भरतपुरस्थित सिजी ल्याण्डमार्क अब पूर्णरुपमा खुल्ला

सफल खबर संवाददाता

आइतबार, १८ साउन २०७७, १२ : ०५
भरतपुरस्थित सिजी ल्याण्डमार्क अब पूर्णरुपमा खुल्ला

चितवन । छोटो समयमै सर्वसाधारणको मन जित्न सफल चितवनको भरपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्क पूर्णरुपमा खुलेको छ । 

चैत ११ को लकडाउनसँगै पूर्ण रुपमा बन्द भएको मलमा ब्रान्डेड सामानको कारोबार गर्ने व्यवसायीले यसअघि आफ्ना ग्राहकको माग बमोजिम सीमित समय पसल खोलेर सेवा दिँदै आएका थिए । 

अहिले भने सिजी ल्यान्डमार्क पूर्ण रुपमा खुलेको मल मेनेजर उज्ज्वल केसीले जानकारी दिएका छन् । सिजी ल्यान्डमार्क चितवनमा विश्वविख्यात ब्रान्डका सामान उपलब्ध गराउने एकमात्र अत्याधुनिक सपिङ केन्द्र हो । सञ्चालनमा आएको छोटो समयमै यसले सर्वसाधारणको मन जितेको छ ।

मल व्यवस्थापनले सामाजिक दुरी, माक्स, स्यानिटाइजर, जस्ता सुरक्षा सामग्रीको पर्याप्त व्यवस्था तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गरेर मल पुनः खोलेको जनाएको छ । व्यवसायीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा गरे÷नगरेको सुरक्षाकर्मी र सिसी क्यामेरामार्फत निगरानी गरिने केसीको भनाइ छ । मल व्यवस्थापनले सामाजिक दुरीको लागि मार्किङ, स्यानिटाइजर र साबुन पानीको व्यवस्था गर्नुका साथै मलका रेलिङ लगायत छोइने वस्तुहरुलाई नियमित रुपमा निःसंक्रमित गर्ने गरेको केसीले जानकारी दिए । 

‘हामीले ग्राहक महानुभावहरुको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिएर कारोबार सुरु गरेका छौं,’ केसीले भने, ‘जोकोहीले पनि निर्धक्कसँग मलमा आएर आफ्नो आवश्यकता अनुसार वस्तु र सेवा लिन सक्नुहुन्छ ।’ मलका पसल कवल, फुडकोर्ट, रेस्टुरेन्ट लगायत सरकारले अनुमति दिएका सबै व्यवसाय सञ्चालनमा आएका छन् । 

मुलुकका प्रतिष्ठित व्यवसायी तथा सांसद विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुप अन्तर्गतको उक्त मलले सांसद चौधरीकै निर्देशनमा त्यहाँका व्यवसायीलाई लकडाउन अवधिभरको कवल भाडा छुट दिएको थियो । 

प्रतिक्रिया दिनुहोस