एसिड घटना बारम्बार, विक्री वितरणमा नियमन खोई ?

पत्रपत्रिकाबाट

आइतबार, ११ साउन २०७७, ०७ : ४७
एसिड घटना बारम्बार, विक्री वितरणमा नियमन खोई ?

काठमाडौँ । घटना भएपिच्छे एसिडको खुला बिक्री वितरणलाई बन्देज गरिनुपर्ने बहस चल्छन् । सेलाउँछन् । नियमनमा सरकार गम्भीर नहुँदा यो घातक रसायन प्रतिशोध साध्ने हतियार बनेको देखिएको छ ।

पछिल्ला ७ वर्षमा देशका विभिन्न भागमा १९ युवती र ३ पुरुषमाथि एसिड प्रहारका २१ घटना भएका छन् । तिनमा छ्यापिएको एसिड सुनचाँदी पसल, हार्डवेयर र ब्याट्री मर्मत केन्द्रबाट सस्तो मूल्यमा सजिलै किन्न पाउँदा दुरुपयोग भएको देखिन्छ । सहज उपलब्धताले पीडकहरूले हात पारेर आवेशमा एसिड प्रहारका घटना भइरहेका छन् ।

घातक मानिएका हाइड्रोक्लोरिक र सल्फ्युरिक एसिडको बिक्रीवितरणलाई नियमन गरी कडाइ गर्न २०७६ साउन २६ मा सर्वोच्च अदालतले सरकारलाई आदेश गरेको थियो । सल्फ्युरिक एसिड हार्डवेयरमा र नाइट्रिक एसिड सुन पसलमा सजिलै पाइन्छ । केही घटनामा पीडकले तिनै पसलबाट एसिड किनेको देखिन्छ । बारम्बार घटना हुँदै आए पनि सरकारले एसिडको बिक्रीवितरणलाई नियमन गर्न नसकेको घटनाहरूको अध्ययनबाट थाहा हुन्छ ।

गत बिहीबार साँझ सीतापाइलाबाट फर्किने क्रममा २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको घटनाका मुख्य अभियुक्त मोहम्मद आलमले कहाँबाट किनेका थिए भन्ने प्रस्ट भइसकेको छैन । तर सुरुवाती बयानमा उनले आफ्नो गार्मेन्ट फ्याक्ट्रीमा वर्षौं पहिले ट्वाइलेट सफा गर्न किनेको एसिड नै छ्याप्न प्रयोग गरेको बताएका थिए । दोस्रो बयानमा भने आफूले केही वर्ष पहिले मेसिन सफा गर्न काम लाग्छ भनेर एसिड किनेर राखेको बताएका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूले उनको कारखानामा छापा मार्दा एसिड पहिल्यै किनेर राखिएको भन्ने बलियो सबुत फेला परेन ।

वृत्तका डीएसपी नीरञ्जन भट्टले भने, ‘उनले एसिड कहाँबाट ल्याए भनेर यकिन भइसकेको छैन ।’ उनका अनुसार आलमले पठाएका मुन्ना महमदलाई गोजीमा अट्ने रक्सीको बोतलमा २ सय एमएल जति एसिड राखेर दिएको देखिन्छ । बोतलको मुख सानो भएकाले मुन्नाले छ्यापेपछि पनि थोरै एसिड बोतलभित्रै थियो, जसलाई उनले राति नै विष्णुमती खोलामा लगेर फ्याँके । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस