नेपाल–भारत बिचको खटपट : तोडिएला त अब सम्वादहिनता ?

भारतीय प्रधानमन्त्री मोदीसँग ओलीले ११ मिनेट गरेको टेलिफोन सम्वादपछि अब के तोडिएला सम्वादहिनता ? अनि शुरु होला सीमा विवादमा दुई देशबीचको उच्चस्तरको वार्ता ? चर्चा शुरु भएको छ

सफल खबर संवाददाता

आइतबार, ३२ साउन २०७७, १० : ०३
नेपाल–भारत बिचको खटपट : तोडिएला त अब सम्वादहिनता ?

काठमाडौं । नेपाल र भारतबीचको सम्बन्ध बिग्रने दिशामा गईरहेका बेला दुबै देशका प्रधानमन्त्रीहरूले चार महिनाको अन्तरालमा शनिबार प्रत्यक्ष टेलिफोन वार्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको ७४ औं स्वतन्त्रता दिवसको बधाई दिन टेलिफोन गरे र भने,–‘नेपाल र भारतबीच अर्थपूर्ण सहयोगको अपेक्षा गर्दछु ।’

ओलीका विदेश सम्बन्ध सल्लाहकार राजन भट्टराईले दुई देशका प्रधानमन्त्रीहरू बीचको वार्तालाई महिनौं लामो गतिरोधको अन्त्यको संकेतको रूपमा वर्णन गरेका छन् । ‘हेरौं कसरी भविष्यमा दुई देशहरू बीचको सम्बन्ध सम्पर्कको अबको गति बढ्छ,’ भट्टराईले भने,–‘हामी जहिले पनि कुराकानीको पक्षमा छौं ।’ 

परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयका कम्तिमा दुई अधिकारीले शनिबारको दुई देशका प्रधानमन्त्री बीचको टेलिफोन वार्ताले निकट भविष्यमा द्विपक्षीय वार्तालापमा सहयोग पु¥याउन मद्दत पु¥याएको जिकिर गरेका छन् ।  ‘हामी दुवै देशका प्रधानमन्त्रीले चाँडै थप ब्रिफिङको आशा गरेका छौं र हामी तदनुसार अगाडि बढ्छौं,’ एक अधिकारीले भने, –‘जे भएपनि अब आपसी सम्वाद र सहकार्य शुरु हुन्छ ।’

कालापानी, लिपुलेक र लिम्पियाधुराको सिमा विवादका कारण दुई देशका बीचमा पछिल्लो चार महिनायता निक्कै खटपटमा चलेको छ । नेपालको भूमिमा भारतले एकतर्फी सडक मार्ग खोल्ने र उसको राजनीतिक तथा प्रशासनिक नक्सामा उक्त क्षेत्रलाई समेटने काम गरेपछि नेपालले त्यसको कडा प्रतिक्रिया दिएको थियो । यो प्रकरणपछि दुई देशबीच सम्बन्धमा निक्कै खटपट छ । यही खटपटका कारण आपसी सम्वाद पनि विगत ४ महिनायता ठप्प थियो ।

तर दुई देशका प्रधानमन्त्रीले ११ मिनेट लामो टेलिफोन वार्ता गरेपछि भने सम्बन्धमा लागेको सम्वादहिनतामा आइसब्रेक भएको छ । प्रधानमन्त्री कार्यालयका अधिकारीका अनुसार विदेश मन्त्रालयका अधिकारीहरू, नयाँ दिल्लीमा नेपाली दूतावास र काठमाडौंमा भारतीय दूतावासले शुक्रबार मात्र ओलीले मोदीसँग टेलिफोन वार्ता गर्ने योजनाको बारेमा जानकारी दिएका थिए ।

अन्तिम पटक ओली र मोदीले फोनमा कुरा गरे अप्रिल १० मा कोभिड १९ को अवस्था र एक अर्काको देशमा फसेका नागरिकहरूको हेरचाहको उपायहरूबारे छलफल गर्न सम्वाद भएको थियो । काठमाडौंमा नेपालका विदेश सचिव र नेपालका लागि भारतीय राजदूतबीच हुने उच्चस्तरीय बैठकको दुई दिन अगाडि मोदी र ओलीका बीचमा वार्ता भएको हो । भदौं १ मा दुई देशका अधिकारीहरुका बीचमा काठमाडौंमा वार्ता हुदैंछ ।

दुबै पक्षले नेपालमा भारत द्वारा अनुदानित परियोजनाहरुमा भएका प्रगतिको समीक्षा उक्त वार्तामा गर्दैछन् । निर्धारित बैठकलाई अधिकारीहरूले दुई देशहरूबीच कूटनीतिक वार्ताको थालनीका रुपमा पनि चित्रण गर्न खोजेका छन् । 
 

प्रतिक्रिया दिनुहोस