पुष्पाञ्जली अस्पतालको आइसीयूमा कोरोना संक्रमितको उपचार

बिरामीको स्थिति गम्भीर तर स्थिर : अस्पताल प्रशासन

सफल खबर संवाददाता

शनिबार, ३१ साउन २०७७, १२ : ४०
पुष्पाञ्जली अस्पतालको आइसीयूमा कोरोना संक्रमितको उपचार

चितवन । भरतपुरको चौबीसकोठीमा रहेको पुष्पाञ्जली अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा कोरोना संक्रमितको उपचार भइरहेको छ । बिरामीको स्थिति गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।

अस्पताल प्रशासनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै रत्ननगर नगरपालिका ९, टिकौली निवासी ६१ वर्षीय पुरुषको साउन २७ गते मंगलबारदेखि आइसीयूमा उपचार भइरहेको जानकारी दिएको छ ।

श्वासप्रश्वासमा गम्भीर समस्या भई अस्पतालको आइसीयूमा भर्ना गरिएका ती बिरामीको दुबै फोक्सोमा निमोनिया देखेपछि भाइरल निमोनियाको रुपमा उपचार गरिएको अस्पताल प्रशासनको भनाइ छ ।

बिरामीको कोभिड–१९ स्वाब परीक्षणमा हिजो शुक्रबार आएको रिपोर्ट कोभिड–१९ पोजिटिभ देखिएको र ती बिरामीको अहिले पनि आइसीयूमा उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अस्पताल प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७७।४।३० मा स्वास्थ्य मन्त्रालयको एचइओसीबाट प्रकाशित सूचना र निर्देशन अनुसार कोभिड–१९पोजिटिभ भएका व्यक्तिलाई सोही अस्पतालमा राख्ने र हब अस्पतालसँग समन्वय गर्ने भनिएअनुसार जिल्ला प्रशासन र हब अस्पताल (भरतपुर अस्पताल) सँग समन्वय गरी निजलाई यसै अस्पतालको सघन उपचार कक्षमा नै राखेर उपचारलाई निरन्तरता दिने जानकारी गराइन्छ ।’

आइसीयूको व्यवस्थापन, चिकित्सक लगायत स्वास्थ्यकर्मीको क्वारेन्टाइन र स्वास्थ्य सामग्रीको व्यवस्थापन अस्पतालले गरिसकेको विज्ञप्तिमा उल्लेख छ । आइसीयू भिन्न भवनमा रहेकोले त्यसलाई सिल गरी अर्को भवनबाट दिइने ओपिडी तथा आन्तरिक सेवा भने स्वास्थ्य निर्देशिका अनुसारको होसियारी अपनाई सञ्चालनमा रहने अस्पतालका प्रबन्धक सुजन अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस