प्रधानमन्त्री ओलीको अर्को तुरुप : ‘म पछिको प्रधानमन्त्री को ?’

ओली पछि प्रधानमन्त्री को ? प्रचण्डलाई रोकौं, पूर्व एमालेबाटै बनौं भन्दै ओली पक्षका नेताहरु प्रचण्ड र नेपाल पक्षका बीचमा बनेको समिकरण भत्काउन वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमकँहा प्रस्ताव लिएर जान थालेका छन्

सफल खबर संवाददाता

शुक्रबार, ०२ साउन २०७७, ०८ : ५३
प्रधानमन्त्री ओलीको अर्को तुरुप : ‘म पछिको प्रधानमन्त्री को ?’

काठमाडौं । सत्तारुढ दल नेकपाको विवादमा आफु अनुकुलको निर्णय लिनका लागि प्रधानमन्त्री केपी ओली पक्षले अनेक रणनीति अवलम्बन गरे । त्यसै मध्येको एउटा रणनीति उसले विगत केही दिन यता गर्न थालेको छ । त्यो हो, प्रधानमन्त्रीले ल राजीनामा दिने, तर त्यसको विकल्पमा को प्रधानमन्त्री बन्ने ? 

ओली पक्षका नेताहरुले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतमलाई भेटेर यस विषयमा जिज्ञासा मात्र राखेका छैनन्, प्रधानमन्त्री ओली पछि पनि तत्कालिन एमालेले चुनावमा बढी सिट जितेका आधारमा तत्कालिन एमालेकै तर्फबाट प्रधानमन्त्रीको प्रस्ताव आउनुपर्यो ।  यो प्रस्ताव हिजो (बिहिबार) बालुवाटारमा ओलीसँग सम्वाद गरेर धुम्बाराही पुगेको वरिष्ठ नेता नेपाललाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले पनि सोधेका थिए । नेता नेपाललाई गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले छलफलका लागि निम्त्याइन् ।

नेपाल निकट स्रोतका अनुसार, त्यहाँ पनि नेपाललाई यही प्रश्न सोधिएको थियो, ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि बन्ने अबको प्रधानमन्त्री को ? विकल्पमा तपाईहरुले के सोच्नुभएको छ ? ठिक यही प्रश्न ओली पक्षका झण्डै आधा दर्जन बढी नेताहरु उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटी नै पुगेर पनि सोध्न थालेका छन् । ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले माग गरे । 

ओलीबाट न सरकार चल्छ, न पार्टी चल्छ, चलेपनि ओलीको स्वेच्छाचारितामा मात्र चल्छ, अब यसले आउने चुनावसम्म नेकपा सखाप हुन्छ भनेर उनको राजीनामा माग गरिरहेका नेताहरुका बिचमा वनेको बलियो गठबन्धन भत्काउनका लागि ओली पक्षले पछिल्लो चरण अवलम्बन गरेको नीति हो त्यो, ओलीको विकल्पमा अबको प्रधानमन्त्री को ? एकातिर दुवै पद छोडदिन सकेको गर्नुस् भनेर प्रधानमन्त्री ओलीले प्रचण्ड लगायतसँगको छलफलमा दोहो¥याईरहने र अर्काेतिर ओलीकै निकट नेताहरु ओली पछिको प्रधानमन्त्री को ?

प्रचण्ड बाहेक अन्य पूर्व एमाले धारकै नेताहरु प्रस्ताव ल्याउनुहोस् भन्दै नेताहरुको कान फुक्न जाने चलनेले ओलीले अहिले यसभित्र पनि पसेर खेल्न खोजेको बुझाईमा प्रचण्ड नेपाल समुह पुगेको छ । वरिष्ठ नेता नेपाललाई हिजो ओली निकट नेता इश्वर पोखरेलले पनि यही प्रश्न गरेका थिए । ‘एक व्यक्ती, एक पद तपाँईं (माधव नेपाल) ले बारम्बार उठाएको कुरा हो, त्यो लागू हुने गरी प्रचण्डको विकल्पमा प्रधानमन्त्रीको नयाँ उम्मेदवार खोजौं,’ नेपालसँग धुम्बाराहीको छलफलमा पोखरेलले राखेको भनाई उदधृत गर्दै नेपाल निकट एक स्थायी समिति सदस्यले सफलखबरसँग भने, ‘प्रचण्डलाई हुन्न दिन, सकेसम्म प्रधानमन्त्री पद पूर्वएमालेहरूले नै राखौं, त्यसका लागि तपाँई की झलनाथ ? विकल्प खोजौैं ।’

वरिष्ठ नेता खनालले ओलीको विकल्पमा स्वभाविक रुपमा अर्का अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको हकदार हुने बताईसकेका छन् । प्रचण्ड नेपाल वीचको अनौपचारिक छलफलमा पनि नेपालले प्रचण्डलाई नै प्रधानमन्त्रीको रुपमा अगाडी सार्ने देखिएपछि ओली पक्षले यसभित्र खेल्न खोजेको समिक्षा प्रचण्ड नेपाल समुहका बीचमा खुमलटारमा हिजो साँझ भएको छलफलमा पनि चलेको थियो ।  त्यहाँ नेपालले आफुलाई बालुवाटार छलफल लगत्तै इश्वर पोखरेलले धुम्बाराही कार्यालयमा भेट गरेको र त्यहाँ पोखरेलले राखेको प्रस्ताव भन्दै खुमलटारको छलफलमा सुनाएका थिए ।

ओली पक्षले यसो गर्दा प्रचण्ड र नेपाल बीच बनेको सहकार्य भत्किने, प्रचण्ड साइड लागे, वरिष्ठ नेताद्धय झलनाथ र माधव नेपालका बीचमा समेत आफु बन्ने अडान आएर प्रचण्ड नेपाल समुहमा विभाजन आउने र आफनो पक्षनै बलियो बन्ने रणनीतिका साथ प्रधानमन्त्री को भन्दै नेताहरुको कान फुक्न थालेको नेपाल पक्षका स्थायी समितिका ति नेताले बताए । नेपाल पक्षलाई प्रचण्ड समुहबाट अलग गराउन सके आफु पार्टी राजनीतिमा सधै अब्बल देखिने र दुई नेतालाई टुटाउन सके प्रचण्ड आफैसँग मिल्न आउने ठानेर ओली पक्षले यो प्रस्ताव नेपाल र गौतमसँग राख्न थालेको बुझिन्छ । 

प्रतिक्रिया दिनुहोस