कोरोनाविरुद्ध खोपको तीव्र तयारी

पत्रपत्रिकाबाट

बुधबार, २१ साउन २०७७, ०७ : ००
कोरोनाविरुद्ध खोपको तीव्र तयारी

काठमाडौं । कोरोना भाइरसको त्रास सम्भवतः अब धेरै रहने छैन । यसलाई रोक्ने सम्भावित खोपहरू विश्वभर विकसित भइरहेका छन् । रुसी अनुसन्धान केन्द्र गमल्याया इन्स्टिच्युटले खोपको क्लिनिकल परीक्षण सकाइसकेको र यसको दर्ताका लागि प्रक्रिया पूरा गर्ने तयारीमा रहेको जनाएको छ । रुसी वैज्ञानिकहरूले उक्त खोपको प्रारम्भिक परीक्षण पूरा भइसकेको र यसका परिणामहरू सफल आएका बताएका छन् । यो खोप ‘भेक्टर भ्याक्सिन’ हो । यसले अन्य भाइरसहरूलाई प्रयोग गरी डीएनए इनकोडिङमार्फत आवश्यक प्रतिरक्षा कोषिका उत्पादन गरी उपचारमा सहयोग गर्छ ।

गत साता अक्सफोर्ड युनिभर्सिटीकी प्राध्यापक सेरा गिल्बर्ट विश्वभर निकै चर्चामा रहिन् । तीन सय जनाको ठूलो समूह बनाएर कोरोना भाइरस विरुद्धको खोप बनाउने अभियानमा नेतृत्व गरिरहेकी गिल्बर्टको समूहले ‘ठूलो सफलता पाएको’ बताइएको छ । सामान्यतया खोप विकासमा पाँच वर्ष लाग्ने चरणहरू गिल्बर्टको समूहले चार महिनामै पूरा गरेको थियो । उनको समूहले १ हजार ७७ जनामा खोपको क्लिनिकल परीक्षण गरिरहेको छ ।

उनीहरूले परीक्षण गरेको खोप मानव स्वास्थ्यका लागि सुरक्षित रहेको र कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकासमा मद्दत पुगेको बीबीसीले जनाएको छ । चिम्पाञ्जीलाई रुघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसको अनुवांशिक सुधार गरेर बनाइएको यो खोप बेलायतले अहिले नै १० करोड मात्रा (डोज) माग गरिसकेको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले आगामी १५ अगस्टमा पर्ने स्वतन्त्रता दिवसमा कोरोनाविरुद्ध खोप मानिसमा प्रयोगका लागि ल्याउने योजना अघि सारेको थियो । खोप विकासको प्रक्रियागत चरण र मापदण्ड पूरा नगरी हतारमा खोप ल्याउन खोजेको भन्दै व्यापक विरोध भएपछि उक्त संस्थाले ‘समयसीमा नतोकिएको’ स्पष्टीकरण दिए पनि खोपको तयारी तीव्र पारिरहेको छ । चीनमा कोरोना भाइरसविरुद्ध बनिरहेको खोपमध्ये एउटा सन् २०२० भित्रै मानव प्रयोगका लागि तयार हुन सक्ने समाचारहरू आएका छन् । अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस