काठमाडौंमा थपिए एकैदिन १०२ जना संक्रमित

पत्रपत्रिकाबाट

विहीबार, २२ साउन २०७७, ०७ : ४१
काठमाडौंमा थपिए एकैदिन १०२  जना संक्रमित

काठमाडौँ । अस्पतालमा शय्या अभावले काठमाडौं उपत्यकामा मंगलबार संक्रमण पुष्टि भएका मध्ये १४ जनालाई घरमै राख्नुपरेको थियो । उनीहरूमध्ये केहीलाई बुधबार बिहान केएमसी अस्पताल दुवाकोट र कीर्तिपुरको आयुर्वेद अस्पतालको आइसोलेसनमा राखियो । उपत्यकामा बुधबार १ सय २ जना संक्रमित थपिए । यीमध्ये अधिकांश उपत्यका बाहिरबाट आएकाहरू हुन् । 

संक्रमित थपिएसँगै व्यवस्थापन गर्न समस्या भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ‘मंगलबारकै संक्रमितलाई व्यवस्थापन गरिसकेका थिएनौं, आज (बुधबार) झन् बढी थपिए,’ ईडीसीडीका निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘अस्पतालमा कतै पनि बेड खाली नभएपछि घरमै बस्न चाहने लक्षण नभएकालाई अनुमति दिएका छौं ।’

ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार बुधबार संक्रमण पुष्टि भएका मध्ये २० जनालाई घरमै आइसोलेसनमा राखिएको छ । मंगलबार पुष्टि भएका ६९ जनामध्ये १५ जनालाई पनि घरमै आइसोलेसनमा राखिएको थियो ।

कोइरालाका अनुसार बुधबार संक्रमण पुष्टि भएका मध्ये ५६ जनालाई मात्रै दुवाकोटको केएमसी, प्रहरी अस्पताल र कीर्तिपुरको आयुर्वेद अस्पतालमा व्यवस्थापन गरिएको छ । संक्रमितमध्ये ३६ जनाको ट्राभल हिस्ट्री ९टाढा आउजाउ० छ । ३२ जनालाई कोरोनाको लक्षणसमेत देखिएको छ । ‘संक्रमित केही गाउँ फर्किसकेछन्,’ कोइरालाले भने, ‘१६ जना सम्पर्कबाहिर छन् ।’

केहीको मोबाइल नम्बर गलत, केहीको मोबाइल स्विच अफ र अन्यको फोन नम्बर नहुँदा खोजी गर्न नसकिएको ईडीसीडीले जनाएको छ । पैसा तिरेर स्वाब दिएका संक्रमितहरूले आफ्नो नाम, ठेगाना र मोबाइल नम्बर नै गलत राख्दा संक्रमितको पहिचान गर्न गाह्रो हुने गरेको छ । उनीहरू घरमै आइसोलेसनमा छन् कि खुलेयाम हिँडिरहेका छन् भनेर निगरानी हुन सकेको छैन । सम्पर्कबाहिर भएकालाई प्रहरीमार्फत भए पनि खोज्ने कोइरालाले बताए । पीसीआर विधिबाट कोरोना परीक्षण गर्न सुरुमा स्वाब दिनुपर्छ । त्यति बेला स्थायी र अस्थायी ठेगाना, मोबाइल नम्बर ल्याबले उपलब्ध गराएको फाराममा लेख्नुपर्छ । कान्तिपुर दैनिकमा खबर छ । 
 

प्रतिक्रिया दिनुहोस