उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

पत्रपत्रिकाबाट

मंगलबार, १६ भदौ २०७७, ०७ : ०९
उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

काठमाडौं । बुटवलका ६७ वर्षीय एक पुरुषलाई ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आइतबार बिहानै लुम्बिनी प्रादेशिक अस्पताल लगियो ।

मुटुरोग र उच्च रक्तचापको समेत समस्या रहेका कोरोना संक्रमित उनलाई तत्कालै आइसियूमा राखेर उपचार गर्नुपर्ने थियो । तर विडम्बना, बुटवलको कोभिड अस्पतालमा आइसियु थिएन । भैरहवाको भीम अस्पतालमा आइसियू तथा भेन्टिलेटर उपकरण त थिए तर सेवा थिएन ।

चिकित्सकले बाध्य भएर संक्रमितलाई चितवन रेफर गरे। परिवारले बिहानभरि एम्बुलेन्स खोजे, पाएनन् । केही सीप नलागेपछि प्रादेशिक अस्पतालकै फिबर क्लिनिकमा उनको उपचार थालियो । उपचारकै क्रममा दिउँसो उनको मृत्यु भयो । ‘समयमै भेन्टिलेटरमा राख्न पाएको भए बचाउन सकिन्थ्यो कि’, प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा. सुदर्शन थापाले भने ।

गत साताको सोमबार गैडहवाका एक संक्रमित पुरुषको भीम अस्पतालमा मृत्यु भयो । घरको छतबाट खसेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि भैरहवा मेडिकल कलेजले भीममा रेफर गरेको थियो । उनको अवस्था गम्भीर थियो तर आइसियू नहुँदा आइसोलेसन वार्डमै राखियो । सोही राति उनको मृत्यु भयो ।  

आइसियु र भेन्टिलेटर सुविधा नहुँदा गम्भीर अवस्थाका संक्रमितको उपचार प्रभावकारी हुन नसकेको भीम अस्पतालका कोरोना फोकल पर्सन डा. सुमित प्रजापतिले बताए । त्यसो त भीम पनि प्रदेशका सुविधासम्पन्न भनिएका आइसोलेसन अस्पतालमध्येकै एक हो । तर त्यहाँ भएका भेन्टिलेटर उपकरण त्यत्तिकै थन्किएका छन्।  नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस