बाढी पहिरो अपडेट

नारायणी नदीको भेल बस्ती पस्यो, ६ सय ८० जनालाई उद्धार, १ सय ३७ घर डुबायो

सफल खबर संवाददाता

मंगलबार, ०६ साउन २०७७, १० : १८
नारायणी नदीको भेल बस्ती पस्यो, ६ सय ८० जनालाई उद्धार, १ सय ३७ घर डुबायो

चितवन । लगातार परेको अविरल वर्षाका कारण नारायणी नदि भरतपुर महानगरपालिका भित्रै कतिपय वडाको बस्तीमा पसेको छ । हिजो सोमबार देखि नै खतराको विन्दु पार गरेको नारायणीले गए राति देखि नै बस्तीमा प्रवेश गर्न थालेको हो । स्थानिय प्रहरीका अनुसार नारायणी नदि भरतपुर महानगरको वडा नं. १६, २६, २७, २८ र २९ मा पसेको छ । नारायणी बस्ती प्रवेश गर्ने सम्भावना हिजै बढेपछि स्थानिय प्रशासनले तटिय क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

सोमबार राति नारायणी नदि बस्ती छिर्ने सम्भावना बढेपछि  ५ दर्जन बढी तटिय क्षेत्रका बासिन्दा परिवारलाई प्रहरीले उद्धार गरि सुरक्षित स्थानमा सारेको थियो । नारायणीको भेल २६ नम्बर वडाको भगडी, सिसुवार र सिसईका बस्तीमा प्रवेश गरेको छ । नारायणीको भेलले यस वडामा एउटा घर बगाएको छ भने, २६ वटा घरमा पानी पसेको छ ।  त्यस वरिपरी जोखिममा रहेका दुई दर्जन परिवारलाई पनि प्रहरीले अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । 

त्यसैगरि २७ र २८ नम्बर वडाका १५ घरपरिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ । बाढीबाट प्रभावित २७ नम्बर वडाको बलुवा, निउरे, पिप्रहा लगायतका क्षेत्रमा बाढी पसेको छ, त्यहाका केही स्थानियलाई जीतपुर मावि र साझापुर माध्यमिक विद्यालयमा रखिएको छ । यस वडामा ११ वटा घर डुबानमा परेको छ । यता २९ नम्बर वडको दासढुंगासंग जोडिएको तल्लो भेगमा नारायणीको भेल पसेको छ । भेलका कारण १ दर्जन बढी घर डुबानमा परेको छ । यहांबाट पनि केही बाढी प्रभावितलाई अन्यत्र सारिएको छ । 

बर्षा भईरहेकाले स्थानिय प्रशासनले सबैलाई सुरक्षित  रहन आग्रह गरेको छ । नारायणी र राप्ती तटिय क्षेत्रमा उच्च जोखिममा रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ । नारायणीको भेल बस्ती पसेपनि अहिले सम्म मानविय र भौतिक क्षति नभएको प्रहरीले जनाएको छ । नारायणी नदीको भेल बस्ती पसेसँगै प्रहरीले अहिले सम्म ६ सय ८० जनालाई उद्धार गरेको जनाएको छ । जिल्ला भरि अहिले सम्म १ सय ३७ वटा घर डुबानमा परेका छ ।  प्रायः वर्षायाममा अति नै प्रभावित हुने माडी क्षेत्रमा भने अहिले सम्म सामान्य डुबान भए पनि कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताए ।

यता ईच्छाकामनामा भने इच्छाकामना ५ पानीधारा बस्ने विष्णुप्रसाद श्रेष्ठ र कुमार श्रेष्ठ दुवैको दुई तले घर सहित ३ वटा घर  त्रिशूली नदीले लगेको  छ । प्रहरीका अनुसार इच्छाकामना ५ का एक दर्जन घर बाढीको उच्च जोखिममा छन् । नारायणी तटिय क्षेत्रमा रहेका होटलहरु पनि जोखिममा परेका छन् । त्यस्तै इच्छाकामना गाँउपालिका अन्र्तगत पर्ने नारायणगढ–मुग्लिन सडक खण्डको एक दर्जन बढी स्थानमा ठुला तथा साना पहिरोहरु झरेका छन् । नारायणीमा ओर्लेको भेलले नारायणगढको नदि किनारमा सौन्दयैकरणको लागि राखिएको हात्तीको दुईवटा मुर्ति र एउटा सोलार जडित पोल बगाएको छ ।

त्यहां रहेको बुद्धको मुर्तिमा भने कुनै क्षति नपुगेको भएपनि त्यसको अधिकांश भाग पानीले डुबाएको छ । तिन दिन यता अविरल वर्षाका कारण नारायणी नदी जल मापन केन्द्र देवघाट मापन केन्दका्र अनुसार सोमबार पानीको सतह ९.१२ मिटर पुगेको थियो । यस्तै नारायणी पुलतर्फ पानीको सतह १२.१४ पुगेको थियो । नारायणीमा भेल उर्लिएपछिे त्यो दृश्य हेर्न सर्वसाधारणको ताँती लागेको छ । पुल माथि लागेको भिड हटाउन प्रहरीले कडाई समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस