बाढी बस्तीमा पस्यो, चारजना बेपत्ता

रासस

विहीबार, १५ साउन २०७७, ०८ : ४९
बाढी बस्तीमा पस्यो, चारजना बेपत्ता

गोदावरी । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रका धेरैजसो भूभाग जलमग्न भएको छ । अविरल वर्षाका कारण जिल्लाका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा परेका छन् भने चार जना बेपत्ता भएका छन् ।

जिल्लाको भजनी नगरपालिकाका फरक-फरक ठाउँमा चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार  भजनी नगरपालिका–८ सोनाफाँटा क्षेत्रका चार जना बगेर बेपत्ता भएका छन् । भजनी–८ सोनाफाँटाका ठग्गु चौधरीका ११ वर्षीय नाति स्केल चौधरीसहित चार जना बेपत्ता भएका हुन् । 

बेपत्ताको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनक धामीले बताए । बाढीले भजनीमा थप दुई जना बेपत्ता रहेकोमा उनीहरुको सकुशल उद्धार गरिएको उनले बताए । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले बुधबार साँझसम्म बाढीका कारण जिल्लाभर ७०० बढी घर प्रभावित भएको जनाएको छ । प्रभावित घरपरिवारलाई नजिकैको विद्यालय र सामुदायिक भवन स्थानान्तरण गरेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । 

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतलाई परिचालन गरी उद्धार सहित राहत सामग्री वितरण गरेको उनको भनाइ छ । यसैगरी कान्द्रा नदीमा आएको बाढीले भजनी–८ मा एक हजार ८०० विस्थापित भएका छन् । उनीहरुलाई नजिकै अग्लो ठाउँमा रहेको हुलाकी सडकमा त्रिपाल टाँगेर राखेको जनाइएको छ । जिल्लाको कान्द्रा, काडा र पथरैयालगायतका नदीमा पानीको बहाव बढेपछि  भजनी, टीकापुर, लम्की र जोशीपुर गाउँपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् ।

जल तथा मौसम विज्ञान विभाग अत्तरियाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।