धनुषा । महोत्तरीको गौशाला नगरपालिकामा किर्ते कागजातमार्फत ९ लाख ७० हजार रुपैयाँ भुक्तानीको विवाद बाहिरिएको छ । नगर कर्मचारीले किर्ते उपभोक्ता समितिका नाममा टिप्पणी आदेशसहितका कागजात बनाएर चेक लिएको खुलेको हो । किर्ते नापी किताब, उपभोक्ता समितिको निर्णय, उपभोक्ता समितिको निवेदन, सार्वजनिक परीक्षण, प्रमाणित बिल, हाजिरीलगायत किर्ते कागजात बुझाई चेक भुक्तानी गरिएको थियो ।
योजना शाखा प्रमुख तिलकबहादुर जिम्बा, प्राविधिक शाखाका इन्जिनियर प्रवीण सिंह र नगरपालिकाका प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापाको हस्ताक्षर रहेको भुक्तानी टिप्पणी आदेशमा कामै नभएको नाला निर्माण उपभोक्ता समिति गौशाला–६ को नाममा चेक काटिएको थियो । पानी निकासका लागि ह्युमपाइप खरिद र निर्माण योजनाका लागि भन्दै तयार पारिएको फर्जी कागजातका आधारमा उपभोक्ता समितिलाई लेखा शाखाबाट सोमबार चेक दिइएको हो ।
कामविशेषले लेखा शाखा पुग्दा टेबलमा राखेको नाला निर्माण उपभोक्ता समितिको कागजातमा आफ्नो किर्ते हस्ताक्षर देखेपछि सोधखोज गर्दा फर्जी कागजात बनाएर चेक बुझेको पाइएको इन्जिनियर सिंहले बताए । ‘अनुगमन भत्ता लिन लेखाफाँटमा जाँदा किर्ते हस्ताक्षर भएको फाइल देखेपछि शंका लाग्यो,’ उनले भने, ‘खोजी गर्दा किर्ते कागजात बनाएको खुल्यो ।’ रहस्य खुलेपछि चेक भुक्तानी रोक्का गरिएको थियो ।
९ लाख ७० हजार रुपैयाँको सो चेक नगरपालिका कार्यालयमै फालिएको अवस्थामा फेला परेको सूचना अधिकृत रञ्जित बर्माले बताए । योजना शाखा, लेखा शाखा र कार्यालय प्रमुखबाट योजनाको कागजात तयार भएकाले नगरपालिकाकै कर्मचारी किर्ते कार्यमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको बर्माले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०३ साउन २०७७, ०८ : ०८
लेखकबाट थप