उपप्रधानमन्त्री इश्वर पोखरेल र सेना बीच सम्बन्धमा दरार

सफल खबर संवाददाता

विहीबार, २९ साउन २०७७, १० : ३१
उपप्रधानमन्त्री इश्वर पोखरेल र सेना बीच सम्बन्धमा दरार

काठमाडौं । सामान्यतयाः आफु नेतृत्वमा रहेपछि आफु मातहत रहने ब्यक्ति या संस्थाका खराब आचरण, कार्यशैली र कार्यव्यवहार भएपनि आन्तरिक रुपमा कदम चालेपनि सार्वजनिक रुपमा आलोचनामा कोही उत्रदैंनन् । त्यसमाथी नेपाली सेना जस्तो संस्थाको नेतृत्व गर्ने उपप्रधान तथा रक्षामन्त्रीबाटै आलोचना सार्वजनिक रुपमा हुन्छ भन्ने कसैले सोचेका पनि हुदैनन् ।

विगतमा एकपटक अहिलेका गृहमन्त्री रामबहादुर थापा (बादल) रक्षामन्त्री हुदा प्रधानसेनापतिसँग बढेको तिक्ततापुर्ण सम्बन्धले रुक्मांगत कट्वाल प्रकरण सम्म घट्न पुगेको थियो । जसका कारण प्रचण्डले त्यसबेला प्रधानमन्त्रीबाटै राजीनामा दिएका थिए । तर अहिले मन्त्री र सेनाका बीचमा उस्तै संकट देखा पर्न थालेको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र सेनापति पूर्णचन्द्र थापाका बीचमा टसल बढेको छ ।

यस्तो टसल बढनुमा एउटै कारण देखा पर्छ, त्यो हो ब्यक्तिगत स्वार्थ । मन्त्री पोखरेल आफ्नो लाभका लागि राजनीति गर्ने नेतामा गनिन्छन् । त्यही भएर पनि हुनसक्छ, उनले सार्वजनिक समारोहमै भनिदिए, नेपाली सेना ‘लकिरको फकिर’ (जोगी) जस्तो मात्र भयो । सेनामाथी उपप्रधान तथा रक्षामन्त्रीकै यस्तो टिप्पणी पछि उपप्रधानमन्त्री र सेनाको नेतृत्व बीच टकराव शुरु भएको छ ।  प्रसंग हो, साउन १६ गतेको । त्यसदिन रक्षा मन्त्रालयको सभाकक्षमा आयोजित कार्यक्रमममा प्रधानसेनापतिकै अगाडी पोखरेलले सेनामाथी टिप्पणी गरेका हुन् ।

हुन त सेना पनि ब्यापारमा होमिएको सुँहाउने कुरा होइन् । तर पोखरेलको छवि पनि विगत देखिनै आर्थिक रुपमा कुदृष्टि राख्ने, बदनाम सोचका मन्त्रीका रुपमा आरोपित छन् । उनले जुनकुनै योजना र निर्णयमा पनि आफ्नो नाफाघाटा हिसाब गर्ने गर्छन् भन्ने आरोप लाग्दै आएको छ । यो आरोप पोखरेलले अस्वीकार गरेपनि उनको स्वार्थ समुहसँगको सम्बन्ध, आर्थिक रुपमा विवादास्पद निर्णय उनका तर्फबाट भएका छन् । उनका निर्णय बिचौलिया मार्फत चल्ने देखिदै नआएको होइन् ।

अहिले पनि उनले सेनाका कारोबारभित्र आफनो आर्थिक लाभहानी खोजेको र त्यसभित्र  आफ्नो पनि हिस्सा खोज्न थालेपछि मन्त्री र सेनाको नेतृत्वका बीचमा टकराव आएको अनुमान लगाउन थालिएको छ । पोखरेलको सेनामाथीका टिप्पणी त्यसैको परिणति थियो । उपप्रधान तथा रक्षामन्त्री पोखरेलले त्यस दिन सार्वजनिक मञ्चबाटै भनिदिएका थिए,  लकिरको फकिर जस्तो कार्यशैली भयो हाम्रो । यो भनेको जोगी जस्तो ।

बिहान पनि त्यहीबाटो, बेलुका पनि त्यही बाटो जोगीले भिक्षा माग्न गयो भने मान्छेहरुले पत्याउदैनन्, सधै यही बाटो मात्र माग्न आउछ भनेर भिक्षा दिदैनन् । त्यस्तै भयो हाम्रो कार्यशैली । आज पनि त्यही, हिजो पनि त्यही र भोलि पनि त्यही । लकिरको फकिर जस्तो । फाष्ट ट्रयाकमा सेना र पोखरेलबीच नमिलेको हो । फाष्ट ट्रयाकको कन्सल्यान्ट छनौट  देखिका कतिपय काममा मन्त्रीले सेनाका काममाथी हस्तक्षेप गर्न खोजेका थिए । तर सेनाले त्यसमा सहमति जनाएन् । उनले आफुलाई आर्थिक रुपमा लाभ दिने विचौलियालाई कन्सल्टयान्ट नियुक्त गर्ने देखि सेनाका काराबवारमा समेत हिस्सा कुनै न कुनै रुपमा खोज्न थालेका थिए ।

त्यसमा सेनाको स्वीकारोक्ति थिएन् । त्यसपछि नै सेना र मन्त्रीका बीचमा विवाद देखिएको हो । त्यसैकारण पोखरेलले सेनालाई हिमुलेसन गर्ने गरी जोगीको संज्ञा दिदै टिप्पणी गरेका थिए । यो टिप्पणी पछि सेनाले पोरखेलसँग बढेको विवादका विषयमा प्रधानमन्त्री केपी ओलीसँग पनि भेटेर आफ्नो कुरा राखिसकेको छ । यो प्रकरण मात्र होइन, पोखरेल र सेनाबीच कोभिड १९ का लागि आवश्यक औषधी खरिद प्रकरणका विषयमा पनि विवाद छ । सरकारले सरकार टु सरकार सेनामार्फत औषधी खरिदको पछिल्लो निर्णय लिएको थियो ।

तर त्यस अगाडी नै पोखरेलले आफुलाई समेत कमिसन आउने भएपछि विवादास्पद ओम्नी कम्पनीलाई  औषधी खरिदको जिम्मा उच्चस्तरीय सन्यत्रका नाममा गरेका थिए । उनले नै ओम्नीले ल्याउने सामानको पिपिई लगायतको पहिलो प्रयोग परिक्षण समेत गरेका थिए । कमिसनका नाममा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई समेत दबाबमा उनले ओम्नीलाई औषधी खरिदको जिम्मा लगाएका थिए । ओम्नीले एकलट सामान पनि ल्यायो । तर सामानको गुणस्तरीयतामै प्रश्न उठने, मंहगो दररेटमा खरिद गर्ने काम गरेको प्रश्न उठेपछि  सरकारले ओम्नीसँगको औषधी खरिद सम्झौता भंग गरेको थियो । 

त्यसपछि पनि पोखरेलले ओम्नीले ल्याएको औषधी प्रयोग नसकिदा सम्म सेनालाई खरिदमा अवरोध हाल्ने काम गरेको गुनासो पनि सेनाको छ । सेनाका काममा रक्षामन्त्री पोखरेलले आर्थिक नजरले आफनो नाफाघाटा दाँज्न थालेपछि बढेको विवाद अत्यन्त तिक्त अवस्थामा जान थालेको छ । जसकाकारण मन्त्री र सेनाबीचको सम्बन्ध कुन स्टेपमा पुगेर कस्तो अवस्था निम्त्याउला ? भन्ने अहिले नै अनुमान लगाउन सकिने अवस्था छैन् । 

प्रतिक्रिया दिनुहोस