बाढीपहिरोले कास्कीमा सात जनाको मृत्यु

शुक्रबार, २६ असार २०७७, १४ : ११
बाढीपहिरोले कास्कीमा सात जनाको मृत्यु

पोखरा । बिहीबारदेखि निरन्तर भइरहेको बर्षातका कारण कास्कीमा ठूलो जनधनको क्षति भएको छ । बर्षातका कारण ठाउँठाउँमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । पहिरोमा परी १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृत्यु हुनेमा पोखरा  महानगरपालिका १८ सराङकोटमा ५ जना, पोखरा २५ हेम्जामा एक जना र पोखरा २६ पैतेडाँडामा एकजना रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

सराङकोटको गोठादीमा टंकबहादुर थापाको घरमाथिबाट पहिरो खस्दा उनकै परिवारका ३ जना र २ जना पाहुनाको मृत्यु भएको छ । ५० वर्षीय टंकबहादुर,  उनकी पत्नी ४५ वर्षकी सोममाया थापा, टंकबहादुरका दाइको नाति ६ वर्षीय सुवान थापा र छिमेकी ११ वर्षीया इशिका थापाको मृत्यु भएको छ । टंकबहादुरका साली सरस्‍वती श्रेष्ठका एक छोराको पनि मृत्यु भएको छ ।

घरमा जन्मदिन मनाउने कार्यक्रम भएकाले टंकबहादुरको घरमा आफन्त र छिमेकी पनि जम्मा भएका थिए । एक्कासी पहिरोले घर बगाउँदा टंकबहादुरकी छोरी पिंकी, आशा, पिंकीकी छोरी पिरिशा, टंकबहादुरकी साली सरस्वती  र उनको एक छोरा, टंकबहादुरका छिमेकी अनिश तामाङ, रशी थापा र रश्मी थापा घाइते भएका छन् ।

हेम्जा मेलबोटमा गएको पहिरोमा परी ७० वर्षीय हिमकली अधिकारीको मृत्यु भएको छ । पोखरा वडा नम्बर २६ पैतेडाँडामा पहिरोले घर पुर्दा स्थानीय दुर्गाबहादुर सुनारको मृत्यु भएको छ । पहिरोमा पुरिएका दुर्गाबहादुरको एक छोरा, एक छोरी र पत्नीको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।

पोखरा २७ डाँडाको नाकमा रहेको इलाका प्रहरी कार्यालय डुबानमा परेको छ । २ तले भवनमा रहेको उक्त प्रहरी चौकीमा निरन्तर बर्षातका कारण डुबानमा परेपछि स्थानान्तरण गरिएको प्रवक्ता हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस