– नारायण ढुङ्गाना
काठमाडौं । गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपाली मुलुकले बाढी पहिरोबाट ठूलो जनधनको क्षति व्यहोरेको छ ।
प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपद्मा १८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१ बेपत्ता छन् । विपद्मा परेर २७८ घाइते भएका छन् । यसपाली सबैभन्दा बढी पहिराले क्षति गरेको छ । पहिराका कारणमात्रै १२८ जनाले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।
वैशाखयता पहिराबाट मात्रै १२८ को मृत्यु भएको छ, ४४ बेपत्ता छन्। यस्तै ११४ जना घाइते छन् । बाढीबाट ६ को मृत्यु, ७ बेपत्ता र ३ घाइते छन् । चट्याङ लागेर ४७ जनाको मृत्यु भएको र १ सय ६१ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।
मनसुन शुरु भएको समय (जेठ ३१) पछि साउन ९ गतेसम्म भने पहिराले धेरै मानिसको ज्यान लियो। त्यसपछि चट्याङले बढी मानवीय क्षति भएको छ । सो अवधिमा बाढी, पहिरो र चट्याङका कारण १४१ जनाको मृत्यु भएकामा पहिराले मात्रै १२६ जनाको ज्यान लियो । बेपत्ता भएका ५१ मध्ये ४४ जना पहिरामै परेको पोखरेलले जानकारी दिए । बेपत्ताको अहिले पनि खोजी जारी छ ।
उक्त अवधिमा पहिरामा परेर ११३ जना घाइते भएका प्राधिकरणले जनाएको छ । यस्तै बाढीका कारण ३ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । चट्याङ परेर १७ जनाले ज्यान गुमाए भने ४२ घाइते भएको प्राधिकरणले जनाएको छ । पछिल्लो १० वर्षमै मनसुन पछिको उक्त अवधिमा सबैभन्दा बढी पहिराको क्षति भएको पोखरेलले बताए । उनका अनुसार यसपाली भेल पहिरोले नसोचेको ठाउँमा ठूलो क्षति भएकाले त्यस्ता जोखिमपूर्ण स्थानमा बस्दा वर्षाका बेला सचेत हुनुपर्ने देखिएको छ ।
मनसुन शुरु भएकै दिन पर्वतमा जेठ ३१ गते भेल पहिरोमा परेर ९ जनाको मृत्यु भयो । त्यसपछि पाल्पा, बझाङ, जाजरकोट, कास्की, सिन्धुपाल्चोक, गुल्मी, लमजुङ र म्याग्दीमा ठूला-ठूला पहिरो खसेर धनजनको ठूलो क्षति भएको हो । यसपाली गत असार २५ देखि २९ सम्म र साउन ४ देखि ६ गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षा भएको थियो ।
सरकारले विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको छ । यस्तै विपद्मा मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख रूपैयाँ दिने र एकै परिवारका अन्य व्यक्तिको पनि मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाख रूपैयाँका दरले दिने निर्णय गरिसकेको छ । राहत तथा आवास व्यवस्थापनलाई अहिले सरकारले तीव्र रुपमा अघि बढाएको गृह मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कहाँ के भयो ?
पछिल्लो २४ घण्टामा मुलुकमा विपद्का २२ घटना भएका छन् । ती घटनामा परेर एकको मृत्यु, दुई बेपत्ता र तीनजना घाइते भएका छन् । प्राप्त विवरणअनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–८ मा रहेको एक कच्ची घर वर्षाका कारण भत्किन गई त्यसमा च्यापिएर १ जनाको मृत्यु भएको छ । सोही नगरपालिका–५ दुईपीपल माझगाउँमा पहिराले पाँच घर पुरिँदा केही पशुचौपाया पुरिएका प्राधिकरणले जनाएको छ ।
दार्चुलाको महाकाली नगरपालिका–३ बडाली गाउँमा घरबाट बजार आउने क्रममा पहिरामा परेका दुई बालबालिकामध्ये एकजनालाई घाइते अवस्थामा उद्धार गरिएको छ भने एकजना हराइरहेका छन् । यस्तै गोरखाको तिसेङखोलामा पानीको बहाव अचानक बढ्न गई एक जनालाई बगाएर बेपत्ता बनाएको जनाइएको छ । उदयपुर, महोत्तरी, बर्दिया, पाल्पा, रोल्पा, नवलपरासी, रौतहट, हुम्ला र कञ्चनपुरमा पनि विपद्का घटना भएको जनाइएको छ । ठाउँठाउँमा पहिरो र बाढीले राजमार्ग अवरुद्ध रहेकाले कतिपय सञ्चालनमा आएको र कतिपय सञ्चालनका क्रममा रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० साउन २०७७, १७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
बाढीले उपल्लो मुस्ताङमा ४ वटा पुल बगायो, २ पुलमा क्षति
प्रधानमन्त्री ओलीले गरे रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
नारायणी किनारमा बाढीको जोखिम छ,सचेत रहनु: चितवन प्रशासन
टेक्सासमा बाढीका कारण मर्नेको संख्या १०० नाघ्यो, ३० भन्दा बढी बेपत्ता
रसुवामा बाढी : उद्धारमा खटिएका ३ प्रहरी र केही मजदुर सम्पर्कविहीन