अनिल शर्मा : राजनितीमा पुराना, मैदानमा नयाँ

बुधबार, ०६ मंसिर २०७४, ०८ : ५०
अनिल शर्मा :  राजनितीमा पुराना, मैदानमा नयाँ

              भन्छन्, ‘हेभिवेट मै हुँ, काठमाडौं–१ प्रगति चाहनेको गढ हो, कसैको बिर्ता हैन् !’

‘आखिर एउटा सर्वहाराले गुमाउने कुरा के थियो र ? जिते संसार हारे हत्कडी !’ त्यहि एकथान हत्कडी लगाउने जोखिम मोल्दै कलिलो उमेरमा राईफलको बट र नाल समाउन राजी भएका अनिल शर्मा अहिले ब्यालेटको लडाईमा छन् ।
कुरा २०४७ सालतिरको हो, अनिल रुकुमको खलंगा स्थित यमुनानन्द नमुना निम्नमाध्यमीक विद्यालयमा कक्षा ८ मा पढ्दै थिए । ठिक त्यतिवेला जननेता मदन भण्डारी काठमाडौं क्षेत्र नम्बर–१ बाट चुनाव लडेका थिए । भण्डारीले चावहिलमा आयोजित चुनावी सभालाई संवोधन गर्दै राजा विरेन्द्रलाई ठाडो चुनौती दिए, र भने, ‘मान सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्योस् माहाराज, हात नलम्काई बक्सियोस आँखा नचम्काई बक्सियोस् ! आफ्ना सन्ड–मुसन्डहरुलाई नचलाई बक्सियोस्, यदी सन्ड–मुसन्डहरुलाई नै अगाडी ल्याउने हो भने, महाराजले पनी श्रिपेच सिंहासनमा राखेर मैदानमा नेता भएर आउनुपर्यो !’

राजा विरेन्द्रलाई ‘मैदानमा आउन चेतावनी’ दिएसँगै काठमाडौंका जनताले बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराए, मदनले चुनाव जिते ।
त्यहि ठाउँ हो, २०५१ सालमा मदनपत्नी विद्या भण्डारी चुनाव लड्दा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘मेलम्चीको पानी ल्याएर काठमाडौंका सड्क पखाल्ने’ भाषण गरे । तर जनताले पत्याएनन्, विद्याले चुनाव जितीन् ।
मैदान त्यही हो, समय र पात्रहरु फेरीएका छन् । मदनले चुनाव जित्दा स्कुल पढ्दै गरेका युवा अनिल शर्मा अहिले सोही क्षेत्र (काडमाडौं–१) को चुनावी मैदानमा छन् ।

पत्रकारिता बाट सन्यास लिएर दरबारको हुण्डी खाँदै राजनितीको झण्डा उठाएका रविन्द्र मिश्र र आफ्ना बुबाको बिडो थाम्न कस्सिएका कांग्रेस नेता प्रकाशमान सिंह अनिलका प्रतिस्पर्धी हुन् ।
हेभिवेट मानिने प्रकाशमान सिंहसँग चुनावी मैदानमा उत्रिसकेका अनिल कसैलाई हेभिवेट नै मान्दैनन् । भन्छन्, ‘हेभिवेट नै महुँ, मेरो राजनैतिक पृष्ठभुमी, मैले सामाजिक क्रान्तिमा गरेको त्याग,तपस्या, बलिदानी अथवा लगानी, अरु कोही उम्मेद्वाहरुसँग छ जस्तो मलाई लाग्दैन !’
      

    खलंगा देखी काठमाडौं सम्म
अनिल रुकुमको मुसिकोट–खलंगा नगरपालिका–५ मा जन्मिए । यमुनानन्द नमुना निम्नमाध्यमीक विद्यालयबाट प्ररम्भिक शिक्षा शुरु गरेका उनले काठमाडौंको आरआर क्याम्पसबाट उच्च शिक्षा लिएका छन् ।
२०४८ सालतिर बालसंगठनमा संगठीत भएर राजनितीको त्यान्द्रो समातेका अनिल प्रचण्डको नेतृत्वमा शुरु भएको जनयुद्धमा सहभागी भए । अखिल क्रान्तिकारीको ईकाई र  जिल्ला अध्यक्ष हुँदै विद्यार्थि राजनितीलाई निरन्तरता दिएका शर्मा पछील्लो समय संगठनको उपाध्यक्ष सम्म भए ।
मंसिर २१ गते हुने निर्वाचनमा काठमाडौं–१ का लागी बाम गठन्धनबाट प्रतिनिधीसभाको टिकट पाएसँगै एकाएक चर्चामा आएका उनी राजनितीमा नयाँ नाम भने पक्कै होईन् । लामो राजनितीक संघर्षबाट आएका शर्मा चुनाव जित्नेमा विश्वस्थ देखिन्छन् । भन्छन्, ‘हाम्रो गठबन्धनले लिएको निती कार्यक्रम, हिजो एमाले र माओवादी सरकारको कार्यकालमा भएका राम्रा, प्रगतिशील र जनमुखी कामहरुनै मेरो चुनाव जित्ने आधार हुन् ।’
‘कम्युनिष्टको स्थायी सरकार बनेमा देशको संवृद्धि हुन्छ भन्ने जनविश्वास बढेको छ’ अनिल भन्छन्, ‘त्यही संवृद्धिको कामलाई पुरा गर्न सक्ने संकल्प र अठोट बोकेर कुदिरहेको एउटा युवा हुनुको नाताले युवाहरु प्रति मेरो

विश्वास छ, मैले जित्छु भन्ने लागेको छ !’  
जन्मथलो रुकुम भएका कारण कत्तिपय विपक्षी दलका कार्यकर्ताले उनलाई ‘टुरीष्ट उम्मेद्वार’ रुपमा प्रचार गर्न थालेका छन् । तर, अनिल कसैको जन्मथलो नै कर्मथलो नहुने बताउँछन् । भन्छन्, ‘जन्म थलो नै उसको कर्मथलो बन्छ भन्ने छैन, रुकुममा जन्मिएपनी मेरो राजनितीक जिवनको सवैभन्दा ठुलो समय काठमाडौंमा वितेको छ, यहाँको सामाजिक परिवर्तनको आन्दोनल र जनआन्दोलनमा बितेको छ ।’
अनिलले काठमाडौंमा थुप्रै शैक्षिक अभियानको अगुवाई गरेका छन् । रुकुममा जन्मिएपनी उनी काठमाडौं बासी हुन, यहीँको नागरिक हुन् ।
‘काठमाडौं–१ का जनताहरु को–कहाँ कसरी जन्मियो, भन्नेकुरा हेर्दैनन्’ उनले भने, ‘यहाँका बौद्धिक मतदाताले यहाँको समस्यालाई समाधान गर्ने मिसन भिजन र क्यापासिटी कसले राख्छ भन्नेकुरा बुझेका छन् ।’
    हेभिवेट मै हुँ, प्रकाशमान भन्दा कम्ति योगदान छैन !
‘हेभिवेटलाई चुनावमा पल्टाउन त फलामे च्युरा होला नी ?’ पंतिकारको प्रश्न भुँईमा खस्न नपाउँदै अनिलले भने, ‘यो क्षेत्रमा हेभिवेट मै हुँ, मेरो राजनैतिक पृष्ठभुमी, मैले सामाजिक क्रान्तिमा गरेको त्याग, तपस्या बलिदानी अथवा लगानी, अरु कोही उम्मेद्वाहरुसँग छ जस्तो मलाई लाग्दैन !’

प्रकाशमान र रविन्द्र मिश्रले गरेका सामाजिक कामहरुको तुलनामा आफुले कुनै कमी नगरेको दाबी गर्ने शर्माले बाम गठबन्धनले साझा उम्मेद्वारको रुपमा चुनावी मैदानमा उत्रनु नै हेभिवेट भएको बताए ।
‘सामाजिक परिवर्तनको आन्दोनलमा रविन्द्र मिश्र र प्रकाशमान सिंहले गरेको योगदान भन्दा मैले बढी गरेको छु’ उनी थप्छन्, ‘उमेर धेरै भएर हुन्छ र ? बाम  गठबन्धन नै सवैभन्दा ठुलो भारी हो, हेभीवेट हो भन्ने म ठान्छु ।’
बिजुलीबजार स्थित प्रकाशमान सिंहको सम्पर्क कार्यालय र अनिल शर्माको सम्पर्क कार्यालय बिचको दुरी धेरै लामो छैन् । आफु बिजयी भएर संसदमा पुगेपछी नयाँ संविधान कार्यान्वयनका लागी आवश्यक कानुन निर्माणमा भुमिका खेल्ने योजना बनाएका उनले काठमाडौं विकासका पनी थुप्रै योजना बुनेका छन् ।

‘धुवाँ–धुलो रहित काठमाडौं बनाउने मेरो पहिलोे प्रतिवद्धता हो’ शर्माले भने, ‘तपाई हामीले खाने फलफुल, तरकारी र अन्नहरु अहिले विषादी युक्त छ यसको नियन्त्रण गर्ने र अर्गानीक सेन्टरहरुको निर्माण गर्ने जहाँबाट परिक्षण गरिएका अन्न, तरकारी र फलफुलहरु बेचिन्छन् ! यो मेरो दोस्रो अजेन्डा हो ।’
त्यतिमात्रै हैन, बागमती र रुद्रमती जस्ता हाम्रा जिवन नलिहरुलाई शुद्ध र कञ्चन बनाउने र त्यसलाई स्टोरेज गरेर

बोटीङ गर्नसक्ने तथा पौडी खेल्न सक्ने गरी विकास गर्ने योजनामा उनी दृढ देखिन्छन् ।
‘बाग्मती र रुद्रमती आसपास पार्क बनाउने, बुढापाकाहरु भजन किर्तन युवाहरु ब्यायाम गर्ने, बच्चाहरु खेल्न सक्ने रमणिय पार्कको रुपमा विकास गर्ने अर्को महत्वपुर्ण एजेन्डा छ’ उनले भने, ‘काठमाडौं–१ लाई एउटा शैक्षिक केन्द्र बनाउन सकिन्छ र लाग्नुपर्दछ, त्यसको पहलकदमी मैले गर्छु ।’  
   
बा–आमालाई घरमै वृद्धभत्ता, घरमै डाक्टर !
टोल–टोलमा स्वास्थ्य सेवा दिनका लागी बाम गठन्धनको घोषणा पत्रमा उल्लेख भएबमोजिम अनिलले टोल क्लिनीकको निर्माण गर्दै वृद्धभत्ता समेत घरमै लगेर दिने सिस्टमको विकास गर्ने योजना बनाएका छन् ।
‘वृद्ध बावुआमाहरुको लागी वृद्ध भत्ता मात्रै हैन, वृद्धहरुका घर लिस्टीङ गरेर घरमै नियमित चेकिङ गर्ने सुविधा दिन्छौं’ उनले भने, ‘राज्यले जग्गा खरिद गरेर भएपनी चिल्ड्रेनपार्क, थेरापी पार्क र योगा पार्क निर्माण गरेर कोठाभित्र थुनिएका बच्चाहरु र वुवा–आमाहरुलाई फ्रेस हुने ठाउँ उपलब्ध गराउँछौं ।’

सुकुम्बासी बस्ति अप्ठेरो अवस्थामा बसिरहेको छ, उसलाई लालपुर्जाको कागज मात्रै हैन एउटा ब्यवस्थित र आधुनीक बस्तिको आवश्यक छ । ‘सुकुम्बासी बस्तिलाई रोजगारी सहितको आधुनी बस्तिको ब्यवस्था गर्नुपर्दछ त्यो जिम्मा राज्यले लिन सक्नुपर्छ’ दृढ संकल्पका साथ अनिलले भने, ‘त्यसको लागी पहल गर्ने र लाग्ने मेरो प्रतिबद्धता छ ।’

खानेपानी, ढल र सड्कका असरल्ल तार काठमाडौंको अर्को समस्या हो । यस्ता अब्यवस्थित चिजहरुलाई मास्टर प्लानमार्फत मात्रै हल गर्न सकिन्छ । त्यही मास्टर प्लान बनाउने कुरामा अनिल सहमत छन् । भन्छन्, ‘एउटा गुरुयोजना निर्माण गरेर तारलाई अन्डरग्राउण्ड गर्ने पानीलाई ब्यवस्थित गर्ने ढलहरुलाई सुदृढ गर्ने र सवैतिर धुलोरहित काठमाडौं बनाउँदै सुविधा सम्पन्न आधुनिक शहरको रुपमा काठमाडौंको–१ लाई निर्माण गर्ने मेरो लक्ष्य छ ।’  
अर्को चाहीँ, अनिलले स्थानिय क्लवहरुलाई भोट बैंक हैन, सिर्जनात्मक स्थानको रुपमा विकास गर्ने योजना पेश गरेका छन् । ‘विषयगत ढंगले कत्तिपय फिटनेश क्लवको रुपमा, कत्तिपय फुटसलको, कत्तिपय फुटवल, क्रिकेट अथवा कत्तिपय त्यहाँको आवश्यकता अनुसार विकास गर्नुपर्छ’ उनी भन्छन्, ‘क्लव मार्फत युवाहरुको शारिरीक, मानसिक र विबीध प्रतिभाहरु प्रस्फुटन हुने ठाउँ बनाउने मेरो  एजेन्डा रहेको छ ।’
    

  कसरी भत्काउने कांग्रेसको गढ ?
२०६४ सालमा देशभरी माओवादीको लहर अउँदा पनी काठमाडौं–१ का जनताले लौहपुरुष गणेशमान पुत्र प्रकाशमानलाई जिताए । २०७० सालमा पनी सोही क्षेत्रबाट गणेशमानले जितेको हुनाले धेरैले यो क्षेत्रलाई कांग्रेसको गढको रुपमा ब्याख्या गरेका छन् । हुन् त ईतिहाँसमा जननेता मदन भण्डारी र विद्या भण्डारीले जित्दा यो क्षेत्रलाई धेरैले ‘कम्युनिष्ट किल्ला’ भनेर ब्याख्या गर्ने गर्थे ।
‘कांग्रेसको गढलाई कसरी भत्काउनु हुन्छ ?’ रातोपाटीको पश्नको उत्तर दिँदै शर्माले भने, ‘कसैले लात हानेर भन्दा पनी एजेन्डाले भत्काउने  कुरा हो, काठमाडौं बासीले स्थिरता चाहेका छन्, अबको स्थिरता भनेको बाम गठबन्धन सँग छ ।’
विगत कालमा एमालेको कार्यकालमा शुरु भएको सामाजिक सुरक्षा भत्ता, आफ्नो गाउँ आफैं बनाऔं भन्ने कार्यक्रम, माओवादीको सरकारको समयमा शुरु भएको बाटो फराकिलोब नाउने कार्य जस्ता कार्यले गढ भत्काउन सहयोग गर्ने उल्लेख गर्दै शर्माले भने, ‘अन्धकारमा डुबेको काठमाडौंलाई लोडसेडीङ अन्त्य गरेर उज्यालो नेपालको शुरुवात गरिएको छ , र त्यसको जगमा ठुलो आर्थिक वृद्धि डबल आर्थिक वृद्धिदरको संकेत गरिएको कुरा यहाँका सचेत र बौद्धिक मतदाताले बुझेका छन् ।’

‘यो संवृद्धिको गढ हो, परिवतर्न र प्रगती चाहनेहरुको गढ हो, अरु कसैको हैन’ उनले भने, ‘यो क्षेत्र अरु कसैको बिर्ता हैन, जो दाईजो र पुस्तेनी सम्पतीको रुपमा हामीले ग्रहण गर्ने हो !’
मनोनयन दर्ता गरेको भोलिपल्ट देखी घरदैलो, सभा र चुनावी जमघटहरुमा ब्यस्त रहेका शर्मा काठमाडौं–१ का जनता उत्साहित रहेको बताउँछन् । ‘हाम्रो गठबन्धनले सार्वजनिक गरेको घोषणापत्र र कार्यत्रमले उनिहरुमा अर्को उत्साह थपेको छ’ उनले भने, ‘त्यसलाई लागु गर्न सक्ने तन्नेरी युवा ब्यक्ति यहाँ आएको छ भनेर झनै उत्साहित र खुसी भएको मैले पाएको छु ।’

      दायाँ हातमा हँसिया–हथौडा, बाँया हातमा सुर्य !
अनिलको अहिलेसम्मको राजनितीक जिवन हँसिया हथौडा अंकीत भण्डामुनी बित्यो । अहिले काठमाडौं–१ मा को चुनावी माहोल हेर्न जाने हो भने, त्यहाँ सुर्य र हँसिया हथौडा प्रिन्टेड झण्डा एउटै पोलमा टाँगीएका भेटिन्छन् ।
‘दायाँ हातमा हँसिया–हथौडा बाँयाँ हातमा सुर्य चिन्ह बोक्दा कस्तो फिल हुँदैछ ?’ पंतिकारको प्रश्न भुँईमा खस्न नपाउँदै उनले भने, ‘खुसी लागेको छ, हामीले यि दुईओटा झण्डा एउटा बनाउन खोजिरहेका छौं ।’
नेपाली कम्युनिष्ट आन्दोलनमा क्यान्सर जस्तै बनेको छ, टुटफुट ! यस्तोमा प्रगतीको आकांक्षा राख्ने शक्तिहरु एकैठाउँमा आउनु पक्कै सुखद कुरा हो ।

‘संवृद्धि, देशको सम्पन्नता, विकास बाहेक अरु सवै कुरा भ्रम हो’ शर्मा भन्छन्, ‘ अहिले गोलाकार भित्रको हँसिया हथौडा र सुर्य, यिनीहरु संवृद्धिका प्रतिक बनेका छन्, त्यसैले दुईओटा झण्डा बोक्दा कुनै हिनताबोध र लघुताभाष हुनुपर्ने कारण छैन, यसले हामीलाई उत्साहित बनाएको छ ।’

 

प्रतिक्रिया दिनुहोस