एनआईसी एशिया बैंकले शुरुवात गर्यो 'डिजिटल खाता प्रणाली'

सफल खबर संवाददाता

सोमबार, १२ साउन २०७७, १२ : २१
एनआईसी एशिया बैंकले शुरुवात गर्यो 'डिजिटल खाता प्रणाली'

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ संचालित एन आई सी एशिया बैंकले डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘डिजिटल खाता प्रणाली’ सुरुवात गरेको छ ।

बैंकले आज एक प्रेस विज्ञप्ती जारी गर्दै संचालनमा ल्याइएको डिजिटल खाता प्रणाली मार्फत भौतिक फारमको सट्टा खाता खोल्नको लागि आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरी बचत खाता सहज तरिकाले खोल्न सक्ने व्यवस्था मिलाईएको बैंकले जनाएको छ । बैंकका अनुसार यसरी खाता खोल्दा सेवाग्राहीहरूले बैंकले सुविधा प्रदान गरेको ९ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनाहरूमध्ये आफुले इच्छाएको खाता छनौट गरी बिना झन्झट आफ्नो खाता डिजिटल रुपमा खोल्न सक्नेछन् ।

कम्प्युटरमा दक्षता नपुगेका ग्राहकलाई बैंककै कर्मचारीहरूको सहयोगमा खाता खोल्न सकिने समेत व्यवस्था बैंकले गरेको छ । डिजिटल खाताकै लागि बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमा छुट्टै डिजिटल लबीको व्यवस्था समेत गरेको छ । देशकै पहिलो ‘डिजिटल बैंक’ बन्ने दीर्घकालीन लक्ष्यअनुरुप डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबारलाई बढाउनुका साथै आफ्ना अधिकतम सेवाहरूलाई डिजिटल माध्यममा लैजाने उद्येश्य अनुरुप यो सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ । यसरी खाता खोल्दा सेवाग्राहीले लामो फारम भर्ने तथा आफ्नो पालो कुरेर बस्ने झन्झटबाट मुक्ति मिल्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताए ।

बैंकले यसअघि ‘आईसर्भ’ प्रणालीमार्फत सेवाग्राहीले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफुले चाहेको यस बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाईन प्रणालीको शुभारम्भ गरिसकेको छ । पहिलो ‘डिजिटल बैंक’ बन्ने अभिप्राय अनुरुप बैंकले आफ्नो कार्यालयमा कागजबिहिन वातावरणको सृजना गर्दै सरकारले आव्हान गरे नगदरहित अर्थतन्त्र अवधारणालाई सहयोग पुग्ने विश्वास लिएको छ । 

डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्न बैंकले मोबाइल बैंकिङ्ग वा कार्डहरूमार्फत देशभरका २,५०० भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा कारोबार गर्दा  कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था समेत मिलाएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताए ।  मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६५ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएको जनाएको छ ।  बैंकको २१ लाख भन्दा बढी ग्राहक रहेका छन् । बैंकका अनुसार प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस