कोरोना संक्रमण समूह–समूहमा

पत्रपत्रिकाबाट

विहीबार, २२ साउन २०७७, ०६ : ४७
कोरोना संक्रमण समूह–समूहमा

काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायबाट समूह समूहमा फैलिन थालेको छ । पछिल्ला केही दिनयता संक्रमण समूह समूहमा देखिँदै गएपछि यसको जोखिम पनि सोही रूपमा बढ्न थालेको हो ।

पछिल्लो २४ घण्टायता थप पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जनस्वास्थ्य विज्ञहरूले संक्रमण तीव्र रूपमा फैलिएको भन्दै सचेत र सतर्क रहन आग्रह गरेका छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण तीव्र रूपमा फैलिएको भन्दै कोरोना जोखिम बिस्तारै समुदायमा प्रवेश गरिसकेको बताए । उनले भने, ‘अन्तरजिल्लामा आवतजावत पूर्णतः बन्द गर्नुपर्छ । भारतबाट नेपाल आउन रोक लगाउनुपर्छ ।’

संक्रमणको उद्गम मानिएको चीनको वुहानबाट नेपाल फर्किएका चिकित्सक तथा अनुसन्धानकर्ता डा. रमेश आचार्यले संक्रमण समुदायबाट समूह समूहमा फैलिन सुरु गरिसकेको बताए । उनले भने, ‘समुदायबाट समूह समूहमा संक्रमण फैलिसकेको छ । समयमा नियन्त्रण गर्न नसकिए स्थिति अझै भयावह भई गम्भीर क्षति बेहोर्नुपर्ने हुन सक्छ ।’ राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस