प्रजनन् शक्तिको लागि अभिशाप : पत्रु आहार, पत्रु विहार, पत्रु सोचविचार

विहीबार, ०८ साउन २०७७, ११ : १६
प्रजनन् शक्तिको लागि अभिशाप : पत्रु आहार, पत्रु विहार, पत्रु सोचविचार

सांकेतिक तस्विर

– डा. किरण पौडेल

जन्मेका नवजात शिशुलाई आफ्नो आमाको दूध नखुवाई बजारमा अनेक प्रकारका प्याकेटहरुमा उपलब्ध पाउडरका दूध खुवाएको देख्नु भएको, खुवाउनु भएको वा सुन्नु भएकै होला । आफ्नो कार्य व्यस्ततामा बच्चा जन्मनु भनेको काम गर्ने शैलीमा वा काममा रुकावट सरी मानेर नवजात शिशुलाई अरुकै भरमा लालनपालन गर्न दिने पश्चिमी समाजको विशेषता बन्दै गएको थाहा नै छ । यस प्रकारको व्यवहारले त्यस समाजमा आफु कति व्यस्त छु भनेर देखाउने आधार बनेको छ । समाजमा आफ्नो धनधान्यको व्याख्या गर्नको लागि र आफ्नो प्रसिद्धिको झलक देखाउन पनि नवजात शिशुलाई अरुको भरमा लालनपालन गर्दै आएका पनि सुनिन्छ र देखिन्छ । यो पश्चिमी समाजको प्रभाव हाम्रो समाजमा पनि राम्रैसँग परेको छ ।

नवजात शिशुहरु जन्मन्छन र ती शिशुलाई आफ्नै आमाले केही समयकालको लागि स्तनपान गराएतापनि बच्चाको वृद्धि विकासको लागि पूर्ण समय स्तनपान गराउँदैनन् । नेपाली उच्च घरानामा यो सामान्य जस्तै भएको छ । गरीब समाजमा आमाको नै पोषण राम्रोसँग नभएको हुनाले शिशुले पनि आवश्यक मात्रामा स्तनपानको सेवन गर्न पाउदैनन् । मध्यम वर्गीय समाज पनि यस विषयबाट अछुतो छैन । 

तथ्यांक हेर्दा ४२ दशमलव ८० प्रतिशत शिशुहरु आमाको स्तनपानमा निर्भर नभई अन्यत्रको दूधसँग निर्भर भई जिवनको सुरुवात गर्दछन् । विश्वमा ६० प्रतिशत शिशुहरु आमाको स्तनपान गर्न पाउँदैनन् । शिशुहरु जन्मेदेखि नै आफ्नो शरीरलाई हित गर्ने माताको स्तनपान गर्न नपाउँदा कुपोषणजन्य अनेक रोगहरुको सिकार हुन पुग्दछन् ।

नेपालको तथ्यांकमा शिशुहरु जन्मेको एक महिना भित्रमा ७ दशमलव ५ प्रतिशतले स्तनपानलाई अरु द्रव्य आहारले विस्तापित गर्ने गरेको देखिन्छ भने १७ प्रतिशत शिशुले छ महिना र २३ दशमलव ८ प्रतिशत शिशुले नौ महिनामा स्तनपान छोडी बाहिरी खानाको प्रयोग कमसेकम दिनमा एक पटक गरेको पाईन्छ ।

बजारमा उपलब्ध अनेक प्रकारका पाउडर दूध, प्याकेटमा उपलब्ध दूध, पोषण तत्व भनेर बेचिने पाउडरहरु नवजात शिशुका लागि दुग्धरुपी विष समान हो । यस्ता पाउडर युक्त दुधहरुको विश्व बजार धेरै ठूलो र फस्टाउँदो  छ । 

पत्रु भनेको बासी, सडेगलेको, तयार गरिएको भन्ने बुझिन्छ । यस्ता प्याकेटहरुमा सहजै उपलब्ध हुने आहार शिशुको हितमा हुँदैन । यस्ता आहारहरु मातापिताले शिशुको लागि जिवनभर रहने विष समानको आहार खुवाई रहेका हुन्छन् । यस्ता आहार खुवानाले आमाबुबाले शिशुलाई जन्मने वितिक्कै रोगको उपहारको पोको दिए समान हुन्छ । यस्ता प्याकेटमा उपलब्ध पोषण तत्व भनिने आहारहरु पच्नलाई लामो समय लाग्दछ । शिशुको पाचन प्रणाली धेरै विकसित नभैसकेको हुनाले शिशुको शरीरमा हानि गर्छ । दिर्घकालिन रोगहरु जस्तै मधुमेह, दम, छातिको रोग, शरीरको प्रतिरक्षा प्रणाली कमजोर गर्ने र जिवनको अन्तिम समय वृद्धावस्थामा उत्पन्न हुने रोगहरु त्यस अबोध शिशुलाई आमा बुबाले जन्मनासाथ उपहार जसरी प्रदान गर्दछन् । यसमा शिशुको दोष हुन्न आमाबुबालाई यो कुरा थाहा हुँदा पनि पत्रु आहार खुवाउने आमाबुबाको सोचलाई पनि पत्रु मान्नुपर्छ ।

शिशु जन्मेपश्चात् दोस्रो महिनाको अन्तिम समयसम्म स्तनपायी आमाको दूध नै सेवन गराउनु पर्छ । मातृ स्तनपान शिशुको लागि सुपाच्य, बलबर्धक, संक्रमणरहित, माताको स्तन क्यान्सररोधक, गर्भाशयको प्राकृत स्थिति स्थापक, शिशुको बलबर्धक र शिशु र आमाबिचको स्नेह तथा माया प्रेम बढाउने हुन्छ । 

यदि शिशुको जन्म भएको तर माताको मृत्यु भएकोमा, गम्भिर रोगबाट ग्रसित भएकोमा, दूध नआएकोमा वा विकृत आएकोमा हाम्रो समाजमा धाई आमाको ब्यवस्था गरेर शिशुलाई दूध सेवन गराएको कुरा त सुन्नु भएकै होला वा भोग्नु भएकै होला, यो सबैभन्दा उत्तम व्यवस्था हो । यदि धाई आमाको पनि व्यवस्था हुन नसके गाईको, भैँसीको वा बाख्रीको दूध सेवन गराउन सकिन्छ, यो प्याकेटको पाउडर दूधभन्दा अति हितकर हुन्छ ।
बालबालिकाहरुको एक वर्ष आयु हुँदा खिचडी, हलुवा, दूध, भात, मूंगको दाल, दूधमा भिजाएको गहुँको रोटी खानाको रुपमा दिनु हितकर हुन्छ । आलु, लौका, परवल, पालुंगो जस्ता सहजै पच्ने सब्जीहरु, केरा, आँप, मेवा, जस्ता फलफुलहरु खान दिनु पथ्य हुन्छ । बच्चाहरूलाई पोषक लिटो जस्तैः पुरानो चामल, गहुँ, जौ भुटेर दुध, घिउ तथा थोरै नुन राखेर लिटो बनाई खान दिनुपर्दछ। यो पुष्टिबर्धक, सहजै पच्ने र बालबालिकाहरुको लागि अत्यन्तै हितकर हुन्छ । हाल उपलब्ध सर्वोत्तम लिटो बालबालिकाहरुको लागि लाभकर हुन्छ । सरकारद्वारा विद्यालयमा बालबालिकाहरूको लागि उपलब्ध गराईएको लिटो, पत्रु खानाको अगाडि अमृत समान हुन्छ ।

पाउडर दूधमा जीवन शुरु गरेका शिशुहरु बढ्नासाथ दोस्रो तहको पत्रु आहारको शिकार हुन्छन्  । घरबाहिर सहजै उपलब्ध चाउचाउ, चाउमिन, मम, पिज्जा, कोकाकोला, फोन्टा, स्प्राईट, ईनर्जी ड्रिंक्सहरु, बर्गर, दालमोठ, केक जस्ता पत्रु खानपिन बालबालिकाहरुको स्वास्थ्य प्रत्यक्ष हानि गर्ने खानपिनहरु हुन् । यस्ता पत्रु आहारमा पोषण तत्वको मात्रा शुन्य, बोशिय तत्व, नुनको मात्रा, चिनिको मात्रा, अमिलोपनको मात्रा अधिक हुन्छ । यस्ता आहारहरु बजारमा रेसादार पदार्थ छ, प्रोटिन छ, लौहत्वको मात्रा छ भन्दै गलत प्रचार गरेर बेच्दछन् । अबोध बालबालिकालाई  यस्ता पत्रु आहार हितकर हुँदैन भनेर थाहा पाउँदा पनि कोशेली जसरी लैजाने आफन्तजन, मान्यजनहरुको सोचविचार पनि पत्रु नै हो ।

नेपालमा बालबालिकाहरु र युवावस्थाका मानिसहरुले खानपिन अध्ययन गर्दा तथ्यांकमा लगभग ६० प्रतिशत बालिका, युवतीहरुले पत्रु खाना खाने गरेका र बालक, युवाहरुका ४७ प्रतिशतले यसलाई खाजा, खानाको रुपमा खाने गरेको, एक दिनको अन्तरमा एक छाक खानाकै रुपमा पत्रु खाना खाने गरेको तथ्यांकले देखाउँछ । यस्ता खाना खानु हुँदैन भन्ने सोचहरु यो वर्गमा आइसकेको हुने पनि तथ्यांकले देखाउँछ । थाहा हुदाँहुँदै पनि मनोरञ्जनका लागि, खाजाका लागि, खाना नै यसलाई बनाएका यो वर्गको सोच नै पत्रु हो भने ब्यपारको लागि, प्रचारको लागि र करको लागि यस्ता खानपिनमा प्रोत्साहन गर्ने व्यापारी, प्रचारक, उद्योगपति र सरकार समेत पत्रु हो ।

अध्ययन, अनुसन्धान अनुसार पत्रु आहार सेवनले बालबालिका तथा युवा वर्गहरुलाई ठूलो क्षति गर्ने देखाउँछ । यसले मोटापा बढाउने, सोच्ने र पढ्ने क्षमता पूर्णरूपमा घटाउने, मानसिक अवसाद गराउने, पाचन शक्तिको क्षय गर्ने, प्रजनन शक्तिमा पूर्ण हानि गर्ने, शरीरको वृद्धि र विकासमा बाधक हुन्छ ।

अधिक अमिलो, पिरो, नुनिलो मिस्रित आहार सेवनले प्रत्यक्ष रुपमा महिला तथा पुरुषको प्रजनन् शक्तिलाई हानि गर्दछ । महिलाहरुमा बन्ध्यत्वको समस्या दिनानुदिन बढ्दो छ भने पुरुषमा पुंस्त्वको समस्याले विकराल रुप लिदैछ । विश्वमा बिवाहित दम्पतिहरुमध्ये ८ दशमलव १२ प्रतिशत बन्ध्यत्वको शिकार हुने गरेका छन् भने नेपालमा १३ दशमलव १५ प्रतिशत बिवाहित दम्पतीहरुमा बन्ध्यत्वको समस्या पाईन्छ । दश बिवाहित जोडीहरुमध्ये कमसेकम एकलाई बन्धयत्वको समस्या हुन्छ, यो बढ्दो क्रममा छ । 

पत्रु आहार सेवन गर्ने महिला, पुरुषमा यस्ता आहार कम सेवन गर्ने वा नगर्ने भन्दा अधिक बन्ध्यत्व पाईन्छ । अध्ययन अनुसार ८ प्रतिशत महिलाहरुमा बन्ध्यत्वको समस्या पत्रु आहार सेवन नगर्दा पनि देखिएको र १६ प्रतिशत महिलामा हप्तामा कम्तिमा पनि चार पटक पत्रु खाना, खाजा खाएकोमा बन्ध्यत्वको समस्या यस्ता आहारले गर्दा बढेको देखिन्छ । पुरुषमा पुंस्त्वको समस्यामा पत्रु आहार सेवन नगरेतापनि १७ प्रतिशतमा तथा पत्रु आहार सेवन गर्नेहरुमा ५३ प्रतिशतमा पुंस्त्वको समस्या देखिएको छ । 

उमेर बढेसँगै दिर्घकालिन रोगहरु, शोकहरु, मानसिक तनावहरु, बसोवासको अव्यवस्थिति, पथ्य र हितकारी आहारको सेवनको अभाव, पत्रु आहारहरु जिवनको पहिलो कालखण्डदेखि निरन्तर सेवन तथा शारीरिक अन्य कारणहरुले बाँझोपनको समस्या बढाउँदै छ ।
शिशुको जन्मदेखि राम्रो आहार सेवन, पोषिलो हितकारी आहारको सेवन, बाल्यकालमा घरमा तयार भएका मौसम अनुसारका खाजा, खाना, युवावस्थामा पत्रु आहारहरुको कम सेवन वा सेवन नै नगरेमा बिवाहपश्चातको जिवन सन्तति युक्त तथा दिर्घायु हुन्छ । तसर्थ, शिशु जन्मेपश्चात् उसलाई आमाको दूध खुवाउँदै हुर्काउने, बालबालिकाहरुलाई अन्न खाने समयमा पोषिलो घरमा तयार गरिएको मौसम अनुसारको खाजा, खानाको व्यवस्था गर्ने, युवावस्थामा सकेसम्म युवायुवतीहरुले घरमा तयार भएको खाना खाने, राम्रो सफा निवासमा बस्ने, मनलाई  शान्त गराउने गरेमा बैवाहिक जीवन र सो पश्चातको जीवन दिर्घ बनाउन सकिनेछ ।

(लेखक राष्ट्रिय आयुर्वेद संस्थान जयपुरमा आयुर्वेद स्नातकोत्तरमा अध्ययनरत छन् ।)

प्रतिक्रिया दिनुहोस