भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमित बिरामीको उपचार सुरु

प्रकाश सिग्देल

विहीबार, ११ भदौ २०७७, १४ : ३०
भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमित बिरामीको उपचार सुरु

– प्रकाश सिग्देल
चितवन । भरतपुर महानगरपालिकाले वडा नम्बर १ मा  रहेको योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमित बिरामीको उपचार सुरु गरेको छ । 

श्री वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमअन्तर्गत बागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयलाई कोरोना उपचार केन्द्र बनाइएको हो । 

अस्पताललाई भरतपुर महानगरको आर्थिक सहयोगमा तत्काल ७५ जनाको उपचार गर्न सकिने क्षमतामा पूर्वाधार विकास गरी कोरोना पोजिटिभ देखिएका र सामान्य लक्षण भएका बिरामी राखेर उपचार सुरु भएको प्राकृतिक चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाले बताए । त्यसका लागि आफूहरुले अहिले ७५ जना बस्न मिल्ने गरी ६ वटा ब्लक उपलब्ध गराएको कोइरालाको भनाई छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालको बिशेष जोड र पहलमा तत्कालका लागि ७५ शैया र पछि २ सय शैयामा बिस्तार गर्ने गरी यहाँ अस्पताल सञ्चालन भएको हो । प्राकृतिक चिकित्सालयसंग सहकार्य गरी यहाँ तत्कालका लागि ७५ जना र पछि थप बिस्तार गर्न सक्ने गरी अस्पताल सञ्चालन गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।  

भरतपुर महानगरले पूर्वाधार विकासका लागि आवश्यकता अनुसारको अनुदान सहयोग गर्ने, उपचारमा रहेका संक्रमितहरुको खाना बापतको शुल्क नेपाल सरकारले तोके अनुसारको रकम चिकित्सालयलाई महानगरले भुक्तानी गर्ने र त्यहाँ योगा, ध्यान, उपचारदेखि आन्तरिक ब्यवस्थापन सबै चिकित्सालयले गर्ने गरी काम भएको दाहालको भनाई छ । 

वागीश्वरीमा निकै शान्त वातावरण भएकाले र प्राकृतिक तवरबाट उपचार हुने हुँदा बिरामीको आत्मबल विकास गरी चाँडो निको हुन सहजता प्रदान गर्ने भएकाले यो ठाउँ प्रभावकारी मानिएको महानगर प्रमुख दाहालले बताइन् । 

अस्पतालका निर्देशक डाक्टर हेमराज कोइरालाका अनुसार प्राकृतिक खानासँगै नियमित व्यायाम गराइने छ । बिरामीलाई बिहान चार किसिमका फलफूलबाट दिनको शुरुवात गरी साँझ दूध र बेसारसँगै खानाको अध्याय सकिने छ । 

फापरको रोटी, उमारेको गेडागुडी, अत्याधिक झोलिलो खाना, जेठीमधु, गुर्जो, मरिच, सुठो, पिप्ला, तुलसीको पानी, दाल, भात, तरकारीजस्ता पौष्टिक तत्व प्रशस्त हुने खाना खुवाइन्छ ।

चितवनमा कोरोना संक्रमणको दर बढेसंगै महानगर प्रमुख दाहालले बागेश्वरीमा रहेको अस्पताललाई कोरोना संक्रमितको उपचार गर्ने अस्पतालका रुपमा विकास गर्ने चाहना धेरै अघिदेखि प्रकट गरेकी थिइन् । 

भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले कोरोना नियन्त्रणमा महानगरका सबै जनप्रतिनिधि सक्रियताका साथ लागि परेको बताइन् । यसअघि क्वारेन्टाईन बनाइएका विद्यालयहरु खाली गर्नु पर्ने भएको र त्यहाँबाट क्वारेन्टाईन हटाएपछि राम्रो ब्यवस्थित क्वारेन्टाईन बनाएर बिरामीलाई राख्नु पर्ने भएकाले बागेश्वरीको चिकित्सालय उपयुक्त भएकाले यसैमा बिरामीको उपचार गर्ने गरी महानगरले सबै प्रयास गरेको बताइन् । सबै जनाले हातेमालो गरी काम गरेमा कोरोना नियन्त्रण गर्न सकिने ठकुरीको भनाई छ । 

यहाँ पूर्वाधार समेत रहेको र प्राकृतिक तवरबाट योगा, ध्यान, ब्यायाम समेत गराएर उपचार गरिने हुँदा संक्रमितको रोग निको बनाउन थप सहयोग पुग्ने जनप्रतिनिधिहरुको धारणा छ । महानगरले प्रवक्ता अरुणपीडित भण्डारीको संयोजकत्वमा वडाध्यक्ष, कर्मचारी, चिकित्सक रहेको आइसोलेसन व्यवस्थापन समिति गठन गरेको  छ । 

को को छन् समितिमा ?

समितिमा वडा नम्बर २१ का अध्यक्ष चित्रसेन अधिकारी, वडा नम्बर १ का अध्यक्ष जयराम श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष चन्द्रमित्र पण्डित, वडा नम्बर ५ का अध्यक्ष पदमपाणी सुबेदी, वडा नम्बर ८ का अध्यक्ष दामोदर न्यौपाने, वडा नम्बर २३ का अध्यक्ष नरिनारायण पौडेल, वडा नम्बर २५ का अध्यक्ष बिजय भुजेल, चिकित्सालयका प्रबन्ध निर्देशक डा. हेमराज कोइराला र सदस्य सचिवमा भरतपुर महानगरपालिकाका बिपद शाखाका अधिकृत जीवलाल कुँवर रहेका छन् । 

समितिको संरक्षक महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा बिहीबार बसेको बैठकले कोरोना महामारीबाट नगरवासीलाई जोगाउन र संक्रमितको पहिचान, आइसोलेसनको रेखदेख र ब्यवस्थापनका साथै कन्ट्रयाक्ट ट्रेसिङ् र पिसिआर परीक्षणको ब्यवस्थाका साथै संक्रमितहरुलाई आइसोलेसनसम्म ल्याउनका लागि सदस्यहरुलाई वडागत जिम्मेवारी बाँडफाँट समेत भएको छ । 

कस्को जिम्मामा कुन वडा ?

१ नम्बर वडा र २९ नम्बर वडा जयराम श्रेष्ठ , २ र ११ पूर्णबहादुर श्रेष्ठ, ३ र ४ चन्द्रमित्र पण्डित, ५, १४ र १५ पदमपाणी सुबेदी, ६, ८, ९ र १३ दामोदर न्यौपाने, २१, १७, १८, १९ र २० चित्रसेन अधिकारी, २३, २२ र २४ नरिनारायण पौडेल, २५, २६, २७ र २८ बिजय भुजेल, १०, १२ र ७ अरुण पीडित भण्डारीलाई जिम्मा दिइएको छ । 

संरक्षकमा महानगर प्रमुख रेनु दाहाल, सदस्यमा सांसदहरु घनश्याम दाहाल, बिजय सुबेदी, मिलनबाबु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी, प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ, कमलबहादुर मल्ल रहेका छन् । सल्लाहकारमा जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लकोटी र महानगर उपप्रमुख पार्वती शाह ठकुरी रहेका छन् । 

यस्तो छ तथ्यांक

चितवनमा हालसम्म ४ सय ५० जनाभन्दा बढी संक्रमित पुगेका छन् । संक्रमितहरु अहिले होम आइसोलेसन र जिल्लाका  अस्पतालमा रहेका छन् । भरतपुर महानगरमा ३ सय ७ जना संक्रमित रहेका छन् । पछिल्लो १५ दिनमा मात्रै २२४ जना संक्रमित भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताए । महानगरमा ७१ घर आईसोलेसनका रुपमा प्रयोग भएका छन् ।

प्रतिक्रिया दिनुहोस