराउने गरिएको छ । आईसोलेशनको मापदण्ड बमोजिम सेवा सुविधा, पत्रपत्रिका र रेडियो टिभिको ब्यवस्था गरिएको छ । प्रहरीमा कोरोना जोखिम बढ्दै गएपछि विशेष सर्तकता अपनाईएको छ  “स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै ड्यूटी निर्वाह गर्ने र सङ्क्रमित भई हालेमा अन्य प्रहरीमा फैलन नदिन समूहगत विभाजन गरी ब्यारेकमा रहने, काममा परिचालन गर्ने र कार्यालयगत कामकाज  गर्ने ब्यवस्था मिलाएका छौ”, राणाले भन्नुभयो । सङ्क्रमणबाट प्रभावित प्रहरी कार्यालयमा कामकाजमा बाधा हुन नदिन गण, गुल्मबाट प्रहरी पठाइएको र फिर्तापश्चात कोभिड– १९ परीक्षण  गरिएको छ ।

अति आवश्यक घरायसी समस्याले घर गएका प्रहरी कार्यालयमा हाजिर हुन आउँदा क्वारेन्टिनमा राखी पिसिआर  परीक्षण पश्चात नेगेटिभ आए काममा लगाउने र पोजिटिभ देखिएमा आईसोलेशनमा राखिन्छ । कार्यालय परिसर, कोठा एवम् प्रहरी हिरासतलाई समय समयमा डिस्ईन्फेक्सन गरिएको र प्रहरीबाट तयार पारिएको कोभिड– १९ महामारी विरूद्धको कार्ययोजना बमोजिम काम गरिएको छ ।  चुनौतीहरुको रुपमा स्वास्थ्य परीक्षण विनानै प्रहरी सीमामा र अन्य काममा खटिनुपर्ने र जघन्य अपराधमा संलग्नलाई पक्राउ एवम् नियन्त्रणमा लिँदा निजको सम्पर्कमा आएकालाई सङक्रमण हुने सम्भावना बढी रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कोरोनाको जोखिममा उच्च सर्तकता अपनाएर शान्तिसुरक्षाका लागि प्रहरी खटिएको बताउनुभयो । उहाँले भन्नुभयो । “जिल्लामा नौ सय ५० हाराहारी प्रहरी छन्, ८० प्रहरी एकाइ छ,  जोखिम छ, सतर्कता अपनाएर कामका खटिएका छौ ।”