पहिरोले दशककै बढी क्षति, २ सय ५४ को ज्यान लियो

पत्रपत्रिकाबाट

मंगलबार, ०९ भदौ २०७७, ०८ : ०९
पहिरोले दशककै बढी क्षति, २ सय ५४ को ज्यान लियो

फाईल तस्वीर

काठमाडौं । मनुसन अवधिमा यसपटक पहिरोले २०६८ यताकै बढी मानवीय क्षति गरेको छ। पहिरोले २ सय ५४ जनाको ज्यान लिएको छ। ८१ जना बेपत्ता छन्। १ सय ५२ जना घाइते भए।यो तथ्यांक मनसुन सुरु भएपछि २ महिना ७ दिनको हो। यो वर्ष जेठ ३१ मा मनसुन सुरु भएको थियो।

मनसुन अझै भदौसम्म जारी रहने देखिएको छ। सिन्धुपाल्चोक, बझाङ, म्याग्दी, कास्की, जाजरकोट, अछाम, कास्की, तनहुँ, संखुवासभा, डोटी, हुम्लालगायत ५१ जिल्लामा बढी जनधनको क्षतिको भएको छ। हजारौं जना विस्थापित भए पनि यकिन तथ्यांक छैन। अर्बौं रकमको अन्नबाली क्षति पुगेको छ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका इन्चार्ज एवं उपसचिव मुरारी अवस्थीले यो वर्ष पहिरोले ठूलो क्षति गरेको बताए। ‘मनसुनको सुरुआतदेखि नै दुःख दिइरहेको छ’, उपसचिव अवस्थीले भने । उनले गत वर्ष जम्मा ८३ जनाको मात्रै मृत्यु भएको उल्लेख गरे। ११ जना बेपत्ता भएका थिए। ‘गत वर्षभरिको तुलनामा यसपटक एकै महिनामा बढी विनाश भएको छ’, उनले भने, ‘असारमा मात्रै पोहोरभन्दा बढी क्षति भएको छ। साउनमा त झन् बढेको छ।’

केन्द्रको तथ्यांकले २०६८ मा १ सय ४, २०६९ मा ४३, २०७० मा ६५, २०७१ मा ९४, २०७२ मा ९२, २०७३ मा १ सय ३६, २०७४ मा ५९, २०७५ मा ७७ जनाको ज्यान गएको देखाउँछ। यस्तै, बेपत्ता र घाइतेको संख्या क्रमशः २०६८ मा २४, ७९, २०६९ मा ८, ३०, २०७० मा १८, ४४, २०७१ मा १ सय २९,९३, २०७२ मा १३, ७३, २०७३ मा ८, १ सय १५, २०७४ मा १५, ४४ र २०७५ मा १, १ सय ८ छ।

इन्चार्ज अवस्थीका अनुसार यो वर्ष पहिरोका मात्रै १ सय ४ घटना भएका छन्। असारमा भएका २९ घटनामा १ सय ८ जनाको मृत्यु भयो। ४७ जना बेपत्ता भए। ४६ जना घाइते भए। साउनमा ६४ घटना हुँदा १ सय ३२ जनाको मृत्यु भयो। १७ जना बेपत्ता भए। ८७ घाइते भए। भदौ पहिलो सातासम्म ११ वटा पहिरो गइसकेका छन्। यी घटनामा १४ जनाको मृत्यु भएको छ भने १७ बेपत्ता छन्। १९ जना घाइते भएका छन्। घाइतेमध्ये ८० प्रतिशत निको भएर घर फर्किसकेका छन्।

म्याग्दीका १ हजार ५ सय, सिन्धुपाल्चोकका २ सयभन्दा बढी परिवार विस्थापित भएका छन्। हुम्लामा ६ सय २ घर पहिरोमा परेका छन्। दर्जनौं पुल, बाटो भत्किए। सडक अवरुद्ध भए। पशुचौैपाया मरेका छन् । पहिरोले घर पुरिँदा जेठ ३१ गते पर्वतको कुस्मा–२ दुर्लुङमा ९ जनाको मृत्यु भएको थियो। एक घाइते भएका थिए। यो नै यो वर्षको पहिलो ठूलो घटना थियो। त्यसपछि मनसुन निरन्तर छ। सिन्धुपाल्चोकमा मात्रै ५२ जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता छन्। ११ जना घाइते भए। मानवीयबाहेक अन्य क्षतिको विस्तृत विवरण आइनसकेको उपसचिव अवस्थीले बताए।

विकास पूर्वाधारका नाममा डोजर, स्काभेटरको जथाभावी प्रयोगले ठूलो क्षति भएको आकलन गरिएको छ। भूकम्पले माटो खुकुलो भएका कारण पहिरो धेरै गएको पाइएको छ। सिन्धुपाल्चोक, पर्वत, म्यादी, तनहुँ, कस्कीलगायत जिल्लामा पहिरो आउनुको प्रमुख कारण भूकम्प दखिएको छ । उनका अनुसार जेठदेखि निरन्तर वर्षा भइरहेको छ। जसले गलाएर माटोको संरचना नै कमजोर बनायो। ३० वर्षको इतिहासमा सिन्धुपाल्चोक र पर्वतमा अत्यधिक वर्षा भएको तथ्यांक छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस