नेपाल र भारतबीच भदौ १ मा काठमाडौंमा वार्ता

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०७७, १० : ००
नेपाल र भारतबीच भदौ १ मा काठमाडौंमा वार्ता

काठमाडौं । अन्ततः ९ महिना लामो सम्वादहिनता तोड्दै नेपाल र भारतका अधिकारीहरु वीचमा वार्ता हुने भएको छ । तर त्यो वार्ता भने कालापानी, लिपुलेक र लिम्पियाधुरासँग सम्बन्धित विषयमा नभई भारतद्धारा अनुदानप्राप्त परियोजनाको प्रगतिमा केन्द्रीत रहेर हुन लागेको नेपालको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । 

भदौं १ गते छलफलका लागि काठमाडौंमा समय र स्थान निर्धारण गरिएको छ । भारतले नेपालको भूमिमा एकतर्फी अतिक्रमण बढाउदै सडक खन्ने लगायतका काम अगाडी बढाएपछि दुई छिमेकी देशहरुका बीचमा तिक्तता वढेको थियो । सोही कारण यस सम्बन्धमा कुनै छलफल हुन सकेको थिएन् भने अन्य बहुपक्षिय विषय र क्षेत्रहरुका बारेमा पनि दिपक्षिय छलफल टुटेको थियो । 

भदौं १ मा हुन लागेको नेपाल भारत पर्यवेक्षण संयन्त्रको उक्त बैठकलाई पनि सीमा विवादले उत्पन्न भएको दुई देशबीचको विवादलाई सहज तुल्याउने पहिलो कदमका रूपमा समेत हेरिएको छ ।  नेपाल भारत पर्यवेक्षण संन्यत्र  सन् २०१६ सेक्टेम्बरमा प्रचण्ड प्रधानमन्त्रीका रुपमा भारत भ्रमणमा गएको बेला गठन भएको थियो । यो संन्यत्रले द्विपक्षीय परियोजनाहरूको कार्यान्वयनको निरीक्षण गर्ने र निर्धारित समयसीमा भित्र काम पूरा गर्न आवश्यक कदम चाल्न प्रेरित गर्ने उदेश्यसँग सम्बन्धित रहेर गठन भएको थियो । 

नेपाल भारतका बीचमा सीमा विवाद ले आपसी वार्ता टुटिरहेका बेला यो वार्ताबाट पनि सिमा विवाद हल गर्नका लागि थप मद्दत पुग्ने र त्यसले केही बल प्रदान गर्ने विश्वास परराष्ट्र मन्त्रालयका अधिकारीहरुले लिएका देखिन्छन् । संन्यत्रको यो बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास वैरागीको नेतृत्वको टोलीले सहभागिता जनाउनेछ भने भारतका तर्फबाट नेपालका लागि भारतीय राजदुत विनयमोहन क्यात्राले भारतीय पक्षको टिमको नेतृत्व गर्ने भएका छन् । 

यद्यपि उक्त बैठकले नेपालमा भारत द्वारा अनुदान प्राप्त ठूला आयोजनाहरूमा भएका प्रगतिहरूको समीक्षा र मूल्याकन गर्ने भएपनि टुटेको सम्वादलाई जोड्ने पहिलो खुड्किलो हुने विश्वास नेपाली पक्षले गरेको छ । र, यसलाई दुई देशबीच पून कुटनीतिक सम्वाद शुरु भएको रुपमा हेर्नुपर्ने बताउन थालेका छन् । 
 

प्रतिक्रिया दिनुहोस