काठमाडौ । कोरोना सङक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको चार दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी सङ्क्रमित परिवारका अन्य ६ जना निकै विचलित भएका छन् ।
यही भदौ १३ गते सङ्क्रमित आमाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको र सोही अस्पतालमै भेन्टिलेटरमा उपचारका क्रममा सङ्क्रमित छोराको गए राति मृत्यु भएको हो । छोराबाट आमामा सङ्क्रमण भएको आशङ्का गरिएको छ ।
श्वासप्रश्वासमा समस्या आएको आमाको परीक्षणमा कोरोना पुष्टि भएपछि परिवारका अन्य सदस्यको पनि पिसिआर परीक्षण गर्दा परिवारका सबैमा सङ्क्रमण भएको पाइएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
भदौ १ गते आमालाई पाटन अस्पताल भर्ना गरिएको र श्वासप्रश्वासमा समस्या आएपछि ३ गते छोरालाई पनि पाटन अस्पताल नै लगिएकामा आमाको उपचारका क्रममा १३ गते र छोराको उपचारका क्रममा १६ गते राति मृत्यु भएको उहाँले जानकारी दिनुभयो । आमालाई दमको रोग र छोराले उच्च रक्तचापको औषधि सेवन गरिरहेका परिवार स्रोतले जानकारी दिएको छ ।
मृतकका करीब ७० वर्षीय बाबु, गर्भवती श्रीमती, एक बहिनी, एक छोरा, एक छोरी र घरका अन्य एक सदस्यलाई पनि सङ्क्रमण पुष्टि भएपछि सबै होम आइसोलेसन मै बसेका छन् ।
नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “आज स्वास्थ्य टोली लिएर म घर मै गए, मृतकका वृद्ध बुबा र गर्भवती श्रीमतीको स्वास्थ्यमा ध्यान दिनु जरुरी छ, हामीले सान्त्वना दिएर आएका छौँ, बिहीबार केही महिनालाई पुग्ने खाद्यान्न राहत दिन्छौँ र विचलित त्यो परिवारको अवस्था निकै हृदयविदारक छ ।”
सङ्क्रमित परिवारको घर आसपास क्षेत्रमा भाइरस डिसइन्फेक्सन गरेको, परिवारलाई स्यानिटाइजर पठाएको बताउँदै त्यो परिवारलाई मनोपरामर्श र अन्य सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।
भक्तपुर जिल्लामा एकै परिवारका दुई जनाको ज्यान गएको यो पहिलो घटना हो भने अहिलेसम्म सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १७ भदौ २०७७, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै