पत्रकार महासंघले बोलायो राष्ट्रिय भेला

सफल खबर संवाददाता

विहीबार, ०८ साउन २०७७, २२ : ००
पत्रकार महासंघले बोलायो राष्ट्रिय भेला

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय भेलाको आह्वान गरेको छ । महासंघले आगामी भदौ २ र ३ गते बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको हो । महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय समितिको दसौं पूर्ण बैठकले सो निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी दिए । 

कोरोना महामारीका कारण गत वैशाखका लागि तय भएको महासंघको राष्ट्रिय भेला स्थगित भएसँगै महासंघको सांगठनिक गतिविधि प्रभावित भई २६औं महाधिवेशनको मिति तय गर्न समेत कठिनाई उत्पन्न भएकाले ती गतिविधिहरुका बारेमा निर्णय लिन बैठक बोलाइएको उनले बताए । 

बैठकले लकडाउनका कारण गत चैतभित्र सम्पन्न हुन नसकेको महासंघको नयाँ सदस्यता सिफारिश र सदस्यता नवीकरणको म्याद साउन मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ । 
यस्तै कोरोना माहामारीको कारण देखाउँदै सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुलाई दबावपूर्ण बेतलबी बिदामा राख्ने, निष्कासन गर्ने, पारिश्रमिक कटौती गर्ने र काम गर्ने वातावरण बिथोल्ने गरेको सन्दर्भमा आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ । 

यस्तै निरन्तर पाँच वर्ष एउटै सञ्चारमाध्यममा कार्यरत स्ट्रिन्जरलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चारगृहहरुलाई पत्राचार न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैगरी कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असरका सम्बन्धमा महासंघले अध्ययन पनि गर्ने भएको छ भने संस्थाले स्थापना गरेको आपतकालिन कोषमा महासंघ केन्द्रका तर्फबाट तीस लाख र महासंघ बेलायत शाखाबाट बीस लाख जम्मा भइसकेका पनि विष्टले जानकारी दिए । यस कोषमा स्वैच्छिक योगदान गर्न चाहने महासंघका शाखाहरु र सरोकारवालाहरुलाई साउन मसान्तभित्र सो कोषमा रकम जम्मा गर्न आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ । 

महासंघले लोककल्याणकारी विज्ञापन वापत बढाइएको रकम उपलब्ध गराउन, अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरणलाई सरलीकृत गर्न, स्वरोजगारमूलक सञ्चारमाध्यमलाई सहुलियतपूर्ण ऋण लगायतका आवश्यक राहत उपलब्ध गराउन र प्रेस पास वितरणलाई सरलीकृत गर्न पनि सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस