प्लाज्मा थेरापीको दायरा बढाइँदै, १५ अस्पताललाई अनुमति

पत्रपत्रिकाबाट

मंगलबार, २० साउन २०७७, ०८ : ५४
प्लाज्मा थेरापीको दायरा बढाइँदै, १५ अस्पताललाई अनुमति

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १५ वटा अस्पतालमा ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’बाट उपचार प्रक्रिया सामानान्तर रुपमा अगाडि बढाउने भएको छ । विश्वभरि नै कोभिड–१९ बाट सङ्क्रमित भई स्वास्थ्य अवस्था जटिल भएर आईसीयू र भेन्टिलेटरको आवश्यकता हुने बिरामीमा ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’को उपचार पद्धति उपयोगि सिद्ध भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वीकृतिमा तीन वटा निजी तथा १२ वटा सरकारी गरी १५ वटा अस्पतालमा सामानान्तर रुपमा प्लाज्मा थेरापीको अध्ययनमा संलग्न गराई उपचार गर्न अनुमति दिइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार उपचारका लागि अनुमति दिइएको १५ अस्पतालमध्ये आठ वटा काठमाडौँ उपत्यकाका छन् । हाल काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मात्रै प्लाज्मा थेरापी उपचारको परीक्षण गरिएको छ । एकजनाको स्वास्थ्य अवस्थामा ७० प्रतिशत सुधार देखिएको छ । अर्को एक जना उपचारको प्रक्रियामा रहेको अस्पतालमा कोभिड–१९ प्लाज्मा थेरापीका संयोजक डा। सन्तकुमार दासले जानकारी दिनुभयो ।

उपत्यकाबाहिर सात वटा अस्पताललाई उपचारको अनुमति दिइएको छ । परिषद्का कार्यकारी प्रमुख डा। प्रदीप ज्ञवालीले उपत्यकाभित्रका मेडिसिटी, ग्राण्डी र हयाम्स अस्पताललाई ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’को अध्ययनमा सहभागी गराइएको जानकारी दिनुभयो । 

परिषद्का अनुसार उपत्यकाको काभ्रेस्थित धुलिखेल अस्पताल, त्रिवि शिक्षण अस्पताल–महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल अस्पताल–टेकु, भक्तपुर अस्पताललाई उपचारका लागि अनुमति दिइएको छ । उपत्यकाबाहिर बीपी कोइराला स्वास्थ्य विज्ञान संस्थान–धरान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान–जुम्ला, नेपालगञ्ज मेडिकल कलेज, कोशी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, भेरी अस्पताल र सेती अस्पतालले प्लाज्मा थेरापीबाट उपचार गर्न पाउनेछन् ।

परिषद्ले यसअघि नै अध्ययनसँगै प्लाज्मा थेरापीबाट उपचार गर्न चिकित्सकहरूलाई प्रशिक्षण दिएको थियो । परिषद्का प्रमुख डा। ज्ञवालीले १५ वटै अस्पतालबाट दुई दुई जना चिकित्सकलाई अध्ययनमा सहभागी गराइएको जानकारी दिनुभयो । प्रत्येक अस्पतालबाट एक प्रमुख फिजिसियन र अर्को संयोजक गरी दुई जना अध्ययनमा सहभागी भएका थिए । डा। ज्ञवालीले अस्पतालमा जटिल प्रकारको बिरामीको चाप र माग अनुसार अस्पतालको सङ्ख्या घटबढ हुने प्रष्ट्याउनुभयो । ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’बाट उपचार गर्दा बिरामी र रक्त दाता दुवैको मञ्जुरी आवश्यक हुने परिषद्ले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस