अन्तिम अवस्थामा बिरामी रेफर गर्दा तीन जना संक्रमितको मृत्यु : भरतपुर अस्पताल

सफल खबर संवाददाता

मंगलबार, १६ भदौ २०७७, १६ : २६
अन्तिम अवस्थामा बिरामी रेफर गर्दा तीन जना संक्रमितको मृत्यु : भरतपुर अस्पताल

चितवन । चितवनको भरतपुर अस्पतालमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न निजी अस्पतालबाट रेफर भएर गएका संक्रमित बिरामीको भरतपुर अस्पतालमा मृत्यु भएको हो । 

भरतपुर अस्पतालका अनुसार जिल्लाका निजी अस्पतालहरुले सघन उपचार कक्षको अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका थिए । मृत्युपछि तीन जनाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । 

खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिला, भरतपुर–११ का ६५ वर्षीय पुरुष र भरतपुर–११ कै अर्का एक १८ वर्षकी युवतीको कोरोना संक्रमणबाट भरतपुर अस्पतालमा निधन भएको हो । भरतपुर अस्पतालले अन्तिम अवस्थामा निजी अस्पतालबाट बिरामी रेफर भएको र उपचार गर्दागर्दै मृत्यु भएको जनाएको छ । 

भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीले तीन जना बिरामी भरतपुर अस्पतालको आकस्मिक कक्षसम्म आइपुग्दा श्वासप्रश्वासमा धेरै कठिन र रगतमा अक्सिजनको मात्रा न्यून रहेको जानकारी दिए । निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीले भरतपुर अस्पतालको तर्फबाट विज्ञप्ति जारी गरी तीन जनालाई आइसियू भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने अवस्था रहेको जनाए ।

उनले भने, ‘भरतपुर अस्पतालमा भेन्टिलेटर खाली नभएको र अन्यत्र समन्वय गर्दा कतै पनि भेन्टिलेटर खाली नभएपछि अस्पतालको सीमित साधन र स्रोतबाट हदैसम्मको उपचार गदागर्दै संक्रमितको मृत्यु भएको हो ।’ उनका अनुसार मृत्यु भएका तीनै जनामा कडा खालको निमोनिया देखिएको थियो, राति कोरोना परीक्षण पोजेटिभ आएको हो । 

भरतपुर अस्पतालले विज्ञप्ति जारी गरी निजी अस्पतालहरुलाई प्रभावकारी समन्वय गरी बिरामीलाई रेफर गर्न अनुरोध गरेको छ । निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी गरिएको विज्ञप्तिमा एउटा अस्पतालमा गम्भीर बिरामीको उपचार भइँरहँदा समन्वय नगरी अर्को अस्पतालमा रेफर गर्दा समयमै उपचार नपाउनुको साथै बिरामीको ज्यानसमेत जान सक्ने भएकाले प्रभावकारी समन्वय गरी बिरामीको रेफर गर्न भनिएको छ । 

भरतपुर अस्पतालले २० वटा सघन उपचार कक्ष सबै बिरामीले भरिएको जनाएको छ । चिकित्सक संघ चितवनका पूर्वअध्यक्ष प्रा डा कृष्ण पौडेल अस्पतालहरुले भर्ना नलिँदा बिरामीले समयमै उपचार नपाएको स्वीकार गरेका छन् ।जिल्ला प्रशासन कार्यालय चितवनले बिरामीले उपचार नपाउने गुनासो बढेपछि सोमबार सूचना जारी बिरामी आकस्मिक कक्षमा भर्ना गरेर उपचार  प्रक्रिया शुरु गरेर मात्र अन्यत्र पठाउनुपर्ने भएमा सम्बन्धित अस्पतालले नै समन्वय गर्नुपर्ने जनाएको छ । 

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले जिल्लामा ५० शय्यामाथिका १९ वटा अस्पताल छन् । दुई ठूला मेडिकल कलेजसहित सबै अस्पतालमा १७६ सघन उपचार कक्ष र ५० भेन्टिलेटर शय्या छन् । आइसोलेसन शय्या सङ्ख्या झण्डै ३०० रहेका छन्  । समग्र जिल्लामा ५०० चिकित्सक, एक हजार ५०० नर्स, करिब ४०० पारामेडिक्स र ल्याबमा काम गर्ने जनशक्ति ३५० छन् । 
 

प्रतिक्रिया दिनुहोस