मानव र हात्ती बिच द्धन्द्ध बढ्दो : १५ वर्षमा करिब २ सय जनाको मृत्यु

पत्रपत्रिकाबाट

विहीबार, २९ साउन २०७७, ०७ : ५७
मानव र हात्ती बिच द्धन्द्ध बढ्दो : १५ वर्षमा करिब २ सय जनाको मृत्यु

काठमाडौँ । संरक्षित क्षेत्र (निकुञ्‍ज–आरक्ष) र नजिकको बस्ती क्षेत्रमा हात्तीको आक्रमणबाट पछिल्लो १५ वर्षमा १ सय ९९ जनाको मृत्यु भएको छ । वाइल्डलाइफ इन्स्टिच्युट अफ इन्डिया, देहरादुनबाट ‘इलेफेन्ट इकोलोजी’ मा विद्यावारिधि गरिरहेका चितवन राष्ट्रिय निकुञ्‍जका सहायक वार्डेन अशोककुमार रामले झापादेखि कञ्चनपुरसम्म गरेको अध्ययनले सन् २००५ देखि २०१९ सम्म हात्तीको आक्रमणबाट १ सय ९९ जनाको मृत्यु भएको देखाएको हो ।

हात्तीको आक्रमणमा पर्ने ९० प्रतिशतको मृत्यु हुने गरेको अध्ययनमा उल्लेख छ । निकुञ्‍ज–आरक्ष रहेकोभन्दा बाहिरका जिल्लामा हात्तीको आक्रमणबाट धेरै मान्छेको मृत्यु भएको रामले बताए । उनका अनुसार १५ वर्षमा झापामा मात्रै ३७ जनाको मृत्यु भएको छ । बर्दियामा ३५ र चितवनमा २० जनाको मृत्यु भएको छ । यसबीचमा सप्तरी र बारामा १३–१३, सर्लाहीमा १२, पर्सामा ११, सुनसरी र उदयपुरमा ९–९, धनुषा र सिन्धुलीमा ८–८, मोरङमा ७, सर्लाही र रौतहटमा ६–६, मकवानपुरमा ३ र कञ्चनपुरमा २ जनाको ज्यान गएको छ ।

मानवीय बस्तीमा पसेर पटक–पटक वितण्डा मच्चाएकामध्ये अहिलेसम्म विभिन्न स्थानमा ८ वटा हात्तीको घाँटीमा रेडियो कलर जडान गरेर सरकारले तिनको आउजाउ अनुगमन गरिरहेको छ । राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार पछिल्ला वर्षमा हात्ती, बाघ र गैंडालगायत वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यसरी ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ दिने नीतिगत व्यवस्था छ । यस्तै, घाइते हुने, बाली र घरगोठमा क्षति पुगेका परिवारलाई पनि क्षतिपूर्तिको व्यवस्था गरिएको छ  ।

हालसम्मको घटनाक्रम हेर्दा नेपालमा समूहगत रूपमा ओहोरदोहोर गर्ने हात्ती बस्ती पसेर वितण्डा मच्चाउने गरेको अध्ययनमा उल्लेख छ । प्रतिघण्टा ४३ किलोमिटरसम्म यात्रा गर्ने हात्तीले दैनिक १४०–२१० किलो आहार खान्छ । विश्वमा एसियाली र अफ्रिकी गरी हात्तीका दुई प्रजाति छन् । नेपालमा पाइने प्रजाति एसियाली हो । एसियालीभित्र पनि तीन उपप्रजाति छन्– श्रीलंकन, इन्डियन र इन्डोनेसियन । सन् २००८ सम्म नेपालमा विभिन्न चार स्थानमा छरिएर रहेका हात्तीको समूह अहिले दुइटा क्षेत्रमा सीमित भएका छन् ।

पछिल्लो गणनाअनुसार प्राकृतिक बासस्थानमा नेपालमा २ सय २७ वटा हात्ती छन् । ३० वर्षअघि ५७–८५ वटाको हाराहारीमा मात्रै प्राकृतिक बासस्थानमा हात्ती थिए । त्यो संख्या सन् २००८ मा आउँदा १०७ देखि १४५ सम्म पुगेको थियो । निजी र जंगल सफारीमा प्रयोग हुँदै आएका सरकारी हात्ती यो तथ्यांकभित्र पर्दैनन् । हात्तीका लागि उपयुक्त बासस्थान पछिल्लो समय विभिन्न कारणले खण्डीकृत हुँदै गएको छ भने हात्ती हिँड्ने बाटो (करिडोर) कृषिकर्म, सहरलगायतले अतिक्रमणमा परेको छ ।

अध्ययनअनुसार सन् १९३० देखि १९७५ सम्म ३.२५ प्रतिशतले वन क्षेत्र घटेको पाइन्छ । त्यसपछिको ४५ वर्षमा १७.७८ प्रतिशतले वन क्षेत्र विनाश भएको छ । सहायक वार्डेन रामका अनुसार नेपालमा रहेको कुल संरक्षित क्षेत्र ४२ हजार ४ सय ५६ वर्गकिमिमध्ये १२ हजार ६९ वर्गकिमि क्षेत्र मात्र हात्तीका लागि उपयुक्त बासस्थान हो । पूर्वदेखि पश्चिमसम्मै हात्तीको बासस्थान खल्बलिएकाले ‘कनेक्टिभिटी’ टुटेको उनले औंल्याए ।

सरकारले अघि बढाएको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, विद्युत् प्रसारण लाइन, सिँचाइ, सडक विस्तारलगायतले बासस्थान खल्बलिएपछि हात्तीको ओहोर–दोहोरमा समस्या भएको छ । हात्तीको बासस्थान घट्नुको अर्को कारण उसले मन पराउने लहरा प्रजाति लोप हुनुसमेत हो । कान्तिपुर दैनिकमा खबर छ ।