गम्भीर बिरामी थपिएका थपियै

पत्रपत्रिकाबाट

बुधबार, १० भदौ २०७७, ०८ : ३२
गम्भीर बिरामी थपिएका थपियै

काठमाडौँ । ठाउँ–ठाउँमा निषेधाज्ञा र लकडाउन गरिए पनि कोरोनाका गम्भीर बिरामी थपिने क्रम रोकिएको छैन । करिब तीन सातामा आईसीयूमा जाने बिरामीको संख्या तीन गुनाभन्दा धेरै भएको छ । गम्भीर संक्रमित भेटिने क्रम बढेकाले मृत्यु दर अझै बढ्न सक्ने विज्ञहरूले बताएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार गत साउन १९ मा १ जना भेन्टिलेटरमा सहित ३६ संक्रमित आईसीयूमा थिए भने मंगलबार १३ जना भेन्टिलेटरमा सहित १ सय ६३ जना आईसीयूमा उपचाररत छन् । १६ साउनमा १ जना भेन्टिलेटरसहित आईसीयूमा २४ जना थिए । ‘आईसीयूमा थपिँदो संख्याले मुलुकमा संक्रमण निरन्तर बढिरहेको संकेत गरेको छ’, फिजिसियन एवं मुटुरोग विशेषज्ञ डा।ओममूर्ति अनिलले भने, ‘आईसीयूमा ४ सय जनाभन्दा बढी उपचाररत रहँदा मुलुकको स्वास्थ्य प्रणाली नै असफल हुनेतिर जाने सम्भावना रहन्छ ।’

विशेषज्ञका अनुसार लक्षणविहीन र अलिअलि लक्षण भएका कोरोना संक्रमित अस्पतालमा नगई घरमै बसे पनि ती व्यक्तिको स्वास्थ्यमा खासै फरक पर्दैन तर गम्भीर बिरामी अस्पतालमा भर्ना हुनै पर्छ । ‘कोरोनाका मध्यमदेखि गम्भीर हुँदै खतरनाक केसहरू अस्पताल पुग्ने गरेका छन्,’ डा। ओममूर्तिले भने, ‘त्यसैले आईसीयूमा बिरामी बढ्नु समाजमा कोभिडको संक्रमण बढी रहेको संकेत हो । माइल्ड (मधुरो) संक्रमण भएकाहरू उपचार वा परीक्षण गराउन खासै जाँदैनन् ।’

निषेधाज्ञा भएका बेला परीक्षण गराउन जानेहरूको संख्यामा कमी भएर संक्रमण घटेको जस्तो ९फल्स लो० हुने सम्भावना हुन्छ । ‘विषम परिस्थितिमा संक्रमणमा कमी देखिनु सुपरफिसियल (सतही) हुन सक्छ । त्यसैले सम्वद्घ निकायले विशेष ध्यान दिनुपर्छ,’ डा. ओममूर्तिले भने ।

स्वास्थ्य मन्त्रालयका इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले आईसीयू र भेन्टिलेटर चाहिने कोरोना संक्रमित बढ्नुले संक्रमणको विस्तार भइरहेकै बुझाउने बताए । ‘अस्पताललाइ थप व्यवस्थित गर्नुपर्छ, आईसीयू भेन्टिलेटरसहितको उपचार चाहिनेहरूको संख्या बढ्न सक्छ,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस