‘हावाबाट पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्छ’ : डब्लुएचओ

एजेन्सी

बुधबार, २४ असार २०७७, १० : ३२
‘हावाबाट पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्छ’ : डब्लुएचओ

 एजेन्सी । हावाबाट पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ ।  डब्लुएचओले अति साना  सुक्ष्म कणहरु हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने र त्यसमा कोरोना भाइरस  रहेमा अर्को व्यक्तिमा संक्रमण हुने सक्ने प्रमाणहरु देखिएको उल्लेख गरेको छ ।

ब्ल्युएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले हावाबाट कोरोना फैलिएको प्रमाण भेटिएको र यसको अध्ययन अहिले पनि जारी रहेको बताएकी छन् । डब्ल्युएचओले खासगरी भीडभाडका ठाउँमा, कम हावा भएको ठाउँमा र बन्द कोठामा हावाबाट कोरोना भाइरस फैलिने अवस्थालाई  अस्विकार गर्न नसकिने जनाएको छ । डा.मारियाले कोरोनाको प्रसार रोक्न ठूलो स्तरमा रोकथामको उपायको जरुरी भएको बताउँदै यसमा सामाजिक दूरी र मास्कको प्रयोग जस्ता नियम अनिवार्यरुपमा पालना गर्नुपर्ने बताइन ।

विशेष गरी भिडभाड युक्त क्षेत्रमा वायु मार्फत कोरोना भाइरसको संक्रमण (एअरबर्न ट्रान्समिसन) फैलिन सक्ने कुरा पूर्ण रुपमा अस्वीकार गर्न नमिल्ने डब्लुएचओका अधिकारीले बताएका छन् । यस्तै बन्द क्षेत्र वा भेन्टिलेसन कमजोर रहेको क्षेत्रमा पनि वायु मार्फत संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरसको संक्रमण हुने सक्ने पक्षमा बल प्रदान गर्ने प्रमाणहरु भेटिएको उल्लेख छ । यदि पछिल्लो प्रमाणहरु थप पुष्टि भएमा घर भित्रै वा भवन भित्रका लागि हाल कायम गरिएको गाइडलाइन्समा परिमार्जन गर्नु पर्ने हुन्छ ।

डब्लुएचओले भने अहिले देखिएका प्रमाणहरु प्रारम्भिक मात्रै रहेको र यसलाई प्रमाणित गर्नका लागि थप अनुसन्धानको खाँचो रहेको बताएको छ । डब्लुएचओको संक्रमण नियन्त्रण तथा सावधानीका प्राविधिक प्रमुख बेनेडेट्टा एलिग्रान्जीले भिडभाड, बन्द वा भेन्टिलेशन कमजोर रहेको ठाउँमा कोरोना भाइरसको संक्रमण वायुको माध्यमबाट पनि फैलिन सक्ने भनी आएका पछिल्ला प्रमाणहरुलाई अस्वीकार गर्न नसकिने तर अनुसन्धानको खाँचो रहेको बताए ।