– सन्तोष शर्मा
बनियानी । झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर तीन बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका दुई छोरा १५ वर्षीय करण र १२ वर्षीय अर्जुन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
बुधबार दिउँसो घरबाट खेल्न निस्किएका अंकुश अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा राति ७ बजे पोखरीमा डुबेर मृतावस्थामा फेला परेका थिए । उनीसँगै बेपत्ता भएका करण र अर्जुनको खोजतलास गर्ने क्रममा आज सोही पोखरीभित्र गाडिएको अवस्थामा भेटिएका थिए । दुवै बालकको शव निकालिएको प्रवक्ता थापाले बताए । उक्त पोखरीमा माछा मार्न र पौडी खेल्न तीनै जना बालकसँगै गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पोखरीमा डुबेर एकै गाउँका तीन बालकले ज्यान गुमेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरवाहीले खाल्डो दलदलमा परिणत भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । मृतक अङ्कुश एसियन स्टार बोर्डिङ स्कूल र थामी दाजुभाइ सगरमाथा माविमा अध्ययनरत थिए ।
निर्माण कम्पनीले मापदण्ड नअपनाउँदा घटना भएको मृतक बालक अङ्कुशका काका आशिष तामाङले बताए । “भतिजसहित अन्य दुई बालकको मृत्यु भद्रपुर नगरपालिका र निर्माण कम्पनीको चरण लापरवाहीको कारण भएको हो”, उनले भने, “निर्माण कम्पनीले कम्तीमा सुरक्षाको मापदण्ड किन अपनाएन र बर्खाको बेला त्यहाँ कम्पनीले कर्मचारी राख्नु पर्दैन ? ।”
तीन बालकको मृत्युले वडावासी नै शोकमा डुबेको स्थानीय फागु सुब्बाले बताए । उनले भने, “निर्माण कम्पनीको लापरवाहीले नै गाउँमा यस्तो ठूलो घटना भयो, यसका लागि हामी कानूनी उपचारमा जान्छौँ ।” कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणका लागि भद्रपुर नगरपालिकाले ठेक्का लगाएको थियो । निर्माण कम्पनी आरएण्डसी नयाँ युग जेभीले रु चार करोड ३८ लाख तीन हजार ५७९ मा २०७८ असारसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०८ साउन २०७७, १८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु
भ्यानको ठक्करबाट महिलाको मृत्यु
ओखलढुंगामा करेन्ट लागेर एकको मृत्यु
दाङमा गाडीले च्यापेर एक जनाको मृत्यु
गाडी ‘ब्याक’ हुँदा एक जनाको मृत्यु