कोरोना भाइरस फैलिनुमा चमेराको दोष कति ?

एजेन्सी

मंगलबार, १६ असार २०७७, १७ : १३
कोरोना भाइरस फैलिनुमा चमेराको दोष कति ?

फाइल फाेटाे

एजेन्सी । संसारभर दुई सयभन्दा बढी देशमा फैलिएको कोरोना भाइरसको बिस्तारमा चमेरालाई दोष दिइएपनि वैज्ञानिकहरु यो कुरा मान्न तयार छैनन् ।

चमेरोबारे सोच्दा नै इरोरो तान्शी उत्साहित हुन्छिन् । तान्शी नाइजिरियन हुन् । उनी टेक्सस विश्वविद्यालयमा विद्यावारिधि गर्दैछिन् । उनी त्यस्ता वैज्ञानिकमध्ये एक हुन् जसले चमेरोको नकारात्मक छविलाई सुधार्ने प्रयत्न गर्दै छन् ।

कोरोना भाइरस महामारी फैलाउनमा चमेरोको भूमिका रहेको चर्चाले यसको छवि अहिले झन् नराम्रो बनेको छ । अस्ट्रेलियादेखि इन्डोनेशियासम्म ठूलो सङ्ख्यामा चमेरोहरू मारिएका खबरहरू आएपछि विश्वभरिका संरक्षणकर्मीलाई चिन्तित बनाएको छ ।

कोभिड १९ लगाउने सार्स कोभ २ नामक भाइरससँग ९६ प्रतिशत मिल्दोजुल्दो अर्को एउटा भाइरस एकखाले जङ्गली चमेरोमा पाइएकाले मानिसहरूले चमेरोलाई दोष लगाएको तान्शी बताउँछिन् । त्यसले सबै चमेरोलाई शङ्काको घेरामा ल्यायो । तर चमेरोले यो भाइरस नसारेको वैज्ञानिक प्रमाण छन् ।

हालैका अनुसन्धानले करिब ४० देखि ७० वर्षअघि सार्स कोभ २ भाइरस जङ्गली चमेरोबाट छुट्टिएको देखाएका छन् । तान्शी भन्छिन्, त्यसले चमेरोले मानिसहरूमा सार्स कोभ २ भाइरस सिधा सारेका होइनन् भन्ने प्रमाण दिएको छ ।

मासाई मारा विश्वविद्यालय केन्यामा वन्यजीव विज्ञान प्राध्यापन गरिरहेका डा. पोल डब्लू वेबाला पनि त्यसमा सहमत छन् । उनी भन्छन्, "विकासवादी भाषामा भन्दा मानिसमा सार्स कोभ २ चमेराबाट आएको हो भने त्यसलाई प्रसार गर्ने कुनै मध्यमार्गी तत्त्व हुनुपर्छ ।"

त्यसो भन्नुको मतलब चमेरो उक्त भाइरस उत्पादक हुन् भने पनि उनीहरू स्वयम्‌ले त्यसलाई मानिसमा सारेनन् । त्यसरी भाइरस सार्ने सम्भावित माध्यम भनेर सालकलाई शङ्का गरिएको छ ।

दोषी को ?

तान्शी र उनका सहकर्मी वैज्ञानिकहरू अहिलेको महामारीको दोष चमेरोलाई होइन, मानिसलाई लगाउनु पर्नेमा सहमत छन् । किनभने यो जनसङ्ख्याभित्र फैलिएको छ । वेबाला भन्छन् कि मानिसहरूका क्रियाकलापकै कारणले महामारी आएको हो ।

"वन्यजन्तुको वासस्थानमा अतिक्रमण, हानी र यातायातका कारण पहिले कहिल्यै सम्पर्क नभएका प्रजातिबीच अहिले सम्पर्क स्थापित भएको छ" उनले भने, "चमेरो मारेर हामी कोरोनाभाइरसबाट बच्न सक्दैनौँ ।" 

चमेरोबाट फाइदा

"यदि तपाईँ कुनै सुती लगाइरहनु भएको छ वा यदि तपाईँ कफी वा चिया पिउनु हुन्छ वा तपाईँ मकैबाट बनेको खानेकुरा खानुहुन्छ भने तपाईँ पहिलेदेखि नै चमेरोसँग जोडिनु भएको छ" डा. वाबेला भन्छन् ।

खानेकुरादेखि सौन्दर्य सामग्रीसम्म र फर्निचरदेखि औषधिसम्ममा चमेरोको श्रमको आवश्यकता हुन्छ । चमेरो नभए इन्डोनेशियामा डुरियन भनिने कटहरजस्तो फलको खेती हुने थिएन । मादगास्करमा आकर्षक बाओबाबका रुख हुने थिएनन् न त त्यहाँ मखनाको खेती नै हुने थियो ।

वैज्ञानिकहरुका अनुसार चमेरोले चराको तुलनामा दोब्बर बढी बीउ फैलाउने गर्छन् । त्यसले जङ्गल विस्तारमा पनि सहयोग पुग्छ । विभिन्न अध्ययनहरूले अमेरिकामा मात्र चमेरोका कारण कृषकहरूले प्रयोग गर्ने विषादीको मात्रा घटाइदिँदा र बालीहरूमा क्षति कम गर्दा अर्बौँ डलर जोगिने देखाएका छन् । (बिबिसी समाचारमा आधारित)