पर्यटक पर्खिर्दै व्यवसायी

पत्रपत्रिकाबाट

मंगलबार, २३ असार २०७७, ०७ : ४५
पर्यटक पर्खिर्दै व्यवसायी

काठमाडौँ । ठमेलका हस्तकला व्यवसायी स्वप्निल महर्जनले लकडाउनयता व्यापार गर्न सकेका छैनन् । ठमेल, ज्याठास्थित चार वर्षदेखि हेरिटेज आर्ट एन्ड क्राफ्ट सञ्चालन गर्दै आएका उनले ‘वुडन मास्क’ (काठको मखुन्डो) बनाई बिक्री गर्छन् । उनका मुख्य ग्राहक युरोप र अमेरिकाका पर्यटक हुन् । लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उनले आफ्ना सामान पर्यटकलाई बेच्न पाएका छैनन् ।

‘नयाँ पर्यटक छैनन् । अन्तर्राष्ट्रिय उडान बन्द छ । यस्तो बेला आउन सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘विदेशी पर्यटकले नेपाली हस्तकलाका सामान मन पराउँछन् । हाम्रा मुख्य ग्राहक नै तिनै हुन् ।’ उनले काठका बुद्ध, हात्ती, ड्र्यागन, भैरव र गणेशका मुकुट बनाउँछन् । आफ्नो पसलमा न्यूनतम ४ सय ५० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्मका हस्तकलाका सामान भएको उनले जानकारी दिए ।

‘नोभेम्बर र डिसेम्बर महिना पर्यटक आउने मुख्य सिजन हुन् । अन्य समय अर्डर लिने र सामान पठाउने गर्थ्यौं,’ महर्जनले भने, ‘लकडाउनअघि महिनामा १० लाख रुपैयाँसम्म कारोबार हुन्थ्यो । अहिले पसलमा मोबाइल चलाएर बस्नुपरेको छ ।’ दिनभर पसलमा सरसफाइ, मुकुटहरूमा रङरोगन गर्ने र फिल्म हेरेर समय बिताइरहेको उनले बताए । ‘अहिले अनलाइन व्यापार राम्रो छ । मैले पनि कोसिस गरिरहेको छु,’ उनले थपे ।

ठमेलकै अर्का व्यवसायी सञ्जीव लामिछानेले ह्याम्पका सामग्री बनाउँछन् । उनले १८ वर्षदेखि क्रिएसन हेम्प सप चलाइरहेका छन् । उनले ह्याम्पका ब्याग, टोपीलगायत सामग्री बिक्री गर्छन् । उनका ग्राहक पनि विदेशी पर्यटक नै हुन् । होलसेलर व्यवसायी उनले युरोप, अस्ट्रेलिया र अमेरिकामा सामान निर्यात गर्ने गरेको जानकारी दिए । दिनको खुद्रा व्यापार २५ हजार र महिनाको १० लाख रुपैयाँबराबरका सामान बाहिर पठाउने गर्ने गरेकामा यति बेला खाली बस्नुपरेको उनको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस