अस्पतालले बिरामीलाई गेटबाटै फर्काई दिने गरेपछि विरोध प्रदर्शन

आइतबार, २५ साउन २०७७, १५ : ०६
अस्पतालले बिरामीलाई गेटबाटै फर्काई दिने गरेपछि विरोध प्रदर्शन

पर्सा । वीरगञ्जका अस्पतालहरुले बिरामीलाई भर्ना नै नगरि गेटबाटै फर्काई दिने गरेपछि आइतबार स्थानीयहरुले नारायणी अस्पताल अगाडि प्रशासन विरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् ।

वीरगञ्जका अस्पतालहरु ज्यानमारा भएको आरोप लगाउँदै उनीहरुले अस्पतालहरु पैसा कमाउनको लागि मात्रै खोलिएको आरोप लगाए । महामारीको बेलामा आमजनतालाई सेवा दिनु पर्नेमा उल्टै बिरामीलाई भर्ना नै नगरेर फर्काइ दिने गरेकोले यस्ता अस्पताललाई कडा कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

अस्पतालको लापार्वाहीका कारणले नै वीरगञ्ज छपकैयाकी २० वर्षीया युवतीले उपचारको अभावमा ज्यान गुमाउनु परेको भन्दै उनीहरुले यस्तो अस्पताललाई कारवाही गर्न माग गरेका छन् ।

नारायणी अस्पतालको अगाडि जम्मा भएका स्थानीयहरुले प्रदर्शन गर्न लागेपछि पुगेको प्रहरीले उनीहरुलाई रोकेको थियो । वीरगञ्जमा कोरोना संक्रमितहरुको संख्या लागातार रुपमा बढ्दै गएपछि यहाँका अस्पतालहरुले बिरामी भर्ना गर्न तथा उनीहरुको चेकजाँच गर्न समेत छोडेका छन् । उनीहरुले बिरामीलाई उपचार गर्नुको साटो गेटबाटै फर्काइ दिने गरेका छन् ।

हालसम्म वीरगञ्जमा उपचार नपाएर तीनजनाले ज्यान गुमाउनु परेको छ । पैसा हुनेहरुले हेलिकप्टर चार्टड गरेर काठमाडौँ गएर उपचार गराइरहेका छन् । पैसा नहुने मध्यम वर्गीय तथा गरिब जनताहरु उपचार नपाएर ज्यान गुमाउनु परिरहेको छ ।

जिल्ला प्रशासनले पर्साका सबै अस्पतालहरुलाई बिरामी भर्ना गर्न र छुटै आइसोलेसन बेडको व्यवस्था गर्न निर्देशन दिएको भए पनि त्यो हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस