नेकपा अध्यक्षद्धयलाई विष्णु पौडेलले अगाडी सारेको प्रस्तावमा के छ ?

सफल खबर संवाददाता

शुक्रबार, ३० साउन २०७७, ०८ : ५४
नेकपा अध्यक्षद्धयलाई विष्णु पौडेलले अगाडी सारेको प्रस्तावमा के छ ?

काठमाडौं । नेकपाका दुई अध्यक्षको छलफलमा बिहीबार महासचिव विष्णु पौडेलले नयाँ प्रस्ताव गरेका छन् । स्थायी समिति सदस्यद्धय शंकर पोखरेल र जर्नादन शर्मा समेतको सहमतिका आधारमा बिहीबारको दुई अध्यक्षको छलफलमा महासचिव विष्णु पौडेलले उपाध्यक्ष वामदेव गौतमले गत साउन १३ मा अगाडी सारेको प्रस्तावकै सेरोफेरोमा रहने गरी छलफलका लागि सहमतिको प्रस्ताव अगाडी सारेका हुन् । 

पौडेलले गरेको प्रस्तावमा पार्टी एकतालाई सुढृढ र बलियो बनाउदै लैजाने, आगामी चैतमा पार्टीको एकता महाधिवेशन आयोजना गर्ने, प्रतिनिधीसभाको बाँकी कार्यकाल प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारको नेतृत्व गर्ने, पार्टीको जिम्मा लिने गरी कार्यकारी अधिकार अध्यक्ष प्रचण्डलाई दिने, कमजोरीमा आलोचना, आत्मआलोचनाको विधि अवलम्वन गरेर जाने, केन्द्र देखि प्रदेश सम्मका मन्त्रीपरिषद्हरु हेरफेर गर्ने (केही प्रदेशमा आवश्यकताका आधारमा मुख्यमन्त्री समेत), महत्वपूर्ण राजनीतिक नियुक्तिहरु पार्टीको सस्थागत निर्णयका आधारमा मात्र गर्ने उल्लेख छ । 

तर उनले यो प्रस्ताव लिखित रुपमा भने दुई अध्यक्षको छलफलमा राखेका छैनन् । उनले आफ्नै ल्यापटपमा टाइप गरेर राखेको मस्यौदा प्रस्ताव पढेर मात्र सुनाएका थिए । तर प्रचण्डले भने महासचिवले अन्य स्थायी समितिका सदस्यहरु पोखरेल र शर्मासँगको सह्मतिका आधारमा पेश गरेको त्यस्तो प्रस्तावमा कुनै जवाफ दिएका छैनन् । 

मैले उहाँहरुले ल्याएको विषयमा कुनै जवाफ दिएको छैन, तपाईहरु (माधव, झलनाथ) सँग पनि सल्लाह गर्छु, त्यसपछि मात्र छलफल गरौला भनेर जवाफ दिएर आएको छु, त्यसैमा कुनै सहमति जनाईसकेको अवस्था छैन, प्रचण्डले ओलीसँगको छलफलपछि आफु पक्षका नेताहरुसँगको छलफलमा थापागाँउस्थित प्रेसिडेन्टल कलेजमा आयोजित प्रदेश ५ का केन्द्रीय सदस्यहरुको भेलामा जानकारी गराएका थिए ।

दुई अध्यक्षका बीचमा आज पनि छलफल हुदैछ । तर महाधिवशेनसम्मका कार्यतालिका बनाई समग्र विषयमा छलफल गर्ने र त्यसको ठोस प्रस्ताव बनाउने गरी कार्यदल बनाउने तिर पनि दुई अध्यक्षले छलफल गरेका छन् ।

दुई अध्यक्षको कार्यविभाजन गरी अधिकार बाँडफाँड, महाधिवशेनको कार्यतालिका, वैचारिक राजनीतिक बहस, आलोचना, आत्मआलोचना, मन्त्रीपरिषद् हेरफेर, विवादित नियुक्तिहरुको बदर, राजनीतिक नियुक्तिहरुमा सँस्थागत निर्णय, मुख्यमन्त्री हेरफेर  लगायतका विषयमा केन्द्रीत रहेर कार्यदल बनाई छलफल गराउने गरी दुई अध्यक्ष छलफलमा देखिएका छन् । तर प्रचण्डले यस विषयमा अहिले नै कुनै सहमति जनाईसकेका छैनन् । 

प्रतिक्रिया दिनुहोस