भारतीय विदेशमन्त्रीले किन नेपाल प्रति विवादित अभिव्यक्ति दिए ?

भारतीय विदेशमन्त्री एस जयशंकरको आफ्नै विवादास्पद अभिब्यक्ति अन्ततः 'आफैलाई घाडो बनेपछि भारतीय विदेशमन्त्रालयले वक्तब्य नै जारी गरी सच्चाउन बाध्य बनेको छ

सफल खबर संवाददाता

सोमबार, २६ साउन २०७७, ०९ : २५
भारतीय विदेशमन्त्रीले किन नेपाल प्रति विवादित अभिव्यक्ति दिए ?

काठमाडौं । भारतीय विदेशमन्त्री जयशंकर नेपालसँग असाध्यै पूर्वाग्रही सोच राख्ने भारतका एक मन्त्री हुन् । यसभित्र केही गुह्य कारण पनि छन् । नेपालमा २०७२ असोज ३ गते संविधानसभाबाट संविधान घोषणा हुँदै थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश सचिव (हाल विदेशमन्त्री) एस जयशंकरलाई विशेष दूत बनाएर असोज १ मा काठमाडौं पठाए ।

उनका मुख्य दुई चासो थिए– पहिलो, धर्मनिरपेक्षताको साटो धार्मिक स्वतन्त्रता राख्नुपर्ने, दोस्रो, फास्ट ट्रयाक निर्माण भारतीय कम्पनीलाई दिनुपर्ने । उनले काठमाडौंमा चौबीस घण्टा बिताउँदा यहाँ नेताहरुसँगको भेटमा जसरी व्यवहार गरे त्यसले राजनीतिक वृत्तमा सुमधुर सम्बन्ध बन्न सकेन् । कूटनीतिक शिष्टाचारसमेत ख्याल नगरी नेपालका नेताहरूसँग धम्कीको भाषामा उनले बोलेका थिए । भारतको ‘स्वार्थ’ सम्बोधन नहुँदासम्म संविधान जारी नगर्न उनले दबाब दिए । संविधान जारी गर्ने मिति सार्न, सबैलाई समेट्न भने ।

त्यसले पनि प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग मिठासपूर्ण सम्बन्ध रहन सकेन् । त्यस बेला उनी ‘अपमानित’ महसुस गर्दै फर्किएका थिए । नेपालले संविधान जारी ग¥यो, भारतले नाकाबन्दी लगायो । नाकाबन्दी खोल्न भारत तयार भएपछि प्रधानमन्त्री ओली २०७२ फागुन पहिलो साता भ्रमणमा गए । ओलीको भारत भ्रमणमा भारतीय पक्षबाट जयशंकर नै हावी देखिए । त्यस बेला नेपाल र भारतको संयुक्त वक्तव्य जारी भएन् । नेपाली पक्षले संविधानलाई भारतले स्वागत गरेको भाषा संयुक्त वक्तव्यमा राख्नुपर्ने धारणा राख्यो ।

भारतका तत्कालीन विदेशसचिव जयशंकरले ‘नेपालको संविधानलाई नोटिसमा लिएका छौं’ भन्ने विगतकै भाषा संयुक्त वक्तव्यमा पार्न खोजे । त्यसमा नेपालले चित्त बुझाएन । वक्तव्य जारी नहुनुमा जयशंकरकै भूमिका रहेको बुझाइ नेपाली पक्षको छ । त्यस्तै,  भारतीय प्रधानमन्त्री मोदीले २०७६ जेठ १७ मा विदेश मन्त्रालयको जिम्मा एस जयशंकरलाई सुम्पिए । उनी विदेशमन्त्री भएदेखि नै नेपालका नेताहरू झस्किएका थिए । उनी भदौ ४ मा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आए । त्यस बेला नेपालले उनको स्वागतलाई महत्व दिएन । जयशंकर फर्केलगत्तै आएका चीनका विदेशमन्त्री वाङ यीले बढी महत्व पाए ।

कांग्रेस सांसद अमरेश सिंहले दुई छिमेकी मुलुकका एकै प्रोटोकलका मन्त्री नेपाल आउँदा किन विभेद भन्दै संसद्मै प्रश्न उठाएका थिए । यी घटनाक्रमले पनि देखाउँछ एश जयशंकर नेपालसँग सधैं जुध्न नै चाहन्छन् ।  त्यही क्रममा उनले शनिबार मात्रै नयाँ दिल्लीमा भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इन्डिया इन्डष्ट्रिजद्धारा आयोजित इन्डिया एट ७६ भर्चुअल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा विश्वले महान भारतीय भनेर चिन्ने दुई जनामा पहिलो गौतम बुद्ध र दोश्रो महात्मा गान्धी भएको भन्दै गौतम बुद्धलाई भारतीय भएको दाबी गरेका थिए ।

यो उनको नियतगत रुपमा नै नेपाललाई चिढ्याउने कोसिस थियो । तर यो पटकको जुधाई उनकै लागि पनि प्रत्युत्पादक बनिदियो । जसको उनकै मन्त्रालयले २४ घण्टा बित्न नपाउदै सच्चाउनु पर्यो । विदेशमन्त्री जयशंकरको अभिब्यक्तीले नेपालमा चौतर्फी भारतको आलोचना हुन थालेपछि भारतको विदेश मन्त्रालयले आफ्नै मन्त्रीको अभिब्यक्ति लाई सच्चाएको छ ।  

आफ्नै प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ६ वर्ष अगाडी सन् २०१४ मा नेपाल भ्रमण गर्दा नेपालको संसदलाई सम्बोधन गर्ने क्रममा नेपाल संसारमै शान्ति प्रेषित गर्ने बुद्ध जन्मेको देश भएको बताएका थिए । तर यही तथ्यलाई समेत नजरअन्दाज गरी विदेशमन्त्री एश जयशंकरले विवादास्पद अभिब्यक्ति दिएपछि भारतले त्यसलाई सच्चाएको हो । विदेश मन्त्रालयले आइतबार नै वक्तब्य जारी गदै गौतम बुद्ध नेपालमै जन्मिएकोमा कुनै शंका नरहेको प्रष्टाएको छ ।

’बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन नेपालमा पर्छ ।’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आइतबार व्यक्तब्य जारी गर्दै विदेशमन्त्री जयशंकरको बचाउ गरे । कार्यक्रममा दिएको अभिव्यक्तिबारे मिडियाबाट राखिएका जिज्ञासाको जवाफ भनेर जारी गरिएको विज्ञप्तीमा विदेशमन्त्री जयशंकरले नेपाल र भारतबीच रहेको संयुक्त बौद्ध परम्परा र सम्पदालाई इंगित मात्र गरेको श्रीवास्तवले जारी गरेको वक्तब्यमा उल्लेख छ । 

त्यस अगाडी नेपालको परराष्ट्र मन्त्रालयले गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने निर्विवाद रहेको र यो बहसको विषय बन्नै नसक्ने बताएको थियो । परराष्ट्र मन्त्रालयले आइतबार वक्तब्य जारी गर्दै ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको विषय स्थापित र निर्विवाद तथ्य भएको बताएको हो । मन्त्रालयका प्रवक्ताले लुम्बिनी क्षेत्र गौतम बुद्ध र बौद्ध धर्मको स्थल तथा यूनेस्कोको विश्व सम्पदा स्थलहरु मध्येको पनि एक भएको उल्लेख गरेको छ ।

‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित कुरा हो । बुद्धको जन्मभूमि बुद्धिज्मको उदगम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा छ,’ मन्त्रालयको वक्तब्यमा छ । ६ वर्ष अगाडी भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमणका क्रममा नेपालको संसदमा गरेको सम्बोधनमा पनि मोदीले गौतम बुद्ध नेपालमै जन्मिएको उल्लेख रहेको स्मरण गदै परराष्ट्रका प्रवक्ताले सन् २०१४ मा भातरका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्बोधन स्मरण गर्न समेत भारतलाई आग्रह गरेको छ । 

‘सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले नेपालको संसद्लाई सम्बोधन गर्ने क्रममा नेपाल संसारमै शान्ति प्रेषित गर्ने बुद्ध जन्मेको देश हो भनी उल्लेख गरिएको थियो । यो सत्य हो कि बुद्धले नेपालबाट विश्वमै बुद्धिज्म फैलाए । त्यसैले यो कुरालाई कुनै पनि दुविधा वा विवादको रुपमा छलफल गर्न सकिन्न । सम्पूर्ण विश्व नै यस विषयमा जानकार छ,’ मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस