काठमाडौं । नेपाली काँग्रेसले बाढी, पहिरो डुबानबाट विस्थापित भएका घरपरिवारलाई सुरक्षित स्थानमा पुनःस्थापन गरी राहत विवरण र मृत्यु भएका घरपरिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेको छ ।
काँग्रेस संसदीय दलले आज एक विज्ञप्तिमार्फत बाढी, पहिरो र डुबानको क्षति न्यूनीकरणका लागि तत्काल उद्धार टोली परिचालन र प्रभावकारी संयन्त्रको निर्माण गर्न, साथै जोखिमयुक्त स्थानलाई पहिचान गरी त्यहाँका नागरिकलाई तत्काल अन्यत्र सुरक्षित स्थानमा व्यवस्थापन गर्न आग्रह गरेको छ ।
प्रमुख सचेतक बालकृष्ण खाँणले सो विषयमा काँग्रेसले संसद्मा आवाज उठाउँदै, विभिन्न समयमा प्रेस विज्ञप्तिमार्फत एवं मौखिमरुपमा समेत सरकारको बारम्बार ध्यानाकर्षण गराउँदै आए पनि सरकारले यस विषयलाई गम्भीररुपमा नलिएको आरोप लगाउनुभएको छ ।
यस वर्षको वर्षायाम शुरु भएदेखि देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका दुःखद् घटना घटिरहेका छन् । यस वर्षमा बाढी, पहिरो तथा डुबानमा परी करिब ३०० जना व्यक्तिले ज्यान गुमाइसकेका छन् भने २०० जनाभन्दा बढी घाइते भएका छन् । त्यसैगरी कैयौँ व्यक्ति हालसम्म बेपत्ताको स्थितिमा छन् ।
केही दिनअघि मात्र बागलुङ र कालिकोटमा ठूलो मानवीय क्षति हुने गरी बाढी र पहिराका घटना घटेका छन् । बागलुङको ढोरपाटनमा बुधबार राति गएको बाढीमा परी करिब १५ जनाले ज्यान गुमाएका छन् भने चार जना घाइते र २३ जना बेपत्ता तथा करिब ३१ घरपरिवार प्रभावित भएका छन् । यसैगरी पहिरामा परी कालिकोटको तिलागुफामा १० जनाले ज्यान गुमाउनुका साथै दुई जना घाइते र नरहरीनाथमा एक जनाको मृत्यु भएको थियो ।
काँग्रेसले बागलुङको बाढीमा परी बेपत्ता भएका व्यक्तिको तत्काल खोजी गरी उद्धार गर्न, घाइतेको स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन साथै कालिकोटलगायत हालसम्म अन्य स्थानका बाढी, पहिरो डुबानबाट विस्थापित भएका घरपरिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरी राहत विवरण र मृत्यु भएका घरपरिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।
साथै बाढी, पहिरो र डुबानमा परी घाइते हुनुभएका व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण जीवन गुमाउनु भएकाप्रति काँग्रेस संसदीय दलले श्रद्धाञ्जलि अर्पण गर्दै मृतक परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १९ भदौ २०७७, २१ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने