कोरोना निको भएर घर फर्किएका ९० प्रतिशतमा फोक्सोको समस्या

एजेन्सी

शुक्रबार, २३ साउन २०७७, १३ : ५९
कोरोना निको भएर घर फर्किएका ९० प्रतिशतमा फोक्सोको समस्या

एजेन्सी । कोभिड–१९ कोरोना भाइरसबाट संक्रमित भएर निको भइसकेका १ सय बिरामीमध्ये ९० प्रतिशतमा अझै फोक्सोको समस्या देखिएको एक अध्ययनले देखाएको छ । त्यस्तै, निको भएका ५ प्रतिशतमा फेरि पोजेटिभ नतिजा देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्समा प्रकाशित समाचारमा उल्लेख छ । 

उहान विश्वविद्यालयको झोङनान अस्पतालले अस्पतालका इन्टेन्सिभ केयर युनिटका निर्देशक पेन्ग झियोङको नेतृत्वमा गत अप्रिलयता १ सय जना बिरामीहरुको निरन्तर फलो अप गरिरहेको छ । एक वर्षे कार्यक्रमअन्तर्गत पहिलो चरणको फलोअप जुलाईसमा सकिएको मिडिया रिपोर्टमा उल्लेख छ । यी १ सय जना बिरामीहरुको औसत आयु ५९ वर्ष रहेको छ ।

पहिलो चरणको नतिजाअनुसार ९० प्रतिशत अर्थात् ९० जना बिरामीको फोक्सो अझै क्षतिग्रस्त अवस्थामै छ । जसको अर्थ उनीहरुको फोक्सोको भेन्टिलेशन र ग्यास एक्सचेन्ज कार्य अझै स्वस्थ व्यक्तिहरुको स्तरमा आइसकेको छैन भन्ने हो । 

पेन्गको टिमले बिरामीहरुलाई ६ मिनेट हिँडाएर परीक्षण गरेको थियो । जसअनुसार उनीहरु ६ मिनेटमा ४ सय मिटरमात्रै हिंड्न सकेको देखियो, जबकि स्वस्थ व्यक्तिले यही अवधिमा ५ सय मिटर हिँड्न सक्छन् । दोङजिमिन अस्पतालका डाक्टर लियाङ तेन्गसियओका अनुसार निको भइसकेका केही बिरामीहरु अस्पतालबाट डिस्चार्ज भएको तीन महिनापछि पनि अझै अक्सिजन मेसिनको सहारा लिन बाध्य छन् । 

लियाङको टिमले निको भइसकेका ६५ वर्षमाथिका बिरामीहरुको पनि फलो अप गर्दैछ । बिरामीहरुले डिप्रेसन र केही हदसम्म लोकलाजको पनि सामना गर्नुपरेको मिडिया रिपोर्टमा जनाइएको छ । निको भइसकेका अधिकांश बिरामीकाअनुसार परिवारका सदस्य उनीहरुसँग एउटै टेबुलमा बसेर खाना खाने इच्छा देखाउँदैनन् । निको भएका १ सयमध्ये आधाभन्दा पनि कम व्यक्तिमात्रै काममा फर्केको रिपोर्टमा उल्लेख छ । श्रोतः ग्लोबल टाइम्स