कोरोना सन्त्रास : प्रदेश २ मा थप एकको मृत्यु, ६३ जना सङ्क्रमित

विहीबार, २२ साउन २०७७, २१ : २५
कोरोना सन्त्रास : प्रदेश २ मा थप एकको मृत्यु, ६३ जना सङ्क्रमित

जनकपुर । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी नगरपालिका–५ का ४२ वर्षीय एक पुरुष रहेका छन् । श्वासप्रश्वासमा समस्या हुन थालेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका ती पुरुषको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि धरानतर्फ लग्ने क्रममा बुधबार साँझ बाटोमैं मृत्यु भएको थियो ।

मलेसियाबाट करिब डेढ महिनाअघि आएका उनी आफ्नै घरमा होम क्वारेन्टिन भएर बसेका थिए । पछिल्लो २४ घण्टामा यस प्रदेशमा ११ महिलासहित ६३ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सबैभन्दा बढी ३९ जना पर्सा जिल्लाबाट थपिएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसका साथै धनुषामा नौं, सर्लाहीमा आठ, महोत्तरी र बारामा दुई÷दुई तथा सिरहा, सप्तरी र रौतहटमा एक÷एक जना गरी कूल ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै यो प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ३३५ पुगेको छ । त्यस्तै कोरोना सङ्क्रमणबाट हालसम्म यो प्रदेशमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस