परीक्षण टुंगो नलाग्दै कोरोना विरुद्धको खोप किन्‍ने होड

पत्रपत्रिकाबाट

विहीबार, ११ भदौ २०७७, ०७ : २७
परीक्षण टुंगो नलाग्दै कोरोना विरुद्धको खोप किन्‍ने होड

लन्डन । विश्वभरका वैज्ञानिकहरू यतिखेर कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप विकासमा जुटिरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हाल १ सय ७० भन्दा बढी वैज्ञानिकहरूको समूह खोप विकासमा जुटेको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालय सहित ७ समूह अहिले तेस्रो चरणको परीक्षणमा व्यस्त छन् । तेस्रो चरणमा हजारौं जनालाई खोप दिएर यसको प्रभावकारिता, साइड इफेक्टस् अनि मानवमा सुरक्षित भए नभएको जाँचिन्छ ।

सामान्यतः कुनै पनि खोप विकास गर्न वैज्ञानिकलाई वर्षौं लाग्ने भए पनि कोभिड–१९ को खोप एकदेखि डेढ वर्षभित्रै विकास गर्न विश्वका वैज्ञानिक क्रियाशील छन् । अनुसन्धान जारी रहँदा विश्वका कतिपय मुलुकले भने अहिले नै खोप खरिदको सम्झौता गरिसकेका छन् । 

बेलायत सरकारले सम्भाव्य खोपका ३४ करोड डोज लिने सम्झौता गरिसकेको छ । बेलायतले हालसम्म अक्सफोर्ड विश्वविद्यालयले अस्ट्राजेनेकासँग मिलेर विकास गरिरहेको खोप १० करोड, फर्मास्युटिकल जाइन्ट ‘बायोएनटेक’ र फाइजर तथा भल्नेभासँग ९ करोड डोज, जोन्सन एन्ड जोन्सनको स्वामित्व रहेको बेल्जियन फर्मास्युटिकल कम्पनी जेनसिन र अमेरिकी बायोटेक कम्पनी नोभाभ्याक्सको ९ करोड डोज र जीएसके र सानोफी पास्चर्सले परीक्षण गरिरहेका ६ करोड डोज लिन सम्झौता गरिसकेको छ । यसले बेलायतवासी प्रत्येकलाई ५ डोजका दरले खोप पुग्ने सरकारको विश्वास छ । सामान्यतः मानिसलाई दुई खोप भए पुग्ने जनस्वास्थ्यविद्हरू बताउँछन् ।

बेलायती व्यापारमन्त्री आलोक शर्माले सरकारको रणनीतिको खास उद्देश्य सम्भावित खोपहरूमध्ये कुनै एकले काम गर्छ भन्ने निश्चिन्त हुनु रहेको बताए । यो सम्झौताले बेलायती जनतामात्र लाभान्वित नभई विश्वभर नै निष्पक्ष र उचित पहुँचले लाखौं जनताको जीवन रक्षा गर्ने शर्माले जनाएका छन् ।

अमेरिकाले मोडर्नासँग गत मंगलबार १ करोड खोपका लागि सम्झौता गरिसकेको राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ छ । अमेरिकाले जोन्सन एन्ड जोन्सनसँग पनि करिब १ अर्ब डलरमा १ करोड खोप लिने सम्झौता गरेको छ । अमेरिकाले थप २ करोड अतिरिक्त खोप लिन सक्ने सम्झौतामा उल्लेख छ । ट्रम्प प्रशासनले औषधि उत्पादक सानोफी र ग्लाक्सो स्मिथ क्लाइन ९जीएसके० लाई २.१ बिलियन डलरमा १ करोड, फाइजर र बायोएनटेकसँग पनि १.९५ बिलियन डलरमा १ करोड खोपका लागि सम्झौता गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।