सरकारले तोकेको शुल्कमा निजी अस्पतालले उपचार गर्न नसक्ने

पत्रपत्रिकाबाट

शुक्रबार, ३० साउन २०७७, ०७ : २२
सरकारले तोकेको शुल्कमा निजी अस्पतालले उपचार गर्न नसक्ने

काठमाडौँ । निजी अस्पतालले सरकारले तोकेको शुल्कमा कोभिड बिरामीको उपचार गर्न नसक्ने जनाएका छन् ।

आफूहरूसँग सल्लाह नगरी उपचारका लागि निर्देशन दिइएको भन्दै उनीहरूले सरकारी अस्पताललाई अनुदान दिनका लागि तयार पारिएकै शुल्कमा उपचार गर्न सम्भव नरहेको बताएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अस्पतालसँगै सरकारी तथा निजी अस्पताललाई पनि संक्रमित उपचार गर्न सोमबार निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा हब अस्पतालसँगको समन्वयमा स्याटेलाइट अस्पतालले २० प्रतिशत शय्या छुट्याएर उपचार गर्नुपर्ने बताएका थिए ।

मन्त्रालयले तोकेको शुल्कप्रति निजी तथा सरकारी दुवै अस्पताल व्यवस्थापन खुसी छैनन् । तोकेको मूल्यमा उपचार गर्न लगभग असम्भव रहेको उनीहरूको दाबी छ । मन्त्रालयले गरेको निर्णयअनुसार अब निजी अस्पतालमा उपचार गर्न चाहने संक्रमितले अस्पतालको सहमतिमा उपचार गर्न सक्नेछन् तर सेवा शुल्क भने लक्षणअनुसार मन्त्रालयले तोकेअनुरूपको मात्रै लिन पाइनेछ ।

मन्त्रालयका अनुसार सामान्य लक्षण भएका बिरामीको उपचारबापत सम्बन्धित अस्पतालले प्रतिदिन ३ हजार ५ सय, मध्यम जटिल बिरामीको उपचारबापत ७ हजार र जटिल अवस्थाका बिरामीहरूको उपचारबापत १५ हजारमा नबढ्ने गरी शुल्क लिन पाउने भनेर दररेट तोकिदिएको छ ।

मन्त्रालयले वैशाख २४ गते जारी गरेको ‘कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उपचारबापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश २०७७’ मा उपचार गरेबापत कति शुल्क दिने भन्ने यकिन गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस