एसईईको नतिजा सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, ०१ भदौ २०७७, १८ : ४२
एसईईको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ ।

आज सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो ।

एक हप्ता पहिला नै सम्पूर्ण तयारी सकिए पनि नोवेल कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या बढ्दै गएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डका परीक्षा नियन्त्रक रामराजा खकुरेलले जानकारी दिए ।

चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको खकुरेलले जानकारी दिए ।

शैक्षिक सत्र २०७६ मा एसइईका लागि चार ८२ हजार जनाले फारम भरेका थिए ।

‘चार लाख ८२ हजार विद्यार्थीले फारम भरे पनि चार लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आयो । केही अयोग्य भए,’ उनले भने ।

गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । मूल्यांकन फरक भए पनि गतवर्ष जसरी नतिजा सार्वजनिक हुने बोर्ड स्रोतले जानकारी दिएको छ ।

विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।

यसरी मूल्याङ्कन गर्दा वि.सं २०७६ को कूल पूर्णङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस