किन ढाँटछन् पटक पटक प्रधानमन्त्री ओली ?

सफल खबर संवाददाता

विहीबार, ०८ साउन २०७७, ०९ : १६
किन ढाँटछन् पटक पटक प्रधानमन्त्री ओली ?

काठमाडौं । सामान्यतयः सरकारको नेतृत्व गर्ने ब्यक्तिले राज्य सञ्चालन कसरी गर्नुपर्छ ? दुई दुई पटक प्रधानमन्त्री भईसकेका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई थाहा नहुने कुरै भएन् । वस्तुनिष्ठ, पारदर्शी, सुशासन र निश्पक्ष ढंगले सरकारको नेतृत्व गर्नुपर्ने दायित्व उनको काँधमा छ । तर प्रधानमन्त्री ओलीको कार्यशैली ठीक विपरित देखिन्छ । म भष्टाचार गर्दिन, भष्टाचार गर्न पनि दिन्न, उनको यो अभिब्यक्ति जुनकुनै सम्बोधनमा पनि छुट्दैन ।

तर उनी आफैले विभिन्न काण्डमा मुछिएकाहरुको बचाउ गर्दै पहिले नै न्यायधिस बनिदिन्छन् । अनियमितताको आशंका गरिएकाहरुको आरोपपत्रमाथी सम्बन्धित छानविन निकायले अनुसन्धान शुरु मात्र के गरेको हुन्छ, प्रधानमन्त्रीले त्यस्ता ब्यक्तीको बचाउमा सार्वजनिक अभिब्यक्ति दिईहाल्छन् । यो उनको आफुनिकट ब्यक्तीलाई दागीबाट जोगाउने एउटा अस्त्र हो । राज्यको प्रमुख कार्यकारी निकायको ब्यक्ति प्रधानमन्त्रीले नै कसैमाथी अनियमितताका विषयमा छानविन मात्र के गर्न शुरु गरेको हुन्छ उसैलाई चोख्याउने गरी अभिब्यक्ति दिएपछि छानविन स्वतः प्रभावित हुन्छ नै । 

वाइडवडी प्रकरणमा प्रधानमन्त्रीले त्यसै गरे, कोरोना महाब्याधीसँग जुध्न सरकारले खरिद गरेको स्वास्थ्य सामग्री खरिद प्रकरणको घोटला काण्डमा उनको अवस्था त्यस्तै देखियो । अहिले भने उनले राजनीतिक रुपमा आफुमाथी आइलागेको संकट टार्न फेरि अर्काे झुटको सहारा लिने र नयाँ नयाँ तुरुप फाल्ने काम गर्दै आएका छन् । पछिल्लो झुटको सहारा प्रधानमन्त्री ओलीले पार्टीकै अर्का अध्यक्ष प्रचण्डसँग जोडिएको विषयमा गरेका छन् ।  घटना हो, गत शनिबार पार्टी सचिवालय बैठक अगाडी नेकपाका दुई अध्यक्ष ओली र प्रचण्ड बीचको छलफल, त्यसपछिको सचिवालयको छलफल र लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ता र उनैले अगाडी सारेको पार्टीको अर्ली महाधिवशेनको प्रसंग । 

अध्यक्ष दाहालले आफुलाई राष्ट्रपति कार्यालय लैजाने सवालमा बोलाउने एकातिर र लैजाने अर्काेतिर गरेको भन्दै आफु अर्पझट् परिबन्धमा परेर राष्ट्रपति कार्यालय जानु परेको र प्रधानमन्त्रीले अगाडी सारेको मंसिरमै पार्टीको अर्ली महाधिवेशन गर्ने प्रस्तावमा आफनो समर्थन नरहेको प्रष्टाईसकेका छन् । तर पार्टीभित्र उनको स्वेच्छाचारिता र कार्यशैलीसँग सहमत नभई विरोधमा आवाज उठाईरहेका नेताहरुको संगठित आवाजलाई दिग्भ्रमित पार्ने र विश्वासको संकट सिर्जना गर्ने गरी प्रधानमन्त्री ओलीले अहिले आफुइतर नेताहरुको गठबन्धन भत्काउने रणनीति बनाउन थालेका छन् । 

नेताहरुको कसिलो गठबन्धन भत्काउन उनले पहिलो अस्त्र प्रचार यन्त्रलाई नै बनाएका छन् । त्यसका लागि नयाँ नयाँ फन्डा आफुले अगाडी सार्ने र त्यसमा आफु इतर नेताहरुका बीचमा अविश्वास सिर्जना गर्न अनेक प्रपोगान्डा मच्चाईदिने । यही अस्त्र यसपटक पनि प्रधानमन्त्री ओलीले फ्याकेका छन् । ओलीले पछिल्लो पार्टीको सचिवालय बैठक पछि फ्याकेको अस्त्र पछि उनले फेरि पार्टी नेताहरुलाई ढाँट्ने काम गरेका छन् । सोमबार उनले नियमित बैठकपछि आफु निकट क्याबिनेटका मन्त्रीहरुलाई शनिबारको सचिवालय बैठक, राष्ट्रपति कार्यालयमा भएका घटना विवरणका बारेमा ब्रिफिङ गर्ने भन्दै आफनो कार्यकक्षमा निम्त्याएका थिए ।

त्यहाँ थिए, उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा, महिला बालबालिका मन्त्री पार्वत गुरुड, उद्योगमन्त्री लेखराज भट्ट, भूमिसुधार मन्त्री पद्मा अर्याल लगायतका मन्त्रीहरुको सहभागिता थिए । 

एक मन्त्रीले सफलखबरलाई दिएको जानकारी अनुसार, त्यहाँ प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई दिएको जानकारी अनुसार प्रधानमन्त्री र अध्यक्ष प्रचण्डका बीचमा सचिवालय बैठक अगाडी नै भएको छलफलमा मंसिरमा अर्ली महाधिवेशन गर्ने विषयमा सहमति भएको, महाधिवशेनमा आफ्नो तर्फबाट एकल अध्यक्षका रुपमा प्रचण्डलाई सहयोग गर्ने, महाधिवशेन पछि आउने वर्षको साउनबाट प्रचण्डलाई नै चुनावी सरकारको नेतृत्व सम्म गर्न दिने र त्यसको बदलामा प्रचण्डले तत्कालिन एमालेको जनताको वहुदलीय जनवाद (जबज) लाई नै पार्टीको महाधिवशेनपछि कार्यदिशा बनाएर जानुपर्ने पक्षमा उभिनुपर्ने लगायतका विषयमा छलफल भएको र प्रचण्डसम्म त्यसमा सहमत भएको ब्रिफिङ गरेका थिए । 

यो सहमतिको ब्यवहारिक कार्यान्वयनमा प्रचण्डले नै भरपर्दाे ब्यक्तिलाई साक्षी राख्नुपर्ने कुरा आएपछि को हुन सक्छ ? त्यस्तो ब्यक्ति भन्दा प्रचण्डले नै राष्ट्रपति भनेपछि सचिवालय बैठक लगत्तै राष्ट्रपति कार्यलय जाने र राष्ट्रपतिको रोहवरमा कुरा गर्ने सहमति अनुसार आफु र प्रचण्ड राष्ट्रपति कार्यालय गएको ब्रिफिङ पनि मन्त्रीहरुलाई ओलीले गरेका थिए ।  राष्ट्रपतिसँगको छलफलमा पनि प्रचण्ड सकारात्मक भई निस्केको तर त्यसपछि मात्र किन प्रचण्डले कुनै सहमति नभएको, आफुलाई परिबन्दमा पारेर राष्ट्रपति कार्यालय पु¥याइएको भन्ने खालको अभिब्यक्ती दिए त्यो भने आफुले बुझ्न नसकेको प्रधानमन्त्रीले बताएका थिए ।

ति मन्त्रीका अनुसार प्रधानमन्त्रीले एकोहोरो मात्रै आफ्नो तर्फबाट मात्र धारणा राखिरहदा अरु मन्त्रीहरु भने चुपचाप सुनिमात्रै रहेका थिए । त्यहाँ कुनै पनि मन्त्रीले प्रधानमन्त्रीसँग कुनै सवाल जवाफ गरेका थिएनन् । तर यो प्रधानमन्त्री ओलीले सिधै आफ्नै निकट मन्त्रीहरु सम्मलाई ढाटेको विषय थियो । त्यही छलफलमा बसेका मन्त्रीहरुले समेत ओलीको उक्त अभिब्यक्तिलाई त्यक्ति पत्याईरहेका देखिन्नथे । जसको अध्यक्ष प्रचण्डको सचिवालय, अध्यक्ष प्रचण्डले नै आफु निकट र माधव नेपाल निकट नेताहरुसँगको भेटमा खण्डन गरिसककेका छन् । ओलीसँग नै समेत उनले भेटेर कुनै सहमति नभएको विषयलाई गोयवल्स शैलीमा बालुवाटारमा बसेर किन सहमतिको फन्डा चलाइयो ? भनी प्रतिवाद गरिसकेका थिए । 

पछिल्लो समय प्रधानमन्त्री ओली पार्टीभित्र आफ्नो संकट टार्न आफ्नै नेताहरुलाई गलाउने, फकाउने र तर्साउने रणनीति अनुसार अगाडी बढिरहेका छन् । पटक पटक प्रधानमन्त्री ओली अहिले ढाटछलको राजनीतिमा लाग्न थालेका छन् । तर उनको यो ढाटछल कति कामयाबी होला ? उनको सत्ताको रक्षाकवज कति बन्न पुग्ला त्यसका लागि भने नेकपाको जारी स्थायी समिति बैठक कुन रुपमा बैठान होला ? त्यसवेला सम्म प्रतिक्षा गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस