प्रधानमन्त्री ओलीले भीम रावललाई बालुवाटार बोलाएर के भने ?

विगतको स्मरण गराउदै आफुलाई सहयोग गर्न आग्रह

सफल खबर संवाददाता

सोमबार, १२ साउन २०७७, ०९ : ४५
प्रधानमन्त्री ओलीले भीम रावललाई बालुवाटार बोलाएर के भने ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई केही अगाडीसम्म आफ्नै पार्टीभित्रका नेता भीम रावलको नाम सुन्ने बित्तिकै टाउको दुख्थ्यो । कारण रावलले ओलीको पार्टी र सरकार सञ्चालनमा खरो आलोचना गर्दै आएका थिए  ।  साना साना सरकारका कमजोरीमा पनि तथ्यसहित खरो बहस र आलोचनामा उत्रन सक्ने रावल ओलीका लागि सोही कारण पनि टाउको दुखाईको विषय बनेको थियो ।

त्यसमाथी अमेरिकी विकास र सहयोग सम्बन्धी नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)का विषयमा रावलले लिएको अडानले ओलीको योजनामा करिव व्रेक नै लागेको थियो । एमसीसीलाई पार्टीभित्रकै रावल, देव गुरुड र लिलामणि पोखरेल कै कारण निक्कै बहसमा पुगेको थियो । सट्कसुटुक्क एमसीसी पारित गर्ने ओलीको योजना त्यसैकारण व्रेक लागेको थियो ।

रावल लगायत नेताहरुले नै एमसीसीलाई राष्टव्यापी बहसमा लाने काम गरे । जुन ओलीका लागि पाच्य थिएन । जसकाकारण ओली र उनको सचिवालयका नेताहरु भीम रावलमाथी खनिन थालेका थिए । त्यही बीच रावल लगायत नेकपाका २० जना स्थायी समिति सदस्यले ओलीको कार्यशैली र उनले गत वैशाख ८ गते अगाडी ल्याएको अध्यादेश प्रकरणमा छलफलका लागि पार्टी स्थायी समिति बैठक बोलाउन माग गरेका थिए ।

त्यही माग अनुसारकै गत १० असारबाट शुरु भएको बैठक अहिले सम्म पनि नेकपाभित्र जारी छ । कुन विन्दुमा पुगेर यो बैठकले पूर्णविराम लगाउला भन्ने कुनै नेताले बताउन सकिरहेका छैनन् । यही बेला रावलले प्रधानमन्त्री ओलीको आलोचनामा २९ बुँदे आरोपसहितको १३ पृष्ठ लामो प्रतिवेदन नै तयार पारेर ओलीको राजीनामा माग गर्ने कुरा २० स्थायी समिति सदस्यको छलफलमा प्रस्तुत गरेका थिए । त्यसलाई मात्रिका यादव लगायत नेताहरुले साथ दिएका थिए ।  ओलीका खरो आलोचक देखिएका रावललाई समेत ओलीले अहिले फकाउने रणनीति अन्र्तगत बालुवाटारमा बोलाएर झण्डै एक घण्टा छलफल गरेका छन् ।

छलफल शुक्रबार भएको हो । ओलीले रावललाई बालुवाटार निम्ताए । यस अगाडी पनि पार्टी बैठकका क्रममा रावलसँग छुट्टै छलफल गर्ने बताएका थिए, प्रधानमन्त्रीले ।  बालुवाटार रावललाई मात्र होइन, पछिल्ला दिनमा ओलीले सुरेन्द्र पाण्डे, वर्षमान पुन, घनश्याम भुषाल, योगेश भट्टराई लगायतका नेतालाई पनि छुट्टाछुट्टै बोलाएर छलफल गरेका छन् । रावलसँगको छलफलमा भने प्रधानमन्त्रीले विगतको स्मरण गराउदै आफुलाई सहयोग गर्न आग्रह गरेको बालुवाटार स्रोतले बतायो ।

रावलको विद्यार्थी राजनीति देखिका प्रसंग उप्काउदै प्रधानमन्त्री ओलीले नेताहरु जुँधेर होइन, मिलेरै अगाडी बढ्नुपर्ने र लेनदेन एकोहोरो नभई दोहोरो हुने  र आफु जुनकुनै मन्त्रालय रोजेर रावललाई दिन तयार रहेको पनि बताएका थिए ।एकोहोरो सम्वाद गरेका प्रधानमन्त्रीले रावललाई आफ्नो कुरा सुनाएर फेरी दुई नेता बसेर अझै छलफल गर्ने बताएर फर्काएका छन् ।

त्यसक्रममा ओलीले पार्टी प्रचण्डले बिगारेको, पूर्व एमालेभित्र खेलेर निर्णायक बन्न खोजेको जस्ता कुरा गरेको पनि स्रोतको दाबी छ । तर रावलले एक घण्टा छलफलमा ओलीका कमजोरीकै विषयमा टिप्पणी गरेपनि प्रधानमन्त्रीको ललिपपमा कुनै टिप्पणी नगरि फर्केको बताइन्छ । बालुवाटार छलफल पछि रावलले त्यहाँ भएका छलफलका विषयमा वरिष्ठ नेता नेपाललाई पनि जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस