कोरोना सन्त्रास

डायलसिस नपाउँदा छटपटिएर ज्यान गयो

पत्रपत्रिकाबाट

शुक्रबार, ०५ भदौ २०७७, ०८ : ००
डायलसिस नपाउँदा छटपटिएर ज्यान गयो

जनकपुर । जीउ सुन्निएर उभिन सक्ने अवस्था थिएन । थलिएको शरीरलाई आमाबुबाले काँधको सहारा त दिन्थे तर बोझिलो शरीर थाम्नै हम्मे पर्थ्यो । जीउ तलतिर तन्क्याउँदै उनी चिच्याउँथे, ‘आह’ त्यो चिच्याहटले आमाबुबाको आँखा रसाउँथ्यो ।

छटपटी बढेपछि धनुषाको सबैला नगरपालिका–२ का ३२ वर्षीय प्रमोद महतोलाई गत मंगलबार दिउँसो एम्बुलेन्समा जनकपुरस्थित प्रादेशिक अस्पतालमा डायलसिस गराउन ल्याइयो । दायाँतिर बुबा जोगेन्द्र र बायाँतिर आमा रामकुमारीको सहारामा उभिएका प्रमोदले निकैबेर डाक्टरको प्रतीक्षा गरिरहे ।

तर न कुनै स्वास्थ्यकर्मी आए, न त डाक्टर नै देखिए । ‘डायलसिस गर्न आग्रह गर्दा स्वास्थ्यकर्मीहरू आफ्नो ड्युटी सकिन लागेको भन्दै तर्किए,’ बिरामीको उपचारमा सहयोग गर्न पुगेका बीपी साहले भने, ‘त्यसपछि अस्पतालका चिकित्सक जामुन सिंहलाई आग्रह गर्‍यौं । उनले पनि डायलसिस विभाग प्याक रहेको र थपको उपचार हुन नसक्ने बताए ।’

डायलसिसका लागि करिब ४ घण्टा अस्पतालको चक्कर काटिरहँदा प्रमोद भने आमाबुबाको काँधमै छटपटाउन थालिसकेका थिए । जनकपुरस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। नागेन्द्र यादवसँग बुझ्दा उनले पनि डायलसिस विभागका स्टाफ र चिकित्सकले भनेझैं उपचारका लागि अन्तै लैजान सुझाए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलसिसका लागि लैजाँदै गर्दा बुधबार दिउँसो सिरहाको गोलबजार पुग्दा छटपटीकै क्रममा प्रमोदले अन्तिम श्वास फेरे ।

उनका बुबाका अनुसार मंगलबार ३ बजे प्रादेशिक अस्पताल पुगेर साँझसम्म डायलसिसका लागि आग्रह गर्दा पनि कसैले वास्ता गरेनन् । ‘चिनेजानेका नेता, मेयर, ठूलाबडा आफन्त सबैलाई फोनमा गुहारें । सबैतिरबाट फोन आउँदा पनि अस्पतालले डायलसिस गर्न मानेन,’ उनले भने, ‘छोराको पीडा देखेर मन भक्कानिन्थ्यो । म रोएँ भने उसले हिम्मत हार्ला भनेर धैर्य गर सब ठीक हुन्छ भन्थें । डाक्टरको खुट्टा ढोगेर उपचार गरिदिन आग्रह गर्‍यौं । तर कसैको मन पग्लेन ।’

ललितपुरस्थित मेडिसिटी अस्पतालमा एक वर्षअघि उपचार गराउँदा प्रमोदको मिर्गौलामा समस्या देखिएको थियो । काठमाडौंमै एक निजी बैंकमा काम गर्ने उनले त्यसपछिको उपचार र डायलसिस काठमाडौंमै गराइरहेका थिए । त्रिवि शिक्षण अस्पतालमा साताअघि उपचार गराएर जनकपुरमा पनि डायलसिस हुन्छ भन्ने बुझेर उनी गाउँ फर्किए । ‘काठमाडौंमा डाक्टरले अझै केही दिन डायलसिस गर्नुपर्छ भनेका थिए,’ प्रमोदकी फुपू ललितादेवी महतोले भनिन्, ‘तर उसले घर जाने जिद्दी गरेपछि सबैला ल्याइयो ।’

बिरामकै तनावले प्रमोदले बैंकको जागिर पनि छाडिसकेका थिए । ‘तिघ्रासम्म सुन्नियो । पेट डम्म फुलेर खाना रुच्न छाड्यो,’ ललिताले भनिन्, ‘पछि हात पनि सुन्निएर स्थिति जटिल बन्यो । निषेधाज्ञाले बाहिर लैजान सम्भव थिएन । प्रादेशिक अस्पतालले पनि फर्काइदिएपछि उपचारै नपाएरै बिचराले प्राण त्याग्यो ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस