पोल भाडा नघटाए इन्टरनेट मूल्य बढाउने चेतावनी

पत्रपत्रिकाबाट

विहीबार, ११ भदौ २०७७, ०७ : ५९
पोल भाडा नघटाए इन्टरनेट मूल्य बढाउने चेतावनी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पछिल्लोपटक तय गरेको आफ्नो विद्युत् पोल र ओपीजीडब्ल्यू केबल भाडा पुरानो दरभन्दा २ सय प्रतिशत बढी भएको भन्दै इन्टरनेट सेवा प्रदायकले मूल्य बढाउने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) को बैठकले बुधबार प्राधिकरणले तय गरेको भाडादर महँगो भएको भन्दै स्वीकार्य नहुने निर्णय गरेको अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

प्राधिकरणले गत वर्ष विद्युत् पोल र ओपीजीडब्ल्यु केबलको भाडादर ४ सय प्रतिशतसम्म बढाउने निर्णय गरेको थियो । प्राधिकरणको निर्णयविरुद्ध इन्टरनेट सेवा प्रदायकले विरोध जनाउँदै भाडा नतिर्ने अडान लिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्यालको संयोजकत्वमा गत वर्ष अध्ययन समिति गठन भएको थियो । समितिले दिएको प्रतिवेदनलाई गत साता बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पारित गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

प्रतिवेदनले प्राधिकरणले गत वर्ष तय गरेको भाडादर करिब आधा घटाउन सिफारिस गरेको थियो । ‘प्राधिकरणले गत वर्ष भाडा ४ सय प्रतिशत बढाउने निर्णय गर्दा पनि हामीले भाडा नतिर्ने अडान लिएर हालसम्म पुरानै भाडादर तय गरेका थियौं,’ भट्टले भने, ‘अहिले समितिको सिफारिसका आधारमा तय गरिएको भाडा दर पुरानो भाडा दरभन्दा २ सय प्रतिशत महँगो छ ।’

यो भाडादर कार्यान्वयन भए इन्टरनेटको मूल्य बढाउनुको विकल्प नभएको उनले बताए । ‘आइस्पानको बैठकले पहिला नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘यही भाडादर कायम हुने हो भने मूल्य बढ्छ ।’ कोभिड–१९ का कारण इन्टरनेट ब्यान्डविथको खपत बढेको र सेवा प्रदायकको लागत बढेको बेला भाडा वृद्धि गर्नु जायज नहुने भट्टको तर्क छ । ‘हामीले १५–२० प्रतिशत मात्रै बढाउन अनुरोध गर्दै आएका थियौं,’ उनले भने, ‘एक्कासि २ सय प्रतिशत बढ्दा खर्चले धान्दैन ।’  कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस