चितवन कोरोना भाइरसको ‘रेड जोन’को मुखमा

सफल खबर संवाददाता

आइतबार, ३२ साउन २०७७, १५ : ५७
चितवन कोरोना भाइरसको ‘रेड जोन’को मुखमा

चितवन । चितवन जिल्ला कोरोना भाइरसको ‘रेड जोन’को मुखैमा पुगेको छ । सरकारले २०० कोरोना संक्रमित कटेको जिल्लालाई ‘रेड जोन’भित्र राख्दै आएको छ । 

चितवन जिल्लामा आजसम्म कोरोना संक्रमितको संख्या १९९ पुगेको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाले दिएको जानकारीअनुसार हालसम्म चितवन जिल्लामा संक्रमितको संख्या १९९ पुगेको र यो अझै बढ्नेक्रम जारी छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार २०० संक्रमितको संख्या नाघेको जिल्लालाई रेड जोनमा राखिन्छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले हाल भरतपुर अस्पतालमा ४२ जना संक्रमितको उपचार भइरहेको छ । उनका अनुसार हालसम्म भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालामा १४ जिल्लाका १४ हजार पाँचसय भन्दा बढी नमुना संकलन गरी परीक्षण गरिएको छ ।

हालसम्म भरतपुर अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । भरतपुर ११ का एक जना र कैलालीका एक जना पुरुष संक्रमितको मृत्यु भएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले हालसम्म चितवनका एक जना संक्रमितको मृत्यु भएको छ ।

चितवनको भरतपुर महानगरमा मात्र १२१ जना संक्रमित भेटिएका छन् भने कालिकामा ५, रत्ननगरमा ९, माडीमा ४१, खैरहनीमा ७, राप्तीमा १५, इच्छाकामनामा एकजना कोरोना संक्रमित भेटिएका छन् । 

चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ४ सय ७४ वटा नमुनाको परीक्षणमा चितवनका  २७ सहित २८ जनामा कोरोना पोजेटिभ देखिएको हो । भरतपुर महानगरपालिका २१ जनामा कोरोना पुष्टि भएको हो भने रत्ननगर नगरपलिका ४ जनामा र खैरहनी नगरपालिकाका २  जनामा कोरोना संक्रमण पुष्टि हो ।

सबैभन्दा पछिल्लो कोरोना परीक्षणमा चितवनमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ४ सय ७४ वटा नमुनाको परीक्षणमा चितवनका २७ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमा भरतपुर अस्पतालका मेसुसहित ५ जना स्वास्थ्यकर्मी र दुई जना नर्सिङसमेत संक्रमित भएका हुन् । चितवनमा संक्रमित हुनेको संख्या बढेपछि माडी नगरपालिकाबाहेक ६ पालिकामा निषेधाज्ञा जारी भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस