कामकुरो एकातिर तर, प्रधानमन्त्री ओलीको ध्यान भने ‘कुम्लो बोकी ठिमी तिर’

चितवन माडीका जनप्रतिनिधी बोलाएर प्रधानमन्त्रीले भने, –‘आउँदो रामनवमीमा बृहत् धार्मिक मेला गर्नुस्, अर्को वर्षको रामनवमीमा राम–सीता र लक्ष्मणको विशाल मूर्ति स्थापना गर्नुस्’

सफल खबर संवाददाता

आइतबार, २५ साउन २०७७, ०९ : ४०
कामकुरो एकातिर तर, प्रधानमन्त्री ओलीको ध्यान भने ‘कुम्लो बोकी ठिमी तिर’

काठमाडौं । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर’ भन्ने नेपाली उखान निक्कै प्रचलित छ । प्रधानमन्त्री ओलीका कतिपय कार्यशैली नियाल्ने हो भने यो उखान ठ्याक्कै चरितार्थ हुन्छ । मुलुक कोरोना महाव्याधीसँग जुधिरहेको छ । चेपाङका बस्तीमा निकुन्जले आगो लगाउने र धपाउने काम बर्खाको समयमा गरिरहेको छ । 

बिरामीको अस्पतालले उपचार गर्न अटेर गरेपछि अस्पताल दौडाउदा दौडाउदै मृत्यु भएको छ । कोरोना महामारीका कारण झण्डै एक चौथाई नागरिकले रोजगारी गुमाएका छन् । भेला, सम्मेलन गर्न रोक छ । चलिआएका चाडपर्वलाई समेत आ–आफनै घरभित्रै सिमिति रहेर मनाउन एकातिर सरकारकै निर्देशन छ । तर त्यही सरकारका प्रधानमन्त्रीलाई यी सबै तथ्य, तथ्यांक र घटनाका विषयमा कुनै प्रवाह छैन् । उनलाई मात्र अहिले रस लागेको छ,– चितवन माडीको अयोध्याको । 

उनले शुक्रबार बिहान ११ बजे माडी नगरपालिका ९ का वडाअध्यक्ष शिवहरी सुवेदीलाई टेलिफोन गरे । आफै स्वास्थ्यमा समस्या देखा परेपछि उपचारका लागि चितवन मेडिकल कलेजमा उपचार गराईरहेका बेला प्रधानमन्त्री ओलीको वडा अध्यक्ष सुवेदीलाई टेलिफोन थियो । उनले टेलिफोनमा त्यहाँको चेपाड बस्तीमा निकुन्ज कर्मचारीले वर्षातका समयमा गरेको आगलागीका विषयमा कुनै चासो राखेनन् । बरु भने, –‘अयोध्याका बारेमा मैले त्यसै बोलेको छैन, ठोरी र माडीको क्षेत्रमा नै भगवान रामको जन्म भएको यथेष्ट प्रमाण हामीसँग छन्, बाल्मिकी आश्रम पनि छ, भारतमा राम जन्मभूमि अयोध्याका बारेमा विवाद छ । तर तपाईहरुसँग यसबारेमा म छलफल गर्न चाहन्छु’ . आउनुसहोस काठमाडौं, मेयर साप लगायतका जनप्रतिनिधीलाई बोकेर ।’

प्रधानमन्त्री ओलीले काठमाडौं आउन निम्तो गरेपछि उनले पनि ‘हस्’ भन्दै जवाफ फर्काए । प्रधानमन्त्रीले निम्तो गरेको भोलिपल्टै शनिबार माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकाल लगायतको टोली प्रधानमन्त्री भेट्न काठमाडौं हिडे । एक दर्जन जनप्रतिनिधी र अध्यताहरुको अगुवाई गर्दै मेयर ढकाल लगायतको टोली शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगे । बालुवाटार पुग्दा प्रधानमन्त्रीले माडीका जनप्रतिनिधीलाई बसाल्दै भने, –‘आउँदो रामनवमीमा बृहत् धार्मिक मेला गर्नुस्, अर्को वर्षको रामनवमीमा राम–सीता र लक्ष्मणको विशाल मूर्ति स्थापना गर्नुस् ।’ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई पनि साथमै राखेर प्रधानमन्त्री ओलीले राम माडीको अयोध्यापुरीमै जन्मिएका हुन् ।

यसका अनेक तथ्य र प्रमाण छन् । तपाईहरु मन्दिर बनाउन लाग्नुस् ।  प्रधानमन्त्रीले राम माडीमै जन्मिएको विषयलाई स्थापित गराउनु पर्ने पनि तर्क गरे । ओलीले चेपाड बस्तीका विषयमा कुनै चासो राखेनन् । त्यसपछि वडा अध्यक्ष सुवेदीले बरु प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । तर प्रधानमन्त्रीले भने–‘यस विषयमा अध्ययन समितिहरु बनिरहेका छन, त्यसपछि नै भनौला, अहिले राम मन्दिर बनाउने, बृहत धार्मिक मेला गर्नेतिर सोच्नुहोस ।’ गत भानु जयन्तीका बेला प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित कार्यक्रममा त्रेतायुगका रामको जन्म नेपालमै भएको, उनी नेपाली भएको र अयोध्या विरगन्जको पश्चिमपट्टी ठोरीमा रहेको र भारतले नक्कली अयोध्या जन्माएको भनी अभिब्यक्ति दिएका थिए । 

‘हामी अलिकति सांस्कृतिक हिसाबमा मिचिएका छौं, थिचिएका छौं । तथ्यहरुमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौं, हामी अहिले सीता भारतका राजकुमार रामलाई दियौं भनेर ठानिरहेका छौं । भारतका हैन, अयोध्याकालाई दिएका हौं । अयोध्या भनेको वीरगन्ज भन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । हाम्रोमा विवाद नै गर्न पर्दैन् । जनकपुर त्यहाँ, अयोध्या विरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम (नेपाल) र दशरथबाट सन्तान नभएपछि पुत्रष्टी यज्ञ लगाउने पण्डित जी रिडीका । त्यसकारण दशरथका सन्तान पनि भारतीयका हुँदै होइनन्, ठाउँ पनि भारतीयको होइन । नेपालकै हो । समय समयमा आएर शिक्षा दिक्षा दिने बाल्मिकी आश्रम पनि त्यही छ । जनकपुर त्यही छ ।

यहाको जनकपुर त्यहाँको अयोध्या (भारत) हुन्थ्यो भने कँहाको छोरीको बिहे गर्न खोजेको छ, कहिले के गरेको छ, त्यसबेलाको जमनामा न टेलिफोन न मोबाइल । कताबाट थाहा होस् । थाहा हुन पनि सम्भव थिएन् । नकिजकै अयोध्या (नेपालको) थियो र सजिलैसँग कुरा भयो । र सम्भव भयो । तर त्यो इतिहास बहस गरी साध्य छैन् । यति भनिसकेपछि फेरी के खतराको घण्टी विद्धानहरुले बजाउने हुन् ? रामले सीतालाई अयोध्या (भारतको) बाट त्यत्रो दिन लगाएर बाल्मिकी आश्रममा छोडेको होइन् ।

जंगलमा यसो परतिर लगेर छोडिदिनु भनेको ठाउँमा लक्ष्मण भाउजु लिएर महिनौं हराएका होइनन् । खुर्रर बाल्मिकी आश्रम पु¥याइदिए, फर्किए । दुई, चार दिन हुन सक्ला तर महिनौ लाग्छ , महिनौं हराएका होइनन् ।’ भानुजयन्तीका बेला प्रधानमनत्री ओलीले भनेका थिए । त्यसपछि उनी निक्कै आलोचित बनेका थिए । प्रधानमन्त्रीको अभिब्यक्तिको भोलिपल्टै परराष्ट्र मन्त्रालयले विवादित हुनबाट जोगाउन प्रष्टिकरण नै समेत दिन परेको थियो । 

आफ्नो सत्तामा आईपरेको संकट टार्न ओली अहिले राष्ट्रवादी भएको देखाउन उद्दत देखिएका छन् । त्यही क्रममा उनले रामका विषयमा त्यस्तो टिप्पणी गरेका थिए । अहिले पनि चितवन माडीका जनप्रतिनिधी बोलाएर ओलीले त्यस्तो निर्देशन दिनु पनि काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर कुद्ने प्रधानमन्त्रीको शैली भएको टिप्पणी शुरु हुन थालेको छ । 
 

प्रतिक्रिया दिनुहोस