कोरोनाबाट चितवनका पुराना बामपन्थी नेताको निधन

सामाजिक अभियन्ता गुमायौँ : नेकपा

सफल खबर संवाददाता

सोमबार, १५ भदौ २०७७, १४ : ४०
कोरोनाबाट चितवनका पुराना बामपन्थी नेताको निधन

चितवन । कोरोना भाइरसको संक्रमणबाट चितवनका पुराना बामपन्थी नेताको निधन भएको छ । कोरोना भाइरसको संक्रमणबाट भरतपुर महानगरपालिका वडा नं ६ निवासी शोभाखर चापागाईंको निधन भएको हो । 

उनको भरतपुर अस्पतालमा उपचारको क्रममा ७८ वर्षका उमेरमा निधन भएको हो । उनको निधनप्रति नेकपाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोख्रेलद्वारा जारी गरिएको विज्ञप्तिमा चापागाईंको निधनले सिंगो पार्टी स्तब्ध र मर्माहत बनेको उल्लेख गरिएको छ । 

नेता चाचापागाईं २०३४ सालमा तत्कालीन कोअर्डिनेसन केन्द्र जिल्ला संगठन कमिटी चितवनको संस्थापकमध्ये एक हुन् । २०३५ सालमा कोअर्डिनेशन केन्द्र तत्कालीन नेकपा मालेमा रुपान्तरण गरीे चितवन जिल्ला संगठन कमिटी गठन हुँदासमेत उनी सदस्य थिए ।  

चितवनको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका चापागाईं चितवनको दुग्ध उत्पादनमा अग्रणी संस्था अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको संस्थापकसमेत थिए ।

विभिन्न शैक्षिक संस्था, सहकारी क्षेत्र र सामाजिक क्षेत्रमा समेत सक्रिय चापागाईंले गाईपालक श्रमजीवी किसानको रुपमा समेत आफ्नो परिचय बनाएका थिए । उनको निधनले पार्टीले एउटा कुशल अभिभावक र समाजले असल सामाजिक अभियन्ता गुमाएको नेकपा चितवनले जनाएको छ । 

नेकपा चितवनले दुःखको यस घडीमा शोभाखरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस